केही दिनअघि ‘माग्ने राजा’ को ‘म त सुतेर उठेको पैसामा’ गीत सार्वजनिक भएको थियो। जुन गीतले यतिखेर फिल्मको हाइप ह्वातै बढाएको छ।
यस फिल्ममा केदार घिमिरे अर्थात माग्ने बुढोलाई नयाँ स्वरुपमा देख्न सकिन्छ। निर्देशक ऋषि लामिछानेले सिनेमाको कथा गीतको फेन्टासी वरिपरि घुमेको र गीतमा देखिएको माग्नेको स्वरुप सिनेमाको केन्द्रमा रहेको बताए।
‘टिजर र लोकगीतमा हामीले केदार घिमिरेलाई पुरानो छविमा कायम राखेका थियौँ। यसले गर्दा कतिपय दर्शकलाई सिनेमा पुरानै ढर्रामा त छैन भन्ने शंका लागेको थियो,’ निर्देशक लामिछानेले भने, ‘यो गीतसँगै हामी सिनेमाको मुद्दामा प्रवेश गरेका छौँ। दर्शकले केदार घिमिरेलाई बिल्कुलै नयाँ अवतारमा देख्न सक्नुहुनेछ।’
यद्यपि, निर्देशक लामिछानेले सिनेमाले कमेडी शैलीलाई भने नछाडेको बताए।
निर्माता मुनाल घिमिरेका अनुसार सिनेमाले हाँसोसँगै समसामयिक मुद्दालाई पनि कथ्यमा समेट्ने प्रयास गरेको बताए। घिमिरे भन्छन्, ‘हाँसो भन्दैमा यसमा सस्ता जोक छैनन्। सिनेमामा हामीले हँसाउँदा हसाउँदै देशको समस्या र नागरिकको रुपमा समस्याको निदान पनि सुझाएका छौँ । सिनेमाको प्रदर्शनपछि यसले नयाँ बहसको सिर्जना गर्छ भन्ने कुरामा विश्वस्त छौँ।’
निर्माण घोषणासँगै चर्चामा रहेको सिनेमा ‘माग्ने राजा’को प्रदर्शनको दिन नजिकिँदै जाँदा प्रचार सामाग्री आक्रामक छ। पोस्टर रिलिज गरेर आक्रामक प्रचारमा उत्रिएको सिनेमाले अहिलेसम्म दुई गीत र टिजर सार्वजनिक गरिसकेको छ। जसमध्ये हालै सार्वजनिक भएको गीत ‘म त सुतेर उठेको पैसामा’ले दर्शकको राम्रो साथ पाइरहेको छ।
पैसालाई केन्द्रमा राखेर बनेको गीतको मेलोडी र शब्दले दर्शकको ध्यान तानेको छ। यसै कारण अहिले गीत टिकटकमा पनि भाइरल बनेको छ। गीत सार्वजनिक भएको ६ दिनमात्रै भएको छ। सिनेमाको टिजरले हालसम्म १२ लाख हाराहारी माया पाइसकेको छ। ‘म त सुतेर उठेको पैसामा’ले छोटो समयमै २१ लाख भ्युज प्राप्त गरेर सिनेमालाई दर्शकमाझ थप प्रतीक्षित बनाएको छ ।
यस फिल्ममा केदारसहित विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल आदि कलाकारको अभिनय रहेको छ। नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमालाई सामीप्य राज तिमल्सेनाले लेखेका हुन् ।
ऋषि लामिछानेको निर्देशन रहेको फिल्मको निर्माता मुनाल घिमिरे हुन्। यो फिल्म भदौ ६ मा प्रदर्शनमा आउँदैछ।
Shares

प्रतिक्रिया