कला


लोककवि अलिमियाँको योगदानको चर्चा, केही गीत रेकर्डिङ गराइने

लोककवि अलिमियाँको योगदानको चर्चा, केही गीत रेकर्डिङ गराइने

नेपालखबर
साउन १९, २०८२ सोमबार १६:४९, काठमाडौँ

लोककवि अलिमियाँका केही गीतहरू स्थापित गायकगायिकाको स्वरमा रेकर्डिङ गरिने भएको छ। अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान, पोखराको अगुवाई र लोकगायिका लोचन भट्टराईको सक्रियतामा वर्ष दिनभित्र गीत रेकर्ड गरिने भएको हो।

लोककविको १९ औं स्मृति दिवसका अबसरमा ‘कन्सेप्ट नेपाल’ले काठमाडौंमा आइतबार आयोजना गरेको ‘सम्झनामा लोककवि’ कार्यक्रममा उक्त जानकारी गराइएको हो।

कार्यक्रमकी प्रमुख अतिथि भट्टराईको प्रस्तावमा प्रतिष्ठान गीत रेकर्ड गराउन अग्रसर भएको हो। 

‘मैले अलिमियाँ बुबाबाट आशीर्वाद पाएकी छु। दुःखको कुरा उहाँ जिवितै छँदा उहाँका कुनै गीत गाउन पाइएन’, उनले भनिन्, ‘अब हामी सबै मिलेर उहाँका गीत रेकर्ड गर्नेछौँ।’

स्मरणीय छ, पोखरा मियाँपाटनमा वि.संं. १९७५ फागुन १५ गते जन्मिएका लोककवि अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसङ्गीतमा लागेर रनवन घन्काउँदै हिँडेका थिए। उनका गीति किताबहरू पनि प्रकाशित छन्।

 

नेपाली लोकसाहित्य उन्नयनमा जीवन समर्पित गरेका लोककवि धार्मिक सहिष्णुताका प्रतिमूर्ति थिए। उनी मानवतावादी कवि थिए। उनको २०६३ साउन १८ मा निधन भएको थियो। त्यसपछि उनकै सुपुत्र हनिफ मियाँको अध्यक्षतामा अलिमियाँ लोकवाङ्मय प्रतिष्ठान गठन गरिएको थियो। यसले लोककविको योगदानलाई संसारभर फैलाउन, चिरस्थायी बनाउन र लोकसाहित्य साधकको सम्मान गर्ने काम गर्दै आएको छ। 

स्मृति दिवसमा प्रतिष्ठानका अध्यक्ष मियाँले पिता लोककविका गीति कविता गाउनुका साथै रोचक सन्दर्भहरू सुनाएका थिए।

त्यसैगरी सुदूरपश्चिमका सांस्कृतिक अभियन्ता हेमन्त विवशले लोककविको गीत गाएर सुनाएका थिए भने कवि एवम् पत्रकार भोजराज न्यौपानेले पोखरा बसाइमा लोककविसँग सँगालेका अनुभूति बाँडेका थिए।

कार्यक्रममा कवि एवम् अङ्ग्रेजी विषयका प्राध्यापक केशव सिग्देलले लोककविका सिर्जनाहरू अन्तर्राष्ट्रियकरण गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए। 

भुइँमान्छेका आवाज उठाउँदै आएका लोककविको सम्झना गरिएको कार्यव्रmम संयोजक एवम् पत्रकार अमृत भादगाउँलेले बताए। उनी लोककवि अलिमियिाँका जीवनीकार पनि हुन्। उनले वि.सं. २०५८ मा ‘लोककवि अलिमियाँ’ शीर्षक पुस्तक लेखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad