अभिनेत्री निरुता सिंह नेपाल आएकी छिन्। उनी फिल्म ‘३६ को आँकडा’मा अभिनय गर्नका लागि नेपाल आएकी हुन्। मुम्बइबाट आइतबार राति नेपाल आएकी निरुताले पत्रकारहरूसँग कुरा गर्दै नेपाल आउँदा आफू अत्यन्तै उत्साहित रहेको बताइन्।
‘अब म कही पनि जादिनँ म निरन्तर नेपाली फिल्ममै काम गर्छु। बिचमा मलाई कोरोना भयो। त्यसकारण, मैले फिल्ममा काम गर्न पाइनँ। अब भने म कही पनि जान्नँ,’ निरुताले भनिन्।
निरुताले आफू नेपाली फिल्म भन्दा टाढा बस्न नसक्ने स्पष्ट पारिन्। बिचमा केही फिल्मबाट अफर आएपनि विभिन्न कुराहरू नमिलेर काम गर्न नपाएकाे उनकाे भनाइ थियाे।
सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको यस फिल्ममा निरुताको भूमिका के हो भन्ने खुलेको छैन। निर्देशक श्रेष्ठले पनि निरुताको भूमिका अहिले नै खुलाउन नमिल्ने सुनाए।
निरुतालाई फिल्ममा लिनुको कारणबारे श्रेष्ठ भन्छन्, ‘मैले सहायक निर्देशकको रुपमा निरुता दिदीसँग केही फिल्ममा काम गरेको थिएँ। तर, निर्देशक भएपछि काम गर्न पाएको थिइनँ। कुनै कुनै भूमिकामा विशेष कोही कलाकारको मात्र आवश्यकता पर्ने रहेछ। यो फिल्ममा पनि निरुता दिदी नै चाहिने भूमिका छ। यसैले, उहाँलाई हामीले आग्रह गरेका हौँ।’
यस फिल्ममा रेखा थापा, पूजा शर्मा, महेश त्रिपाठी, पुष्प खड्का लगायतका कलाकारको पनि अभिनय छ। अभिनेत्री रेखा थापा र निरुताले सन् २००५ मा रिलिज भएको फिल्म ‘दुई पल’ पछि एकसाथ पर्दा सेयर गरेका छैनन्। अब भने यी दुई स्टार अभिनेत्रीले एकसाथ काम गर्नेछन्।
अभिनेत्री सिंहले फिल्म ‘दाल भात तरकारी’पछि नयाँ फिल्ममा काम गरेकी छैनन्। अब भने उनी आजबाट छायांकनमा जान लागेको फिल्म ‘३६ को आँकडा’मा काम गर्न तयारी भएकी छिन्।
Shares

प्रतिक्रिया