कला


अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा, अर्काको मोबाइल नम्बर दुरुपयोग गरेको आरोप

अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ टिमविरुद्ध मुद्दा, अर्काको मोबाइल नम्बर दुरुपयोग गरेको आरोप

नेपालखबर
असार ९, २०८२ सोमबार १३:५०, काठमाडौँ

अभिनेता अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’को टिमविरुद्ध दुष्कृतिसम्बन्धी मुद्दा दायर भएको छ।

उनीहरूविरुद्ध कलाकार नरेन्द्रबहादुर श्रेष्ठले जिल्ला अदालत काठमाडौँमा सोमबार मुद्दा दायर गरेका हुन्। मुद्दामा आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र हटाउन अनुरोध गर्दा पनि एमएसएम ओ‌टीटी प्लेटफर्मबाट आफ्नो मोबाइल नम्बर नहटाएकोले कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।

चलचित्रमा अनमोलले बोल्ने एउटा संवादबाट आफ्नो मोबाइल नम्बर नहटाएसम्म चलचित्र प्रदर्शनमा रोक लगाउन पनि श्रेष्ठले अदालतमा माग गरेका छन्। 

चलचित्र निर्माण पक्षले सोध्दै नसोधी आफ्नो नम्बर प्रयोग गरेको र यसले आफूलाई मानसिक हैरानी तथा शारीरिक रूपमा पनि नोक्सानी भएको भन्दै उचित क्षतिपूर्ति दिनुपर्ने श्रेष्ठको माग छ।

'फर्की फर्की फिल्म रिलिज भए पश्चात उक्त संवादमा उल्लेखित मेरो फोन नम्बर अनमोल केसीसँग बोल्न चाहने व्यक्तिहरूले बारम्बार फोन गर्ने कार्यले मेरो व्यक्तिगत फोन नम्बर नै मैले स्वीच अफ गरी बस्नु परेको छ। एकैछिन फोन अन गरी बस्यो कि कुनै न कुनै ठाउँबाट, कुनै न कुनै व्यक्तिले अनमोल केसीको सम्पर्क नम्बर भन्ठानी फोन गरिहाल्छ' रिट निवेदनमा भनिएको छ। 

सुरु सुरुमा फोन आउँदा उक्त नम्बर आफ्नो भएको जानकारी गराउने गरेको भए पनि पछि दिनमै सयौँ नम्बरबाट फोन आउन थालेको र अनमोल केसीलाई दिनु भन्ने गरिएपछि मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पार्ने काम विपक्षीबाट भएको दाबी गरिएको छ।  

मुद्दा केसी, चलचित्रका निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति (सेन्सर बोर्ड), रोहित अधिकारीसहितलाई कानुन बमोजिम सजायको माग गर्दै दायर भएको छ।  यसबारे चलचित्र नियामक निकायहरूलाई पटकपटक पत्र पठाएर जानकारी गराए पनि सुनुवाइ नभएपछि मुद्दा दायर गरिएको पनि रिट निवेदनमा उल्लेख गरिएको छ।  

यसप्रकारको हैरानीबाट मुक्त गराइ पाउँ भनी तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई फोन गेर जानकारी गराए पनि समस्या समाधान नभएको गुनासो छ।

त्यस्तै सुयोग गुरुङलाई पटकपटक आग्रह गरिएको र उनी पीडितको घरमै आएर समस्या समाधानको आश्वासन दिए गए पनि समस्या सम्बोधनको कार्य नगरेको पनि आरोप छ। 

चलचित्र फर्की फर्की को एउटा संवादमा हिरो अनमोल केसीसँग हिरोइन जसिता गुरुङले नम्बर माग्छिन्। त्यहाँ उनले नम्बर दिन्छन्। उक्त नम्बर नै आफ्नो भएको र त्यसपछि लगातार उनलाई लगातार फोन आउन थालेको आरोप छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad