कला


‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरू

‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरू

नेपालखबर
असार १५, २०८२ आइतबार १४:४१, काठमाडौँ

बबरमहलस्थित नेपाल कला परिषद्‍मा ‘पञ्च तत्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीको पहिलो दिन लिच्छवी हाउसद्वारा तयार गरिएको चर्या नृत्य प्रस्तुत गर्दै प्रदर्शनीको सुरुआत गरिएको थियो। 

लिच्छवी हाउसको आयोजनामा सुरू भएको प्रदर्शनीको सुरुआत गर्दै वौद्धधर्म गुरु तथा चलचित्र निर्देशक खिन्से नोर्वुले प्रदर्शनी सुरु गरे। उनले नौ जना नेपाली महिला कलाकारहरूले आफ्नो कलामार्फत पृथ्वी, पानी, आगो, हावा र आकाशजस्ता जीवनका मौलिक तत्वहरूको गहिरो सम्बन्धलाई प्रस्तुत गरेको भन्दै तारिफ गरे।

‘यहाँ प्रदर्शनीमा रहेका चित्रकलाले हामीलाई पन्च तत्वको महत्वलाई अझैँ नजिकबाट बुझ्न मदत गरेको छ। मैले अवलोकन गरेपछि कलाकारहरूको काम उत्कृष्ट रहेको छ भन्न सक्छु। म उहाँहरूको कलालाई निरन्तरता दिन र आगामी दिनमा अझैँ उत्कृष्ट काम गर्न शुभकामना दिन्छु’, उनले भने।

आगामी असार २८ गतेसम्म चल्ने प्रदर्शनीमा नेपालका विविध भौगोलिक र सांस्कृतिक पृष्ठभूमिबाट प्रतिनिधित्व गर्ने कलाकारहरू सुष्मा शाक्य, बिधाता केसी, वर्षा मुखिया, रश्मी कर्ण, वैशाली क्षेत्री, अञ्जिला मानन्धर, मीना कायस्थ, सुशीला सिंह र तेन्जिन साङ्मोले पाँच तत्वहरूको आपसी निर्भरता र तिनको एकताले मानव जीवन र पर्यावरणमा पार्ने प्रभावलाई कलामा समेटिएको क्युरेटर मिशेल लामाले जानकारी दिईन्।

प्रदर्शनीमा मिथिला चित्रकलालाई प्रस्तुत गरेकी कलाकार रश्मी कर्णले महिलालाई केन्द्रमा राखेर गरिएको प्रदर्शनीले समकालीन जलवायु चेतना र सांस्कृतिक दृष्टिकोणलाई जोड्दै दर्शकहरूलाई प्रकृति प्रति साझा उत्तरदायित्व बारे सोच्न प्रेरित गर्ने विश्वास व्यक्त गरिन्। ‘कलाले परम्परागत ज्ञान र समकालीन विषयवस्तुको संयोजन प्रस्तुत गरेको छ। यो विशेषत नयाँ पुस्ताका लागि उत्तिकै फलदायी र प्रभावकारी छ। हामीले मिथिला चित्रकलालाई दिईएको विषयसँग जोडेर प्रस्तुत गरेका छौँ’, उनले भनिन्।

पहिलो दिन कलाकार रवीन्द्रसिंह बानियाँ, निर्माता म्याक्स दीपेश खत्री, निर्देशक प्रदीप भट्टराईले कला अवलोकन गरेपछि त्यसको ज्ञानको प्रभाव कलाकारितामा पर्ने विश्वास व्यक्त गरे। आगामी असार २८ गतेसम्म दैनिक विहान ११ बजेदेखि साँझ ७ बजेसम्म प्रदर्शनी चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad