अभिनेत्री स्वस्तिमा खड्काको फिल्मी करिअरको यात्राले एक दशक पूरा भएको छ। १० वर्ष पूरा भएको अवसरमा स्वस्तिमाले मंगलबार एक भावुक स्टाट्स लेखेकी छिन्। जहाँ उनले सुरूवाती दिनदेखि हालसम्मको यात्राको अनुभव सेयर गरेकी छिन्।
आफ्नो यात्रा किशोर अवस्थामा पुगेको बताउँदै अहिलेसम्म पछाडि फर्केर हेर्नु नपरेको र दशकको यात्रालाई नियाल्दा आनन्द लागेको उनको भनाइ छ।
‘म प्रायः पछाडि फर्किएर जीवनलाई हेर्दिनँ। यसले कहिलेकाहीँ मानिसलाई विचलित बनाउँछ। ओहो! यति धेरै गरिसकें भन्ने भावले अहंकारी बनाउँछ। हत्तेरी! केही गर्नै सकिनँ भन्ने अनुभूतिले वैराग्यको बाटोमा हिडाउँछ। म अहंकारी र वैरागी दुवै हुन चाहन्नँ,’उनले लेखेकी छिन्, ‘त्यसैले यतिका वर्ष म पैतालाका छाप नहेरी अघिअघि हिँडिरहें। तर, पर्दाको जीवनले १० वर्षको खुड्किलो उक्लिएपछि मलाई एकपटक टक्क अडिएर पछाडि फर्किन मन लाग्यो। फर्किएर हेर्दा मलाई आनन्द लाग्यो।’
यी १० वर्षमा सिकेका कुरा, भेटेका मान्छे र भोगेका क्षणले दसौं वर्षलाई डोर्याउने सुनाउँछिन् उनी। उनी लेख्छिन्,‘केही नसिकी, केही नपढी म सिनेमामा आएकी थिएँ। काम र अग्रजहरूको मार्गदर्शनले मलाई सिनेमाको कखरा सिकायो। म अहिले सिनेमाको वर्णमाला सिक्दै छु। यो ज्ञानले मलाई अब आउने अनेकौं दशकमा परिपक्व बनाउँदै लैजानेछ। यो यात्रा सम्झेर म रोमाञ्चित भइरहन्छु।’
उनले यो यात्रामा साथ दिने, अवसर दिने, अस्वीकार गर्ने र लड्दा उठाउने सबैप्रति कृतज्ञता समेत व्यक्त गरेकी छन्। आफ्नो सपनाको अंश बन्न सघाउने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि दर्शकको माया पाउने अपेक्षासहित उनले लेखेकी छन्, ‘म प्रेमले सधैं यसैगरी भिजिरहन पाऊँ। मलाई स्वीकार्नुभएकोमा धन्यवाद !’
स्वस्तिमाले ‘होस्टेल रिटर्न्स’ बाट फिल्मक्षेत्रमा डेब्यु गरेकी थिइन्। सन् २०१५ मा रिलिज भएको यस फिल्मले निकै चर्चा पाएको थियो। त्यसपछि उनी छक्का पञ्जा २, बुलबुल, पशुपति प्रसाद:भस्मे डन, ऐचौं पैचौं, दिमाग खराब, बसन्त लगायतका फिल्ममा काम गरिसकेकी छिन्। राष्ट्रिय चलचित्र पुरस्कार समेत जितिसकेकी उनको आगामी फिल्म ‘हरिबहादुरको जुत्ता’ फूलपातीमा रिलिज हुँदैछ।
Shares

प्रतिक्रिया