अहान पाण्डे र अनीत पड्डाको मुख्य भूमिका रहेको फिल्म ‘सैयारा’ शुक्रबारदेखि विश्वभर रिलिज हुँदै छ। रिलिजअगावै राम्रो प्रतिक्रिया पाइरहेको यस फिल्मको अग्रिम बुकिङ आक्रामक देखिएको छ।
पहिलो दिन यो फिल्म भारतभर २७ सय बढी स्क्रिनमा लाग्दै छ। स्याननिल्कका अनुसार ‘सैयारा’ ले शुक्रबारका लागि अग्रिम बुकिङबाट मात्रै ४ करोड ४१ लाख भारतीय रुपैयाँ कमाइसकेको छ। यस फिल्मका ५० हजार बढी टिकटहरु बिक्री भइसकेका छन्।
बलिउड ब्यापार विश्लेषक तरण आदर्शका अनुसार हलहरूले मध्यरातको लागि पनि शो तालिका प्रकाशन गरेका छन्। साथै उनले एड्भान्स बुकिङ हेर्दा यस फिल्मको क्रेज र मागलाई अभूतपूर्व भनेका छन्।
अग्रिम बुकिङको तथ्याङ्क हेर्दा पनि यस फिल्मले दोहोरो अंक अर्थात् १० करोड भारुभन्दा ओपनिङ गर्ने अनुमान गरिएको छ।
यशराज फिल्म्सको ब्यानरमा बनेको यस फिल्मलाई मोहित सुरीले निर्देशन गरेका हुन्। प्रेमकथा फिल्मबाट चर्चामा आएका सुरी पछिल्लो फिल्म ‘एक भिलेन रिटन्र्स’ थियो। उनले निर्देशन गरेका ‘आशिकी २’, ‘आवारापन’ र ‘एक भिलेन’ हिट फिल्म हुन्।
सामाजिक सञ्जालमा राम्रो फलोइङ भएका अहानले यसै फिल्मबाट डेब्यु गर्दैछन्। अनितले काजोलसँग वेब सिरिज ‘बिग गल्र्स डोन्ट क्राइ’ र फिल्म ‘सलमा भेन्की’ मा देखिसकेकी छिन्। यस फिल्मको टाइटल गीत र ट्रेलर हिट भइसकेको छन्।
Shares

प्रतिक्रिया