कला


एआई भिडिओ बनाएर फिल्म ‘अभिमन्यु : च्याप्टर-१’को प्रचार

एआई भिडिओ बनाएर फिल्म ‘अभिमन्यु : च्याप्टर-१’को प्रचार

नेपालखबर
असार ४, २०८२ बुधबार १४:४६, काठमाडौँ

चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’को प्रचार थालिएको छ।

रिलिज मिति अलि पछि नै भए पनि निर्माण पक्षले फिल्मको प्रचार त्यो पनि अत्याधुनिक प्रविधि एआईको प्रयोग गरेर सुरु गरेको हो। 

जसमा हिममानव यती सिनेमा हलको बक्सअफिसमा पुगेर चलचित्र ‘अभिमन्यु’ कहिले लाग्छ भनेर सोध्छन्। 

अनि हिमाली क्षेत्रमा सिनेमा हल छैन। त्यसैले चलचित्र हेर्न सहर बजार नै आउनुपर्छ भन्ने आशय व्यक्त गर्छन्।

अर्को भिडिओमा यतीले आफूले ‘पूर्ण बहादुरको सारंगी’ पनि हेरेको भन्दै ‘अभिमन्यु : च्याप्टर-१’ पनि हेर्ने र यो सिनेमा भदौ २७ देखि हलमा लाग्छ भनेका छन्। 

ठूलो बजेट लाग्ने एआई भिडिओ बनाएर निर्माण पक्षले सिनेमा प्रचारमा प्रयोग गरिरहेको छ। यसले एआईको प्रयोग सिनेमा प्रचारमा पनि गर्न सकिन्छ भन्ने पुष्टि गरेको छ। 

निर्माण पक्षले सिनेमा प्रचारमा यती नै किन राख्यो?

‘अभिमन्यु : च्याप्टर-१’ यतीजस्तै महत्त्वपूर्ण र दुर्लभ सिनेमा हो भन्ने सन्देश दिन हो त? अथवा संयोग मात्रै हो? यसबारे निर्माण पक्षले केही बताएको छैन।

चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’को यसअघि नै काउन्टडाउन सुरु गरिसकेको छ। निर्माण पक्षले सयदिने काउन्टडाउन पोस्टर सार्वजनिक गर्दै सुरु गरेको थियो।

चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ अहिले पोस्ट प्रोडक्सनमा छ। फिल्मको मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन्।

पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्ष सिनेमाको मुख्य कथा भएको बताइएको छ।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भएको सिनेमा ‘अभिमन्यु : च्याप्टर-१’लाई सुशान्त गौतमले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि चलचित्र ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए।

‘अभिमन्यु : च्याप्टर-१’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, निराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।

जीवन शाक्य लाइन प्रोड्युसर रहेको यस चलचित्रमा आकाश उखेडा मुख्य सहायक निर्देशक, मदन घिमिरे सम्पादक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक छन्।

‘अभिमन्यु’मा शरद महतोको डीओपी छ। यो चलचित्र विश्वभर एकसाथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad