कला


काठमाडौंमा गरियो चलचित्र ‘नाम–ओती’को विशेष प्रदर्शन

काठमाडौंमा गरियो चलचित्र ‘नाम–ओती’को विशेष प्रदर्शन

नेपालखबर
असार ६, २०८२ शुक्रबार १३:४२, काठमाडौँ

नेपाली चलचित्र ‘नाम–ओती’ राजधानीको बिग मुभिज हलमा एक विशेष समारोहका बीच प्रदर्शन गरिएको छ।

नाङ्जङ फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण गरिएको फिल्ममा लिम्बू समुदायको परम्परा, संस्कृति र ग्रामीण जीवनशैलीका विविध आयामहरू उजागर गरिएको छ।

निर्माण कम्पनीका अनुसार चलचित्रको कथा समाजमा देखा पर्ने मादक पदार्थ दुरुपयोग, पारिवारिक विघटन, र त्यसपछि हुने आत्मबोध र सुधारको प्रक्रियामा आधारित छ। कथाअनुसार, एक युवा मादक पदार्थको लतमा फसेपछि उसले परिवार र समाजसँगको सम्बन्ध बिगार्छ। जब पत्नीले छाडेर जान्छिन्, त्यसपछि मात्र ऊ आफैंलाई बुझ्न थाल्छ। पश्चातापपछि उसले आफूलाई सुधारेपछि समाज सेवामा होमिन्छ र स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा अध्यक्ष पदमा विजयी हुन्छ।

चलचित्रले “आफूलाई बुझ्न सके समाजमा परिवर्तन ल्याउन सकिन्छ” भन्ने सशक्त सन्देश दिन्छ। लिम्बू समुदायको विवाह, मृत्यु संस्कार, परम्परागत पोशाक, गहना र सामाजिक परम्परालाई चलचित्रमा जीवन्त रूपमा प्रस्तुत गरिएको छ। चलचित्रले लिम्बू संस्कृति मात्र होइन, पूर्वी नेपालको ग्रामीण जीवन, अभाव, संघर्ष र सामाजिक यथार्थलाई प्रभावकारी रूपमा चित्रण गरेको छ।

चलचित्रमा नेपाल पत्रकार महासङ्घ तेह्रथुमका अध्यक्ष टिआर सेनेहाङ र कलाकार पूर्ण साँवा प्रमुख नायकको भूमिकामा छन्। हाङमा थेबे र रुबिना श्रेष्ठ मुख्य नायिकाका रूपमा देखिएका छन्। अन्य कलाकारहरूमा दुर्गा ईङ्नाम, सङित आङ्खेवा, ज्योती लिम्बु, कुमारी लिङ्देन, हस्तमाया फुरुम्बो, देउमान लिम्बु, डम्बर श्रेष्ठ, अनिता श्रेष्ठ, टेकराज तिगेला, पदममाया लिम्बु लगायत कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय कलाकारहरूको उल्लेखनीय सहभागिता रहेको छ।

चलचित्र दिलिप फुरुम्बोको निर्देशनमा तयार भएको हो।

निर्माताका अनुसार चलचित्र कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा प्रदर्शन गरिनेछ भने विदेशमा रहेका नेपाली समुदायबीच पनि प्रदर्शनको तयारी भइरहेको छ।

‘नाम–ओती’ चलचित्रले समाजमा सुधार सम्भव छ भन्ने विश्वास दिलाउँछ। साथै, यो चलचित्र लिम्बू समुदायको मौलिकता, ग्रामीण जीवनको यथार्थ, र सकारात्मक सामाजिक परिवर्तनको सन्देश बोकेर आएको छ। नेपालभित्र र बाहिर रहेका नेपाली दर्शकका लागि यो चलचित्र सांस्कृतिक चिनारी र सामाजिक चेतनाको बलियो माध्यम बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad