सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म ‘धागो’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आउँदो कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुनेछ।
शुक्रवार पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले प्रदर्शन मिति तोकेको हो। फिल्मले परिवार, सिमाना र नटुट्ने सम्बन्धको कथा प्रस्तुत गर्ने सन्देश दिएको छ।
उदिप राणा थापाले निर्देशन गरेका हुन्। डुवर्सको चिया बगानमा जन्मे-हुर्केका उदिपसँग १८ वर्षसम्म बलिउडमा जी–फाइभ, टेलिभिजन च्यानल र ठूला प्रोडक्सन हाउसहरूमा क्रिएटिभ हेड, निर्देशक र प्रोड्युसरको रूपमा काम गरेको अनुभव छ। यद्यपि फिचर चलचित्रको रूपमा भने ‘धागो’ पहिलो हो।
उदिपले ‘धागो’ आफ्ना मान्छेहरूको कथा रहेको बताए। उनले भने, ‘मेरो सफलताको श्रेय मेरा आमाबुवाको त्याग र डुवर्सका जनताको आशीर्वादलाई जान्छ। ‘धागो’ मेरो माटो र मेरो मान्छेहरूको कथा हो। यसमार्फत मैले हाम्रो समाजका अनगिन्ती धागोहरूलाई जोड्ने प्रयास गरेको छु।’
यस फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ। फिल्ममा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन्।
बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। विशेष आकर्षणका रूपमा अभिनेत्री वर्षा राउतले केमियो भूमिका निर्वाह गरेकी छन्।
चलचित्रका छायाङ्कन निर्देशक बलिउडका अनिकेर एम. घोघले हुन्। ‘धागो’ चलचित्रलाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो। फिल्मको निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन्।
‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने यस चलचित्रले सीमामा बाँधिएका नेपालीहरूको जीवन र भावनात्मक धागोलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
Shares

प्रतिक्रिया