फिल्म ‘जेरी अन टप’ निर्माण टिम गीत छायांकनको लागि भारतको जयपुर पुगेको छ। निर्माता, निर्देशक र कलाकारसहितको टिम यतिबेला राजस्थानमा गीत सुटिङमा व्यस्त छन्।
निर्माता सरोज न्यौपाने, निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मासहितको टिम भारत पुगेको हो। कथाको माग अनुसार आवश्यक दृश्य छायांकनको लागि जयपुर पुगेको निर्माता न्यौपानेले बताए।
सार्वजनिक पोस्टरमा अनमोल र आँचल रोमान्टिक अवतारमा देखिन्छन्। एउटा गीतको छायांकन सकेर शनिबार नेपाल फर्किनेछ। अनन्या फिल्मस् प्रालीको ब्यानरमा तयार यो फिल्मको केहि हप्ता पहिले पोस्टर सार्वजनिकसँगै निर्माण टिम प्रचारमा जुटिसकेको छ।
फिल्ममा अनमोल र आँचलसँगै जसिता गुरुङ, चर्चीत हाँस्य अभिनेता केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, सुरक्षा पन्त र उषा खड्कीको अभिनय छ।
फिल्म निर्माणमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले न्यौपानेसँग लगानिमा साझेदारी गरेका छन्। हेमराज बिसीको कथा रहेको फिल्मको विस्वास तिम्सिनाको पटकथा छ। कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन्।
हङकङको एलजी एसोसिएट्सले यो फिल्मको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ भने नेपालमा रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन्।
यो फिल्म तिहारको अवसरमा आगामी असोज ३१ गतेबाट रिलिज हुनेछ।
Shares

प्रतिक्रिया