कला


प्रिमियर शोमा रूचाइयो नीता ढुंगाना अभिनीत फिल्म ‘रियाल रिङ्गेट’

प्रिमियर शोमा रूचाइयो नीता ढुंगाना अभिनीत फिल्म  ‘रियाल रिङ्गेट’

नेपालखबर
साउन १५, २०८२ बिहिबार १४:३९, काठमाडौँ

भोलिबाट प्रदर्शन हुने फिल्म ‘रियाल रिङ्गेट’ को प्रिमियर शो गरिएको छ। काठमाडौँमा आयोजित प्रिमियर शोमा फिल्म टिमसहित कलाकारलगायतको बाक्लो उपस्थिति थियो।

प्रिमियरमा उपस्थित धेरैले चलचित्र हेरेपछि आफू भावुक भएको प्रतिक्रिया दिए। प्रवासी नेपालीहरूको जीवनका पीडादायी पानाहरूलाई पर्दामा ल्याउने ‘रियाल रिङ्गेट’ केवल एउटा चलचित्र नभई लाखौँ नेपालीहरूको अन्तर्मनको कथा रहेको दर्शकले बताए।

चलचित्रले इराकमा बन्धक बनाई हत्या गरिएका १२ नेपालीको घटना सम्झाउने गरी यथार्थपरक र सशक्त दृश्यहरू पस्किएको दर्शकहरूले बताए।

यस फिल्मले नेपाली समाजको एउटा गम्भीर यथार्थको रूपमा रहेको रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको पीडा र सङ्घर्षलाई पर्दामा प्रस्तुत गरेको छ। चलचित्रको नाममै कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ तथा मलेसियाको ‘रिङ्गेट’ समेटेर त्यसको साङ्केतिकता बलियो रूपमा दर्साइएको छ।

निर्देशक विभोर पोखरेलले आफ्नो निर्देशनमार्फत यो संवेदनशील विषयवस्तुलाई जीवन्त बनाएका छन् भने निर्माता गगनलाल प्रधानको निर्माणमा चलचित्रले प्रवासी श्रमिकहरूको कथालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरेको छ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ चलचित्र हेरेपछि अत्यन्त भावुक बने। उनले भने, ‘यो चलचित्र हेर्दा देश दुख्ने रहेछ। इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकहरूलाई देखाउन सकेको थिइन। ‘रियाल रिङ्गेट’ हेर्दा त्यो दिन सम्झिएँ। राज्यले जाने ढोका मात्र खोल्ने होइन, फर्कने ढोका पनि खोल्नुपर्छ, देशमै फर्किने वातावरण बनाउनुपर्छ, नत्र लाखौँ नेपाली अझै पनि विदेश जान बाध्य भइरहनेछन् र फर्किने छैनन्।’

गायक प्रेमराजा महतले चलचित्रको सबै कुरा उत्कृष्ट लागेको प्रतिक्रिया दिए। उनले भने, ‘धेरैपछि यसरी कुनै नेपाली चलचित्र हेरेँ। चलचित्रको कथा, अभिनय, सङ्गीत सबै उत्कृष्ट छन्। राजनीतिज्ञहरूले पनि यो चलचित्र हेर्नुपर्छ, यसले देशको वास्तविक अवस्था बुझ्न सहयोग पुर्‍याउँछ।’

गगनलाल प्रधानको निर्माण रहेको यस फिल्ममा प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा छन्। छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको अभिनय छ। फिल्मको लेखन प्रदीप भारद्वाजले गरेका हुन्।

यसैबिच, चलचित्रको अग्रिम टिकट बुकिङ पनि सुरु भइसकेको छ। देशभर चलचित्रले देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमा, आइएनआइ सिनेमा सहितका हलहरूमा एक सय हाराहारीमा शो दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad