कला


संसारले हेरेको ‘पूर्णबहादुरको सारङ्गी’ विजय बरालकी आमाले यसकारण हेरिनन् (भिडिओ)

हिट भएपछि दयाहाङले दिए सल्लाह

अनिल यादव
साउन ३० , काठमाडौँ

‘कहिले असफलताका गल्लीहरूमा 
बेरोजगारीले पिसिन्छौ
कहिले सहरको चिसो भुइँमा
एक्लोपनले बेस्सरी अँठ्याउँदा 
बियरको भिटामिन बनेर मिसिन्छौ

लाखे मार्गमा मेरै निरीह पैतालामा घिस्रिने
थिएटरका खस्रा पर्खालमा 

मेरै निर्बल हत्केलामा उभिने
तिमी हिरो हैनौ विजय।’

कवि देवव्रतले अभिनेता विजय बरालमाथि ‘तिमी हिरो हैनौ विजय’ शीर्षकमा लेखेको कविताको अंश हो यो। नेपालखबर सो ‘लेट्स टक’मा गफिन आइपुगेका बराललाई पहिलोपटक उनीमाथि लेखिएको कविता वाचन गरेर सुनाउँदा उनी निकै भावुक भए। भने, ‘म दुई पटक त रोएँ नै। यो मेरा लागि ठूलो सरप्राइज भयो।’

अहिलेसम्मकै सबैभन्दा बढी कमाउने नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को प्रमुख अभिनेता हुन्, विजय। यो सिनेमा ब्लकबस्टर हिट भएपछि यसअघि सहायक पात्रका रूपमा नेपाली सिनेमामा देखिँदै आएका उनको करिअरको लय नै फेरिएको छ। लिड रोलमा उनलाई अफर गर्नेहरूको लाइन छ, एक वर्षसम्म त ‘प्याक्ड’ नै भइसके। 

यद्यपि, विजय आफूलाई कहिल्यै ‘हिरो’ मान्दैनन्। उनी भन्छन्, ‘बरु म घरको आमा–बुबा, श्रीमती, छोराका लागि हिरो हुँला तर बाहिर म समाजको चरित्र हुुँ।’ 

यो फिल्म विश्वभरका नेपाली दर्शकले हेर्‍यो। बक्सअफिसमा अनेक रेकर्ड तोड्यो। दर्शकहरू हलबाट रुँदैरुँदै बाहिर निस्किए। तर, धेरैलाई थाहा नहुनसक्छ, विजयकी आफ्नै आमाले फिल्म हेर्न मानिनन्। 

‘सबैले रोएको भन्नुभयो। विजय त त्यहाँ मर्छ रे भन्ने भयो,’ विजयले भने, ‘पात्र मर्नु, छोरा मर्नु उस्तै हुँदो रहेछ एउटा परिवारको लागि। आमाको लागि पर्दामा छोरा मरेको दृश्य हेर्नु असह्य थियो। तर, बुबाले चलचित्र हेर्नुभयो। धेरै प्रतिक्रिया दिनुभएन, मात्र ठिक छु भन्नुभयो।’

नेपाली सिनेमाको इतिहासमा सबैभन्दा बढी कमाउने फिल्मको प्रमुख अभिनेता हुनु कस्तो अनुभव हो? सायद यो प्रश्नको सबैभन्दा गहिरो र भावुक उत्तर अभिनेता बरालसँगै छ। तर, यो सफलताले उनलाई उचाइ मात्र दिएन, सँगसँगै चुनौती र जिम्मेवारीको भारी पनि बोकाएको छ। 

‘कतिले ‘पूर्णबहादुरको सारङ्गी’मा कागतालीमा चल्यो भनेर टिप्पणी पनि गरे। तर, मेरो भन्नु केही छैन। बरु खुसी नै छु, कम्तीमा त्यति त चर्चा भयो मेरो,’ उनी मुस्कुराउँदै भन्छन्। 

यही सफलताको पृष्ठभूमिमा उनको नयाँ फिल्म रिलिज हुँदैछ ‘जनै हराएको मान्छे’। 

‘अब पूर्णबहादुरको सारङ्गी र विजय बराल पर्यायवाची जस्तै भइदियो। दर्शकमा एउटा छाप नै परिसकेछ। त्यसैले यो छविलाई परिवर्तन गर्नु मेरो लागि एउटा चुनौती हो,’ उनले महसुस गरेका छन्। 

‘जनै हराएको मान्छे’लाई गुमेको आत्मा, बिर्सिएको सम्बन्ध र टुटेका धागाहरूलाई जोड्ने कथा भनिएको छ। फिल्मका केही धागाहरू विजयको आफ्नै जिन्दगीसँग पनि मिल्न सक्छ। कारण, संघर्षका दिनहरूमा काठमाडौँमा नाटक सिक्दा र अभिनयमा स्थापित हुन खोज्दा उनका कैयौँ सम्बन्धहरू टुटेका थिए। 

‘नाटक सुरु गर्दाको त्यो सुरुवाती पाँच वर्षको अवधिमा मेरो परिवारसँगको धेरै सम्बन्ध टुट्यो। खासमा मान्छे आफ्नो सपनाको पछि दौडिँदा धेरै सम्बन्ध छुट्दा रहेछन्,’ यो विजयको अनुभव हो।  

हामीले विजयलाई सोध्यौँ– ‘जनै हराएको मान्छे’ नाम नै गहिरो छ— तपाईंले कहिल्यै आफ्नो जीवनमा केही यस्तै अमूल्य कुरा हराएको महसुस गर्नुभएको छ?’

जवाफमा उनले आफ्नो स्वर्गीय हजुरआमालाई सम्झिए। 

‘त्यतिबेला मेरो जीवनको एकदम विशेष धागो चुँडिएको जस्तो महसुस भएको थियो। नातिको यत्रो सफलता उहाँले हेर्न पाउनुभएन,’ नोस्टाल्जिक हुँदै उनले भने। 

सफलताको स्वाद चाखिसकेपछि पनि विजयले आफूभित्रको ‘संघर्षरत विजय’लाई भुलेका छैनन्। आफूसँगै थिएटरमा संघर्ष गर्न थालेका तर अहिलेसम्म अवसर नपाएका पुराना साथीहरूलाई बिर्सेका छैनन्। उनीहरूका लागि केही गर्ने उनको ठूलो सपना छ। 

‘मेरो सपनासँगै अरूले पनि सपना पूरा गर्न पाऊन् भन्ने लाग्छ। मेरा ती साथीहरू हराउनै हुँदैन। उनीहरूको लागि पनि मैले केही गर्नुपर्छ भन्ने मेरो सपना हो। अब म आफ्नै लागि मात्र होइन, तिनका लागि पनि काम गर्छु। म छु,’ उनले भने। 

विजयका लागि अभिनय केवल एउटा पेसा होइन, जीवन जिउने कला पनि हो। तर कहिलेकाहीँ आफ्नै जीवनलाई ऐनामा हेर्दा त्यो नै सबैभन्दा ठूलो अभिनय जस्तो पनि लाग्छ। ‘पूर्णबहादुरको सारङ्गी’को सफलतापछिको समयलाई उनी आफ्नो जीवनको सबैभन्दा ठूलो अभिनयको क्षण मान्छन्। जहाँ उनले बाहिर हाँसेर भित्रका अनेकौँ द्वन्द्वलाई लुकाउनुपरेको थियो। 

थिएटर गर्दाको सुरुवाती दिनमा आफ्नो अभिनयमा यथार्थ ल्याउन विजयले व्यक्तिगत पीडाहरू पनि प्रयोग गर्थे। एउटा नाटकमा हजुरबालाई सम्झेर रोएका छन्। 

‘तर पछि त्यसले आफैँलाई बढी चोट दिने महसुस भएपछि पात्रभित्रै पसेर अभिनय गर्न थालेँ,’ विजयले भने। 

नेपाली सिनेमामा परम्परागत हिरोको मानक तोडेका दयाहाङ राईका ‘भाइ साथी’ हुन् विजय। ‘कबड्डी’ सिरिजमा ‘बिके’ बनेर दयाहाङको साथीको भूमिकामार्फत धेरै दर्शकमाझ चिनिएका उनी अहिले स्वयं दयाजस्तै लिड रोलमा काम पाइरहेका छन्। र, मण्डला थिएटरमा पनि सँगसँगै काम गरिरहेका उनलाई यतिखेर दयाहाङले सुझाव दिइरहेका छन्। 

‘यस्तो बेला यस्तो यस्तो अवसर, यस्तो यस्तो समस्या र यस्तो यस्तो महसुस हुन सक्छ र त्यतिबेला यसरी अघि बढ्नु भनेर सुझाव दिनुहुन्छ,’ दयाहाङका बारेमा उनले भने।

सफलताले मानिसलाई आफ्नो धरातल बिर्साउन सक्छ भन्नेमा विजय सचेत छन्। त्यसैले ‘पूर्णबहादुरको सारङ्गी’ हिट भएर चर्चाको शिखरमा हुँदा उनी नाटक खेल्न मण्डला थिएटर फर्किए। चाहेको भए महँगो रकममा फिल्म साइन गर्न सक्थे तर नाजिर हुसेनसँग मिलेर नाटक ‘हरि हजुरबा’मा काम गरे। 

‘मलाई भुइँमा पछारिनु थियो,’ उनी भन्छन्, ‘माथिबाट पछारिएर हेरौँ न त भुइँलाई अनि भनौँ– तँ पनि त्यहीँ छस्, म पनि यहीँ छु।’

हेर्नुहोस् विजय बरालसँगको ‘लेट्स टक’, जहाँ उनी आफ्नो जिन्दगी, फिल्म, करिअर, सम्बन्धबारे खुलेर पोखिएका छन्, अनि कविता वाचन गरेका छन्, गीत गाएका छन् :

साउन ३०, २०८२ शुक्रबार २०:३१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad