कला


गुरुहरूलाई सम्झिएर मिथिला शर्माले गरिन् वरिष्ठ कलाकर्मीलाई सम्मान

गुरुहरूलाई सम्झिएर मिथिला शर्माले गरिन् वरिष्ठ कलाकर्मीलाई सम्मान

नेपालखबर
असार २७, २०८२ शुक्रबार १२:१९, काठमाडौँ

कलाकार तथा नृत्यांगना मिथिला शर्माले गुरु पूर्णिमाका अवसरमा आफ्ना गुरुहरूको सम्मानस्वरूप विभिन्न विधाका कलाकर्मीलाई सम्मान गरेकी छन्।

शर्माले आफू वरिष्ठ सल्लाहकार रहेको नेपाल पूर्वप्रहरी कलाकार संघमार्फत गुरुहरूको नाममा स्थापित सम्मान कलाकर्मीलाई प्रदान गरेकी हुन्।

प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबको सभा हलमा बिहीबार सम्पन्न संघको प्रथम वार्षिकोत्सव तथा दोस्रो स्रष्टा सम्मान कार्यक्रममा नृत्य र अभिनय करिअरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप कलाकर्मीलाई सम्मान प्रदान गरेकी हुन्।

कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठलाई राजपाल थापा नृत्य साधना सम्मान २०८२ प्रदान गरिएको छ।

त्यस्तै साहित्यकार रमण घिमिरेलाई चेतन कार्की गिती वाङ्‌मय सम्मान २०८२, वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई गोपाल योञ्जन संगीत साधना सम्मान २०८२ र वरिष्ठ कलाकार वसुन्धरा भुसाललाई हाडा एन्ड पाल हास्य वाङ्‌मय सम्मान २०८२ प्रदान गरिएको हो।

संगीतकार गुरुङ देश बाहिर रहेका कारण उनको सम्मान उनकै छोरा रजय गुरुङले ग्रहण गरेका थिए। कलाकर्मीलाई कार्यक्रमका प्रमूख अतिथि प्रहरी महानिरीक्षक दीपक थापा, पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहरा, अभिनेता तथा रंगकर्मी हरिहर शर्मा, अभिनेत्री भुवन चन्द, चैत्यदेवी, मिथीला शर्मा, गौरी मल्ललगायतले सम्मान हस्तान्तरण गरेका थिए। 

समारोहमा बोल्दै शर्माले आफू जन्मिएको ठाउँमा उभिएर गुरुहरूलाई सम्मान गर्न पाउँदा भावुक भएको बताइन्।

‘अभिनय, गायन र नृत्यका मेरा गुरुहरूलाई गुरु दक्षिणास्वरूप यो सम्मान स्थापना गरेकी हुँ। विगतले अंश माग्दैन। तर ३ सय ६५ दिनमा यो विशेष १ दिन गुरुहरूलाई सम्झिएर यो कार्यक्रम गर्दा गुरुहरू चेतन कार्की, गोपाल योञ्जन, राजपाल थापा र ध्रुव रत्न हाडाको गर्विलो इतिहास सम्झिइरहेकी छु।आमा, बुवा र गुरुको ऋण कहिल्यै तिर्न सकिँदैन। तर पनि उहाँहरूको नाममा केही गरेर सदा आशीर्वाद पाइरहुँजस्तो लाग्छ’, कार्यक्रममा अभिनेत्री शर्माले भनिन्।

प्रहरी महानिरीक्षक दीपक थापाले यो संघको वार्षिकोत्सव मात्रै नभई रचनात्मक र सिर्जनात्मक कार्यक्रम भएको चर्चा गर्दै आफू स्रष्टा कलाकार नभए पनि संगठन र व्यक्तिगत तर्फबाट संघलाई सहयोग गर्ने घोषणा गरे।

सम्मानित कलाकारका तर्फबाट बोल्दै अभिनेत्री वसुन्धराले भुसालले २०२३ सालमा श्रीमान् र आफ्नो भेट प्रहरी क्लबमै नृत्य गर्ने क्रममा भएको स्मरण गर्दै आज सोही क्लबमा सम्मान हुन पाउँदा भावुक भएको बताइन्।

‘मेरो श्रीमानसँग प्रहरी क्लबमै भेट भएको थियो। श्रीमान् प्रहरी कलाकार नभएको भए अगाडि आउन सक्दिन थिएँ होला। त्यो बेला मेरो प्रिय बाल कलाकार मिथिला बहिनी थिइन्। आज उसैले यो हलमा कार्यक्रम गरेर सम्मान गर्दा निकै भावुक भएकी छु। मैले अभिनय गर्दा जोकर्नी भनेर हेपिन्थ्यो। तर यहि क्षेत्रबाट यो उच्च सम्मान पाउँदा अन्य विभिन्न सम्मान भन्दा निकै महत्त्वपूर्ण सम्मान पाएको महसुस गरेकी छु। मिथिलाले कस्तो सम्मान गर्‍यो भने सम्मानपूर्वक योसँगको रकम पनि खुलाएको छैन। म गुरु भेटी सम्झेर आज दिइएको खाम नखोली राख्छु’, भुसालले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad