साहित्यकार तथा मदन पुरस्कार विजेता अमर न्यौपाने र विवेक ओझाले हाल प्रदर्शनरत फिल्म ‘महाभोज’ हेरेका छन्।
उनीहरू दुवैले चलचित्रको विषयवस्तु, कथावस्तुको प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन्।
न्यौपानेले ‘महाभोज’लाई ‘यो समयको कथा बोकेको चलचित्र’को संज्ञा दिए। उनले हाल समाजमा व्याप्त सहकारी ठगीको मुद्दालाई चलचित्रले सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गरे।
‘यति बेला धेरै सहकारी बेकारी बनेका छन्। त्यहाँ धेरैको पसिनाको मूल्य हराएको छ। पीडितहरू किसान, मजदुर र श्रमजीवी वर्ग छन् भने पीडकहरू हुनेखानेहरू छन्,’उनले भने।
चलचित्रमा ग्रामीण भेगका विभिन्न मानिसका कथा(व्यथालाई सहकारी घोटालासँग जोडेर प्रस्तुत गरिएको र कथा सलल बगेको बताए।
न्यौपानेले चलचित्रको अभिनय र निर्देशकीय पक्ष निकै सबल रहेको टिप्पणी गर्दै चलचित्र हेरेपछि देशमा कानुनको कमजोरी र बल प्रयोग गरेरै न्याय खोज्नुपर्ने परिस्थितिको चित्रणप्रति दुःख व्यक्त गरे।
त्यस्तै, अर्का मदन पुरस्कार विजेता साहित्यकार विवेक ओझाले ‘महाभोज’मा प्रत्येक कलाकारको अभिनय निकै बलियो लागेको बताए। कलाकारहरूले आफ्ना पुराना चरित्रहरूभन्दा निकै उच्च स्तरको अभिनय गरेको महसुस गरेको उनले सुनाए।
ओझाका अनुसार, दुई घण्टा अवधिको यो चलचित्रले समाज, परिवार र व्यक्तिगत मनोभावना तथा मनोविज्ञानलाई निकै मसिनो गरी केलाउन सफल भएको छ। चलचित्रको कथा समसामयिक सहकारी घोटाला वरपर घुमे पनि यसले घरपरिवारको नाता सम्बन्ध, गाउँ समाजको विश्वास र धोकाका सम्बन्धलाई सँगसँगै हिँडाएको छ, जुन निकै सुहाउँदो रहेको उनको भनाइ छ।
उनले समाजको र कानुनको चरित्रबिचको द्वन्द्व, कानुनी छिद्र र विश्वासको दुरुपयोग, अनि कसरी मान्छे कानुनी र सामाजिक रूपमा सबथोक गुमाएर लाचार र विकल्पविहीन हुन पुग्छ भन्ने जस्ता विषयहरूलाई मिहिन तवरले प्रस्तुत गरिएकोमा प्रशंसा गरेका छन्।
नेपाली साहित्यका एक स्थापित नाम अमर न्यौपानेले आफ्नो उपन्यास ‘सेती धरती’ का लागि २०६८ सालको मदन पुरस्कार प्राप्त गरेका थिए। उनका कृतिहरूमा गहिरो सामाजिक चेतना र मानवीय संवेदनशीलता पाइन्छ । यस्तै, युवा पुस्ताका चर्चित साहित्यकार विवेक ओझाले आफ्नो उपन्यास ‘ऐँठन’ का लागि २०७९ सालको मदन पुरस्कार जितेका थिए।
दिनेश राउतको निर्देशित यस फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्। यस फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला, विनोद न्यौपाने लगायतको अभिनय छ।
Shares

प्रतिक्रिया