अभिनेत्री केकी अधिकारीले नेपाली फिल्ममा हिरो टाउको खोज्ने गरेको बताएकी छन्। आइतबार पर्यटन बोर्डमा ‘फेस्टिभल फिल्म भर्सेस घरेलु बजार’ शीर्षकको अन्तर्क्रियात्मक कार्यक्रममा बोल्दै उनले हलसँगको अनुभव सुनाएकी हुन्।
चलेको महिला अनुहारलाई पनि बक्सअफिसले स्विकार्न नसकेको उनको भनाइ छ। ‘हिरोको अनुहार नहुँदा चुनौती थियो, हाम्रो फिल्म चलाउँदा पनि हिरो को छ त भन्ने खालको कुरा आयो। तर, हामीले कन्टेन्टमा जोखिम लियौँ। कोहोलपुर एक्सप्रेसमा पनि प्रियंका कार्की, रिचा शर्मा र रिमा विश्वकर्माजस्ता अभिनेत्रीहरू हुनुहुन्थ्यो। तर, यहाँ अहिले पनि हिरोकै खोजी हुन्छ,’उनले भनिन्।
निर्देशक दीपेन्द्र लामाले हलवालाले फिल्म बुझ्न नसक्दा नेपाली फिल्मले अहिलेसम्म प्रदर्शनका लागि संघर्ष गरिरहनु परेको सुनाए। फिल्म स्टार नहुँदा हलबाट शो पाउन समेत कठिन रहेको उनको ठहर छ।

‘नेपालका हल मालिक अझै पनि नेपाली फिल्मलाई बुझ्दैनन्। दयाहाङ राई, प्रदीप खड्काजस्ता चलेका अनुहार राखेको फिल्मलाई मात्रै हलले सो दिँदै आएको छ। त्यसैले चलेको अनुहार नराखी सुखै छैन’उनले भने, ‘केकीकै फिल्म पनि चल्छ भन्ने सोचेको थिएनँ। किनकी यसमा ठूला स्टार थिएनन्। अझै पनि नेपाली फिल्ममा हिरो टाउको खोजिन्छ।’
सन् २०१० मा केकीले फिल्म ‘स्वर’ बाट सिनेक्षेत्रमा डेब्यु गरेकी हुन्। अब्बल अभिनेत्रीको पहिचान बनाए पनि लामो समय केकीका फिल्महरु बक्स अफिसमा भने चल्न सकेनन्। जसकारण उनलाई ‘असफल फिल्मकी सफल कलाकार’ भनेर ट्याग लाग्ने गरेको थियो।
तर, दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ बाट उनको असफलताको शिलशिला रोकियो। किनकी त्यस फिल्मबाट केकीले पहिलोपल्ट सफलताको स्वाद चाखिन्। उनकै लगानीमा बनेको फिल्म ‘बोक्सीको घर’ ले त ट्याग नै मेटाइदियो। गत वर्ष रिलिज भएको यो फिल्म वर्षकै सर्वाधिक कमाइ गर्ने फिल्महरूमध्ये पर्छ।
यसै विषयमा कार्यक्रममा सहजककर्ता प्रसुन संगौलाले सोधे- ‘बोक्सीको घर’ चलाउन कुन फर्मुला लगाउनुभयो?
जवाफमा केकीले आफूसँग फिल्म चलाउने कुनै फर्मुला नभएको बताइन्। ‘पैसा कमाउने फिल्मको फर्मूला बोक्सीको घरबाट भेटेजस्तो त लाग्दैन। हो, मलाई बोक्सीको घरले सफलताको स्वाद चखायो। तर, त्यसअघिसम्म मलाई असफल फिल्मको सफल कलाकार भन्ने ट्याग दिइन्थ्यो,’उनले भनिन्।
यद्धपी, केकीले फिल्मको कथावस्तु, गीत र प्रचारका विभिन्न नीतिले ‘बोक्सीको घर’ ले घरेलु बजारमा राम्रो व्यापार गरेको स्विकारिन्। उनले भनिन्, ‘बोक्सीको घर आर्ट खालको फिल्म थियो । तर, हलमा फिल्म चलाउनु थियो हामीलाई । त्यसैले धेरै दर्शकबीच पुग्न थुप्रै ब्रान्डसँग सहकार्य गर्यौं।’
कार्यक्रममा वत्ताका रुपमा नेपालकै इतिहासमा सर्वाधिक कमाइ गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का विनोद पौडेल पनि उपस्थित थिए। उनले पनि आफ्नो फिल्म बक्सअफिसमा चल्नुका केही कारणहरु बताए।
इमानदार भएर कथा भन्नुका साथै केही रणनीतिले काम गरेको उनको अनुभव छ। उनी भन्छन्, ‘बजार हेरेर यो कलाकार लिउँ भन्ने दबाब थिएन। तर कथाले मागेको कलाकारलाई अनुबन्धित गर्यौं, विजय बराल त्यसरी जोडिए। मुख्य कुरा त फिल्मले उठाएको विषयवस्तु नै हुँदो रहेछ,’ विनोदले भने।
सुरुमा ठिकै चर्चा भएपनि ‘रैया चाँदीको’ गीतबाट ह्वातै हाइप बढेको उनी मान्छन्। पछि भने उनले आफूले फिल्म चलाउन लाखौंको टिकट बिक्री गरेको समेत स्विकार गरे।
निर्माता पौडेल टिकट किन्नुपर्ने बाध्यता हलवालाले गर्दा भएको र त्यो हल्ला सत्य रहेको सुनाए। ‘एक हप्तासम्म हलमा सो बचाइराख्न हामीले टिकट किनेरै भए पनि पूर्णबहादुरको सारङ्गी चलायौं। त्यसैले मलाई लाग्छ, हलले एक हप्तासम्म नेपाली फिल्मलाई विश्वास गरिदिनुपर्छ। तर, यहाँ त्यसरी सो दिइँदैन । तर, सो जोगाउन टिकट किन्नुपर्ने बाध्यता अझै छ यहाँ,’ विनोदले भने।
निर्देशक सुवर्ण थापा चलचित्र विकास बोर्डले सर्वाधिक कमाउने फिल्मलाई मात्रै नभई महोत्सव पुगेका फिल्मलाई पनि सम्मान गर्नुपर्ने बताउँछन्। महोत्सव जाने फिल्मले अन्तर्राष्ट्रिय बजारमा देशकै प्रतिनिधित्व गर्ने हुँदा यसको योगदान भुल्न नहुने उनको तर्क छ।
‘फिल्म महोत्सवमा जानु देशको परिचय त्यो प्लेटफर्ममा पुर्याउनु हो। त्यहाँका दर्शकलाई यहाँको संस्कृतिदेखि विभिन्न विषय चिनाउनु हो। बोर्डले सार्वजनिक गरेको २५ फिल्मले के अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छ तरु’ शाम्बाला र गाउँ आएको बाटोले विश्व बजारदेखि घरेलु बजारमा राम्रो गर्यो। तर, के त्यो सूचीमा भएका बाँकी फिल्मले त्यसै किसिमको उपस्थिति त्यता जनाउला सक्ला तरु’उनले प्रश्न तेर्साए।
निर्देशक लामाले पनि सुवर्णको कुरामा सहमति जनाए। शाम्बाला आफूलाई निकै मन परेको फिल्म भएको बताउँदै पैसा कम पैसा कमायो भन्दा नराम्रो फिल्म भन्न नमिल्ने उनको धारणा छ।
उनी भन्छन्,‘फिल्म आर्टिस्टिक हुनु र व्यापार गर्नु फरक कुरा हो। व्यापारकै आधारमा यो फिल्म राम्रो र नराम्रो भन्नुचाहिँ गलत हो। अहिले न्युयोर्क टाइम्सले निकालेको फिल्मको सूचीको पहिलो स्थानमा प्यारासाइट पर्यो। तर अहिलेसम्ममा व्यावसायिक हिसाबले धेरै राम्रो गरेको फिल्म त अवतार हो नि। त्यसैले फिल्मको व्यापार राम्रो हुनु एउटा पाटो हो, फिल्म महोत्सवमा पुग्नु अर्को पाटो हो।’
काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ‘चलचित्र सभा’ यस कार्यक्रममा नेपाल चलचित्र समीक्षक समाजको सहकार्य थियो।
Shares

प्रतिक्रिया