कला


बोस्टनको उही हलमा ७ वर्षपछि नेपथ्य, राष्ट्रिय झन्डासहित दर्शकले गरे स्वागत

बोस्टनको उही हलमा ७ वर्षपछि नेपथ्य, राष्ट्रिय झन्डासहित दर्शकले गरे स्वागत

नेपालखबर
जेठ ३०, २०८२ शुक्रबार २०:४५, बोस्टन (म्यासाचुसेट्स)

कन्सर्ट चल्दाचल्दै एक दर्शकले राष्ट्रिय झन्डा मञ्चमा हुत्याइदिए। गाउँदागाउँदैका अमृत गुरुङले त्यसलाई माथि उठाएर हेरे। त्यस झन्डामा केही कोरिएको देखिन्थ्यो।

‘यो रातो र चन्द्रसूर्यलाई जहिले पनि सम्मानले व्यवहार गरौँ,’ झन्डालाई काँधमा ओढ्दै अमृतले भने, ‘हाम्रो झन्डामा कसैले पनि दाग लगाउन नपाओस्।’

यति भन्नासाथ पूरै हल दर्शकको ताली र कोलाहलले गुन्जियो। उता अमृत भने फेरि पूर्ववत् गायनमा जोडिए।

सात वर्षपछि बोस्टनको उही हल ‘रोयल बोस्टन’ मा उपस्थित हुँदा नेपथ्यका दर्शकका निम्ति धेरै कुरा बदलिइसकेको थियो। स्वयं मुख्य प्रस्तोता अमृतका बाँधिएका कपाल पनि सेताम्य देखिन थालिसकेका थिए।

‘तर नेपथ्य झन्‌पछि झन् ऊर्जाशील बन्दै गएको छ,’ दर्शक गौरव थपलिया भनिरहेका थिए, ‘हल भित्रको माहोलले पहिलेभन्दा अझ बढी तरंगित बनाएको महसुस भयो।’

हेटौँडाबाट १७ वर्षअघि बोस्टन आएका थपलिया कन्सर्टमा सपत्नी उपस्थित थिए। हेटौँडामा सन् २००२ र २००३, न्युयोर्कमा २०१५ र बोस्टनमै सन् २०१८ मा नेपथ्यको कन्सर्ट हेरिसकेका गौरवले यसपटकको अनुभव सुनाए, ‘ब्यान्डले यसपटक फेरि नयाँ उचाइ समातेको महसुस गरेँ।’

संयोगले अमेरिकामा नेपथ्य यतिखेर आफूलाई सातौँपटक प्रस्तुत गर्दै छ भने पोहोर सालजस्तै यसपाला पनि यो शृंखलाबद्ध यात्रामा सातवटा सहर अटाएका छन्।

बोस्टनमा निर्धारित समयअनुसारै बेलुकीको ठीक ७ बजे ढोका खोलिएको थियो भने ठीक ८ बजे शो सुरु भएको थियो। त्यसलगत्तै मञ्चमा उपस्थित नेपथ्यका छ सदस्यले दुई घण्टासम्मै दर्शकलाई लोकरकको स्वादमा डुबाइरहे।

‘भाषै नबुझ्ने मान्छेलाई नेपाली साथीहरूले कन्सर्ट हेर्न जाऔँ भन्दा पहिले त अलमल परेकी थिएँ,’ फिलिपिन्सबाट आएर बोस्टनमा स्नातक अध्ययन गरिरहेकी अमान्डा रोक्सेन याप भन्दै थिइन्, ‘रमाइलो लाग्यो। नआएको भए छुटाउने रहेछु।’ अब भने नेपाली कन्सर्टमा जान अलमल नमान्ने बताउँदै उनले बरु थप नेपाली गीत–संगीत खोजेर सुन्ने जानकारी पनि दिइन्।

एक महिनापहिले टेक्सासको राजधानी अस्टिनबाट सुरु भएको यस वर्षको नेपथ्य यात्रा सियाटल, लस एन्जलस, पिट्सबर्ग हुँदै गत साता सिकागोमा प्रस्तुत भएपछि छैटौँ शोका निम्ति बोस्टन आएको थियो।

कन्सर्टमा सधैँजस्तै गायक अमृतले नेपाल र नेपालीपनसँग दर्शकलाई जोड्न भरमग्दुर प्रयत्न गरिरहे। उनले सामाजिक जागरण र मानवताका भावनामा पनि उत्तिकै जोड दिएका थिए।

भर्खरका उमेरदेखि तरुनातरुनी हुँदै विदेशी साथीहरूलाई लिएर आएका दर्शकको रंगीबिरंगी भीडमा परिपक्व उमेरका नेपाली पनि उत्तिकै थिए। हलमा ८० वर्षीया नन्दकुमारी धिताल पनि रमाइरहेकी देखिन्थिन्। उनी थिइन् धुलिखेलबाट बोस्टन आई रेस्टरेन्ट व्यवसाय चलाइरहेका राम धितालकी आमा।

‘यो कन्सर्ट सबैका लागि रमाइलो हुन्छ भन्ने सुनेर आमालाई पनि लिएर आएको हुँ,’ पहिलोपटक नेपथ्य कन्सर्ट हेर्दै गरेका राम भन्दै थिए, ‘यहाँ परिवारका सबै एकसाथ रमाउन पाइयो।’

कन्सर्टमा नेपाली पत्नी फुरदिकी शेर्पाका साथमा साढे चार घण्टा परको भेरमोन्टदेखि मोटर हाँक्दै आएका अमेरिकी नागरिक जेसे रित्भो पनि थिए।

‘ब्यान्डसँगसँगै भएभरका दर्शकले गाइरहँदा मैले मेरी पत्नीसँग नेपाली नसिकेकामा पछुतो पनि लाग्यो,’ कन्सर्टकै लागि दुई वर्षे बच्चालाई पहिलोपटक घरैमा छाडेर हिँडेका उनी भनिरहेका थिए, ‘रमाएका दर्शकका बीचमा बस्दा मैले पनि आनन्द महसुस गरेँ।’

‘कोसीको पानी’ बाट सुरु भएको कन्सर्ट ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजार’, ‘उडायो रेलैले’ हुँदै अघि बढेको थियो। कन्सर्टमा ब्यान्डका लोकप्रिय गीतहरू ‘रेश्शम्’ र ‘तालको पानी’ प्रस्तुत गरिँदा दर्शक असाध्यै उत्साहित देखिन्थे।

‘शिरफूल शिरैमा’ गाउँदै गर्दा अमृतले नेपालका गाउँबस्तीको सुन्दरता बयान गरेका थिए भने कर्णाली भेगको नयाँ गीत ‘कर्नालीका छाइला’ पनि गाएर सुनाएका थिए। अन्तिममा अमृतले राष्ट्रिय भावनाका गीतहरू ‘गाउँ–गाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ सुनाएर दर्शकसँग बिदा लिए।

मञ्चमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।

नेपथ्यको कन्सर्ट हेरेर रमाउनेमा ‘रोयल बोस्टन’ हलका पदाधिकारी पनि थिए। हलका ‘सेल्स एन्ड अपरेसन’ फाँटका भीपी जेमिसन लाग्वार्डिया तिनैमध्येका एक थिए।

‘यो ब्यान्ड गजब लाग्यो, दर्शक पनि उत्तिकै रमाइला अनि माहोल त झनै अपार,’ जेमिसनले अझ उत्साहित भएर थपे, ‘हाम्रो हलमा यस वर्षकै सबैभन्दा राम्रो प्रस्तुति यही नै रह्यो।’

बोस्टन कर्यक्रमको स्थानीय आयोजक टोलीका मुकुन्द पोखरेलले यसले नेपाली कार्यक्रमको स्तरको बार नै बढाएको बताए। ‘यतिका नेपाली एकै ठाउँमा जम्मा भएर रमाएको पहिलो पटक देखेँ,’ उनले भने।  

अमेरिकाका फरक–फरक भेगका बेग्लाबेग्लै विशेषता बोकेको सहरहरूमा उपस्थित भइसकेपछि नेपथ्य अब अन्तिम प्रस्तुतिका लागि नर्थ क्यारोलाइना राज्यको ग्रिन्सबोरो सहर पुगेको छ। त्यस सहरमा नेपथ्य पहिलोपटक प्रस्तुत हुन लागेको हो। ग्रिन्सबोरोको ‘पिडमोन्ट हल’ मा जुन १४ को साँझ ब्यान्डले यस वर्षको शृंखलाबद्ध अमेरिका यात्राकै अन्तिम प्रस्तुति दिनेछ।

व्यवस्थापक, प्राविधिक र कलाकारसमेत गरेर १४ सदस्यीय नेपथ्य टोली त्यसपछि स्वदेश फिर्नेछ।

यसपाला अमेरिका यात्राको संयोजन ‘मोमो इन्टरटेनमेन्ट’ र ‘के गरिरा’ ले संयुक्त रूपमा सम्हाल्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad