प्रदर्शन मिति स्थगित भएको फिल्म ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ। चलचित्रको भव्य प्रिमियर आगामी जुन १ तारिख, शनिवार, अस्ट्रेलियाको पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा आयोजना हुने पक्का भएको छ।
साँझ ६ बजेबाट सुरु हुने प्रिमियरको व्यवस्थापन पर्थमा त्यहाका आयोजक र अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले गरिरहेको छ।
यो चलचित्र नेपालमा जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शन गर्ने तयारीमा थियो। तर, सोही दिन राजधानी काठमाडौंसहित देशभर राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावित जोखिम देखिएपछि फिल्मको रिलिज अन्तिम घडीमा रोकिएको थियो।
मनोरञ्जनसँगै नेपाली समाजको समसामयिक कथा बोकेको ‘महाभोज’ यस्तो संवेदनशील परिस्थितिमा प्रदर्शन गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै निर्माण टिमले उक्त निर्णय लिएको थियो।
नेपालमा प्रदर्शन रोकिए पनि अस्ट्रेलियाको प्रिमियर भने यथावत् राखिएको छ। तर, छोटो समय र तयारीको व्यस्तताका कारण चलचित्र टोलीका प्रमुख कलाकार र निर्देशकले यो प्रिमियरमा सहभागिता नजनाएता पनि केही दिन पछि सबै सहरको शोहरूलाई लक्षित गरेर सहभागी हुनेछन्।
चलचित्रका निर्देशक दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ सहकारी ठगीको मारमा परेको परिवारको स्थिति, यसले समाजमा पारेको प्रभाव तथा प्रत्येक व्यक्ति कसरी प्रभावित छन् भन्ने कथा मनोरञ्जनात्मक तथा भावनात्मक तरिकाले भन्छ।
यस फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख अभिनय रहेको छ। क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति रहेको यो चलचित्रका निर्माता हिमाल कडरिया हुन्।
केही दिन अघि काठमाडौंमा यस फिल्मको प्रिभ्यु प्रदर्शन गरिएको थियो। उक्त प्रदर्शनमा केही सहकारी पीडितहरू, पत्रकारहरू तथा चलचित्र युनिट सहभागी थियो।
सामाजिक यथार्थलाई कलात्मक ढङ्गमा चित्रण गर्न सकिएको भन्दै चलचित्रको प्रशंसा गरिएको छ। सहकारी पीडितहरूले आफूहरूलाई अधिकारको लागि बोल्न प्रेरित गरेको बताएका थिए।
Shares

प्रतिक्रिया