आउँदो शनिबार अर्थात साउन ३१ गते (१६ अगस्त) अमेरिकाको भर्जिनीयामा फिल्म ‘सतीदेवी’ विशेष प्रदर्शनी हुने भएको छ। महिलाहरुको महान् पर्व तीजको अबसर पारेर नारीहरूको सम्मानमा ‘सतीदेवी’ को विशेष शो गर्न लागिएको जानकारी आयोजक पुष्कर पन्तले दिए।
लामो समयदेखि अमेरिका बसोबास गर्दै आए तापनि नेपाली चलचित्र निर्माण,कलाकारिता तथा समाजसेवामा समेत उत्तिकै सक्रिय पुष्कर पन्तले राष्ट्रियलगायत थुप्रै अवार्ड विजेता चर्चित फिल्म भएकाले आफूहरुले विशेष शो गर्न लागेको बताए।
‘सतीदेवीको धेरै चर्चा सुनेको र यसप्रकारका मौलिक अनि पारिवारिक चलचित्र अझै बन्नु र धेरैभन्दा धेरैले हेर्नुपर्छ भन्ने मान्यता स्वरुप बिशेष शो गर्ने निर्णय गरेका हौ। हामी जो जहाँ रहे तापनि नेपाली कला,संस्कृति,मौलिकता र आफ्नोपन बचाइराख्नका लागि हरेकले आफ्नो तर्फबाट केही न पहलकदमी लिनैपर्छ। सोही अन्तर्गत चर्चित फिल्म शो गर्न लागेका हौँ,’उनले भने।
चलचित्र बिकास बोेर्डद्वारा आयोजीत राष्ट्रिय चलचित्र अवार्ड–०८० मा विशेष चलचित्र पुरस्कार जित्न सफल नारी प्रधान चलचित्र ‘सतीदेवी’ ले अहिलेसम्म राष्ट्रियसहित एक दर्जन उत्कृष्ट अवार्डहरु जितिसकेको छ। यो फिल्म लक्ष्मण सुवेदीको लेखन,निर्माण र निर्देशनमा बनेको हो।
यस फिल्ममा मलिका महत,रमेश बुढाथोकी,सन्दिपबाबु लोहनी,कुलबहादुर अधिकारी,सृजना अधिकारी,बालकलाकार हर्षिका वली र मञ्जिला बानीयाँलगायतको अभिनय छ।
गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नीयासँगको सहकार्यमा दिलासा कृएसनको प्रस्तुति रहेको चलचित्रको निर्मातामा दिलासा,सारा,श्रीदेवी र बिशाल सुवेदी छन्।
निर्देशक सुवेदीले ‘सतीदेवी’ को भर्जिनीयापछि अन्य स्टेटहरुमा पनि विशेष शो हुन लागेको जानकारी दिए।
Shares

प्रतिक्रिया