नेपाली समाजको समसामयिक र संवेदनशील विषयवस्तु उठान गरेको चलचित्र ‘रियाल रिङ्गेट’ आजदेखि प्रदर्शन भएको छ। विदेशी फिल्म ‘सैयारा’को दबदबाबीच तीन सातापछि हलमा नेपाली फिल्म लागेको हो।
असार २७ मा ‘यो मन त मेरो नेपाली हो’ रिलिज भएको थियो। त्यसयता भने हलमा नेपाली फिल्म रिलिज भएका थिएनन्।
यस फिल्ममा प्रवासी नेपाली श्रमिकहरूको संघर्ष, पीडा र यथार्थ कथा छ। देशभर १ सय हाराहारीमा शो प्राप्त गरेको छ। प्रिमियरमा दर्शकहरूले चलचित्रको कथा, अभिनय, संगीत र विशेष गरी सामाजिक सन्देशको खुलेर प्रशंसा गरेका थिए।
यस चलचित्रले खाडी मुलुकहरूमा रोजगारीको सिलसिलामा गएका नेपालीहरूको जीवन भोगाइलाई पर्दामा उतारेको छ। ‘रियाल रिङ्गेट’को शीर्षकमै कतार, साउदी अरेबिया र मलेसियाको मुद्रा समेटेर प्रवासी जीवनको साङ्केतिकता झल्काइएको छ।
यस फिल्मको मुख्य भूमिकामा प्रमोद चौलागाईं र निता ढुङ्गाना छन्। छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको पनि अभिनय छ।
रेबेल फिल्मसको ब्यानरमा गगनलाल प्रधानले निर्माण गरेको तथा विभोर पोखरेलले निर्देशन गरेको यस चलचित्रका लेखक प्रदीप भारद्वाज हुन्।
छायांकन भारत, चितवन, काठमाडौँ र लेटाङमा गरिएको हो।
Shares

प्रतिक्रिया