जेठ १५ देखि प्रदर्शन हुने फिल्म ‘महाभोज’ विशेष प्रिभ्युमा रुचाइएको छ।
मंगलबार साँझ काठमाडौँमा गरिएको विशेष प्रिभ्युमा चलचित्र युनिटसहित पत्रकार र देशभरका सहकारीपीडितहरूबाट चयन गरिएका ६० जनाको उपस्थिति थियो।
फिल्म हेरिसकेपछि सहकारी पीडितहरूले चलचित्रले आफ्नै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त गर्न प्रेरित गरेको बताए।
चलचित्र प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त गर्दै भने, ‘राज्यले नसुनेको पीडितको आवाज ‘महाभोज’ले पर्दाबाट बोलेको छ।’
उनीहरूले निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरिया, लेखक विकास सुवेदी तथा सम्पूर्ण कलाकारप्रति आभार व्यक्त गर्दै चलचित्रलाई देश विदेशमा बस्ने सम्पूर्ण नेपालीले हेरेर सफल बनाउनुपर्ने धारणा राखे।
उनीहरूका भनाइमा, ‘महाभोज’ मनोरञ्जनको माध्यम मात्र नभएर आन्दोलनको स्वरसमेत बनेको छ, जसले राज्य संयन्त्रमाथि नै गहिरो प्रश्न उठाएको छ।
यसैबीच देशभरका प्रमुख मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन हलहरूले ‘महाभोज’को अग्रिम बुकिङ खुला गरिसकेका छन्। वितरकहरूका अनुसार यो चलचित्र करिब २ सय शोसहित नेपालभर प्रदर्शन हुँदै छ।
यस फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय छ।
‘महाभोज’ सहकारी संस्थासम्बन्धी एउटा गम्भीर सामाजिक विषयमा आधारित छ। चलचित्रले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने अवस्थालाई मर्मस्पर्शी ढंगले चित्रण गरेको छ।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो चलचित्रले नेपालसँगै विदेशका केही मुलुकहरूमा समेत एकसाथ प्रदर्शनको तयारी गरेको छ।
Shares

प्रतिक्रिया