अभिनेता जीवन लुइँटेल अब रंगमञ्चमा देखिने भएका छन्। कान्तिपुर थिएटरले साउन १ गतेदेखि मञ्चन गर्न लागेको बहुप्रतीक्षित नाटक ‘शिरिषको फूल’ खेल्न लागेका हुन्। उनी यस नाटकमा मुख्य पात्र सुयोगवीरको भूमिकामा देखिनेछन्।
साहित्यकार पारिजातको उपन्यासमा आधारित यस नाटकमार्फत लुइँटेलले अमेरिका बसाइपछि पहिलोपटक अभिनयमा कमब्याक गर्न लागेका हुन्। नाटकको लेखन र निर्देशन कान्तिपुर फिल्म एकेडेमीकी विद्यार्थी पत्रिका घिमिरेले गरिरहेकी छन्।
कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सिईओ प्रकाश पुरीका अनुसार नाटक मञ्चन कै लागि लुइँटेल आगामी साता नेपाल आउँदै छन्। उनले भने, ‘हामीलाई साहित्यमा पकड र अभिनयमा गहिरो अनुभूति भएको उमेर र अनुभवका आभारमा परिपक्व पात्र चाहिएको थियो, त्यसैले उहाँलाई प्रस्ताव गर्यौँ।’
पछिल्लो समय उनी अमेरिका बसोबास गर्दै आएका छन्।
नाटकमा प्रमुख पात्र सकम्बरी को भूमिकामा कसले अभिनय गर्ने भन्नेबारे भने हालसम्म खुलाइएको छैन। गत महिना कान्तिपुर थिएटरले रेखा थापाको मुख्य भूमिकामा मञ्चन गरेको नाटक ‘मीरा’ ले चर्चा कमाएको थियो।
Shares

प्रतिक्रिया