कला


फिल्म 'रियाल रिङ्गेट'को मर्मस्पर्शी गीत 'जिन्दगी' मा प्रवासी नेपालीको कथा (भिडिओ)

फिल्म 'रियाल रिङ्गेट'को मर्मस्पर्शी गीत 'जिन्दगी' मा प्रवासी नेपालीको कथा (भिडिओ)

नेपालखबर
असार ११, २०८२ बुधबार ११:५२, काठमाडौँ

आगामी साउन १६ गते प्रदर्शनमा आउने फिल्म 'रियाल रिङ्गेट'को ओएसटी गीत 'जिन्दगी: उडी जाने हो कहाँ' सार्वजनिक गरिएको छ। रेबेल फिल्मसद्वारा निर्मित यस चलचित्रको गीतले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको मार्मिक कथा समेटेको छ।

रवि मल्ल र कोसिस क्षेत्रीको संयुक्त रचनामा चन्दन ध्वज केसी र किरण तुलाधरले सङ्गीत दिएको यो गीतमा केतन क्षेत्रीको सुमधुर स्वर रहेको छ भने किरण तुलाधरले एरेन्ज गरेका छन्। गीतले विदेशमा नेपालीले भोग्ने सङ्घर्ष, उनीहरूको घरपरिवारको विचलित अवस्था र बाध्यताले विदेसिनुपर्दाको पीडालाई गहिरो रूपमा प्रस्तुत गरेको छ।

कार्यक्रममा कवि नाथन रायनले आफ्नो कविता वाचन गरे, जहाँ मामुली मजदुरका रूपमा बिदेसिन बाध्य नेपालीहरूको मार्मिक भावना पोखिएको छ। कवि रायनका शब्दहरूले "जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो" भन्ने ट्यागलाइनमार्फत चलचित्रको समग्र मर्मलाई सशक्त रूपमा चित्रण गर्दछ। गायक केतन क्षेत्रीले प्रत्यक्ष गीत गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए।

चलचित्रका निर्देशक विभोर पोखरेलले 'रियाल रिङ्गेट' हरेक नेपालीको कथा भएको जिकिर गर्दै यो चलचित्रले आम दर्शकको मन छुन सफल हुने विश्वास व्यक्त गरे । निर्माता गगनलाल प्रधानले वैदेशिक रोजगारीको विषय उठाउनै पर्ने भएकोले यसमा लगानी गरेको बताए। दुई दशकभन्दा बढी समयदेखि रेबेल क्रियशन सञ्चालन गर्दै आएका प्रधानले यसअघि २०३९ सालमा भिडियो फिल्म 'अभिलाषा' निर्माण गरेका थिए। साथै, रेबेल क्रियशनमार्फत् प्रधानले दर्जनौँ गायक गायिका, निर्देशक तथा कलाकारहरूलाई स्थापित गरेका छन्।

अभिनेत्री निता ढुङ्गानाले लामो समयको मिहिनेतपछि चलचित्र रिलिजको सङ्घारमा पुगेकोमा खुसी व्यक्त गरिन् भने अभिनेता प्रमोद चौलागाईंले निकै सोच विचार गरेर मात्र यस चलचित्रमा अभिनय गरेको जनाए।

विभोर पोखरेलको निर्देशनमा बनेको यस चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ। प्रदीप भारद्वाजले चलचित्रको लेखन गरेका हुन्।

भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा छायाङ्कन गरिएको यो चलचित्रलाई काफिया फिल्म्सले वितरण गर्दैछ।

(भिडिओ)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad