अहिले चलिरहेको चलचित्र 'महाभोज'ले सहकारी ठगीको यथार्थ चित्रण गरेको उल्लेख गर्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यो विषय संसद्मा पुनः उठाउन झकझक्याएको बताएका छन्।
मंगलबार साँझ काठमाडौँको सुनधारास्थित क्यूएफएक्स सिनेमा हलमा 'महाभोज' हेरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपाका प्रवक्तासमेत रहेका सांसद शाहीले फिल्मले सहकारीमा कसरी ठगी हुन्छ भन्ने कुरालाई राम्रोसँग उतारेको बताए।
‘निर्देशकले जोखिम मोलेर यो कथा उठाउने हिम्मत गर्नुभएको छ, अब यसले हामीलाई फेरि पनि संसद्मा बोल्न बाध्य बनाएको छ’, शाहीले भने।
उनले यसअघि पनि संसदीय समिति गठन गरी केहीलाई मात्र नभई सबैलाई छानबिन गर्नुपर्ने माग गरिएकाले यो देशैभरिको समस्या भएको दोहोर्याए।
शाहीले भने, ‘कि त ऐन ल्याउनुपर्यो, कि त छानबिन हुनुपर्यो। अब फेरि संसद्मा आवाज उठ्नेछ।’
शुक्रबार रिलिज 'महाभोज'ले दर्शकहरूबाट उत्साहपूर्ण प्रतिक्रिया पाइरहेको छ।
चलचित्र हेरेर हलबाट निस्कने दर्शकले प्रसन्न मुद्रामा देखिँदै 'हेर्नै पर्ने' चलचित्र भन्ने गरेका छन्।
सहकारी ठगीजस्तो गम्भीर मुद्दालाई गहिराइमा पुगेर चित्रण गरेको भन्दै दर्शकले महाभोज फिल्मको प्रशंसा गरेका छन्।
समीक्षकहरूले पनि यसका पटकथा, निर्देशन र कलाकारको अभिनयको खुलेर प्रशंसा गरेका छन्।
मंगलबार साँझ नै कलाकारहरू अनुभव रेग्मी, सलोन बस्नेत, गजित बिस्ट, निर्देशक शोभित बस्नेत, कोरियोग्राफर गम्भीर विष्टलगायतले पनि 'महाभोज' हेरेर यो चलचित्र नेपालका राजनीतिक दलका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणले नछुटाई हेर्नुपर्ने विषयमा बनेको बताएका छन्।
चलचित्र हेरेपछि उनीहरूले 'महाभोज'ले उठाएका विषयवस्तु र यसको प्रस्तुतिको उच्च प्रशंसा गरे।
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको 'महाभोज' क्लक वर्क क्रिएसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो। हिमाल कडरियाले निर्माण गरेको यस चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्तलगायतका कलाकारले अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया