अक्षय कुमार र अरशद वारसी अभिनित बलिउड फिल्म ‘जोली एलएलबी ३’ यतिखेर चर्चामा छ। यस कोर्टरूम ड्रामा फिल्मको टिजर हेरेपछि फ्यानहरूमा उत्साह बढेको छ। तर, रिलिज हुनुअगावै यो फिल्म कानुनी समस्यामा फसेको छ।
केहीदिनअघि ‘जोली एलएलबी ३’ टिजर सार्वजनिक गरिएको थियो। टिजरमा अक्षय कुमार र अरशद वारसीसँगै फिल्ममा न्यायाधीश सुन्दर लाल त्रिपाठीको भूमिका निर्वाह गर्ने अभिनेता सौरभ शुक्लाको झलक देखिएको छ।
टिजरमा देखाइएको एक दृश्यमा अरशद र अक्षयले न्यायाधीश साहेब मामुलाई बोलाएको देखिन्छ। पुणे अदालतमा वाजेद खान र गणेश मास्खेले यस विषयमा अदालतमा निवेदन दिएका छन्।
‘फिल्ममा ‘जोली एलएलबी ३’ का निर्माताहरूले कानुनी पेसालाई हास्यास्पद तरिकाले प्रस्तुत गरेका छन्। साथै, अदालतको गरिमालाई गलत तरिकाले प्रस्तुत गरिएको छ। भीडभाड भएको अदालतमा वकिलले कसरी न्यायाधीशलाई मामु भन्न सक्छ? वकालत कानुनी क्षेत्रमा ठूलो पेसा हो? यसरी यसको गरिमाको मजाक उडाउनु अनुपयुक्त छ। अवश्य पनि यो एक काल्पनिक फिल्म हो, तर न्याय प्रणालीको सम्पूर्ण अपमान देखिन्छ।’
यस निवेदनको लागि ‘जोली एलएलबी ३’ का कलाकार र निर्माताहरूलाई पनि निवेदन पठाइएको छ। साथै, मुद्दाको सुनुवाइको मिति अगस्ट २८ तारिख तोकिएको छ। निर्माताहरूलाई उपस्थित हुन आदेश दिइएको छ।
सुभाष कपुर निर्देशित यो फिल्म आउँदो १९ सेप्टेम्बरमा रिलिज हुँदैछ। यो फिल्म ‘जोली एलएलबी’ फ्रेन्चाइजको तेस्रो भाग हो। पहिलो भाग सन् २०१३ र दोस्रो भाग २०१७ मा रिलिज भएको थियो।
Shares

प्रतिक्रिया