काठमाडौँको व्यस्त रत्नपार्कको एक कुनामा, रातिको सन्नाटामा, एक युवती गुमनाम भीडमा मिसिन्छिन्। उनको उद्देश्य भीडको हिस्सा बन्नु मात्र थिएन, बरु त्यहाँको वास्तविकतालाई आत्मसात् गर्नु थियो। उनी एक पात्रको गहिराइमा डुब्न चाहन्थिन्, जसलाई समाजले अक्सर फरक नजरले हेर्छ।
यो कुनै वास्तविक जीवनको घटना होइन, अभिनेत्री सुरक्षा पन्तले अघिल्लो वर्ष रिलिज भएको ‘जुलेबी’ फिल्मका लागि गरेकोे तयारी थियो। फिल्ममा उनी रत्नपार्कमा उभिने यौनकर्मीको भूमिका निर्वाह गर्दै थिइन्। उनले करिब १० दिनसम्म राति–राति रत्नापार्कमा समय बिताइन्। ती पात्रहरूको हाउभाउ, उनीहरूको मनोविज्ञान र जीवनशैली बुझ्नका लागि उनीहरूसँग कुराकानी गरिन्।
सुटिङका क्रममा नमिठो र रोचक अनुभव पनि भोगिन्। प्रहरीको सहयोग लिएर क्यामेरा लुकाएर गुरिल्ला शैलीमा फिल्मको छायांकन भइरहेको थियो। त्यहीकारण कतिपयले सडकमा हिँडिरहेका कतिपयले फिल्मी भूमिका निर्वाह गरिरहेकी सुरक्षालाई यथार्थमै यौनकर्मी ठाने।
‘बाटोमा हिँड्नेले रियल यौनकर्मी ठानेर ‘जाने हो’ भन्थे,’ नेपालखबर सो ‘लेट्स टक’मा आइपुगेकी सुरक्षा सुटिङको त्यो अनुभव कहिल्यै बिर्सिन्नन्।
सुरक्षाको अभिनयप्रतिको समर्पण ‘आमा’ फिल्ममा कपाल मुन्डन गर्न तयार हुनुबाट पनि छर्लङ्ग भएकै हो।
‘अभिनय गर्ने बेलामा कहिलेकाहीँ आफ्नो मानसिक शान्तिलाई त्याग गर्नुपर्छ,’ उनी दार्शनिक जवाफ दिँदै भन्छिन्, ‘संवेदनशील भावनालाई कोट्याउँछ अभिनयले। इमोसनल्ली हान्छ कता कता। मेन्टल्ली डिस्टर्ब गर्न खोज्छ। अभिनय नै गर्नुपर्छ भन्ने हुन्छ।’

बिहीबारबाट सुरक्षा अभिनित नयाँ फिल्म रिलिज भएको छ– कोशेढुंगा। थाहा छैन, यो फिल्म उनको करिअरको कोशेढुंगा बन्छ बन्दैन। तर यसले उनको अभिनय यात्रामा नयाँ आयाम भने थपेको छ।
‘भर्सटालिटीको एंगललाई कोट्याउन यो फिल्मले सहयोग गर्छ जस्तो लाग्छ,’ उनले भनिन्, ‘‘जिन्दगी व्यर्थ छ’ बोलको गीतमा नाच्ने मौका पाएँ, नाच्ने क्षमता देखाउन पाएँ। अभिनयको दायरालाई फराकिलो बनाउन मद्दत गरेजस्तो छ।’
यो फिल्म प्रेम र वैदेशिक रोजगार कसरी एकअर्कासँग ठोक्किन्छन् भन्ने विषयमा केन्द्रित रहेको उनी बताउँछिन्।
‘फिल्मको सुटिङका क्रममा मैले प्रेमीको रोल निर्वाह गर्ने पात्रलाई खेतमा गएर कुट्नुपर्ने सिन थियो,’ सुटिङको रमाइलो क्षण सम्झिँदै उनी भन्छिन्, ‘त्यो सिन गर्दा गाउँलेहरू सबै भेला भएर हेर्न आएका थिए। उनीहरूलाई साँच्चैको झगडा परेछ कि भन्ने लागेछ। भिड लागेर हेर्न आउनुभएको थियो। पछि पो सुटिङ रहेछ भन्ने थाहा भयो।’
सुरक्षा सिभिल इन्जिनियर हुन्। उनको जीवनमा अभिनय त हिँड्दाहिँड्दै बनेको नयाँ बाटो हो। हामीले सोध्यौँ– ‘इन्जिनियरिङ पढेर अभिनयमा लागेकी सुरक्षालाई कुन बेला लाग्यो कि स्केच र डिजाइन छोडेर स्क्रिप्ट र डायलगमा रमाउँछु?’
जवाफमा उनले भनिन्, ‘पहिलो फिल्म ‘अझै पनि’मा पहिलो टेक दिँदा नै यो नै गर्छु भन्ने प्रस्टता महसुस भयो। खासमा मलाई स्कुलदेखि नै कलाप्रति झुकाव थियो, नाच्ने भन्नेबित्तिकै हुरुक्कै हुन्थेँ।’
जीवनका आरोह–अवरोहहरूमा उनले थुप्रै पाठ सिकेकी छिन्। केही समयअघि पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रबारे दिएको अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा भएको आक्रमणपछि आफूले मौनताको शक्ति बुझेको उनी बताउँछिन्।
‘सबै कुरा सिधा अर्थमा भन्न जरुरी छैन, कलाको माध्यमबाट धेरै कुरा पस्किन सक्छु,’ उनी भन्छिन्, ‘शान्त बस्नु, अनि अब्जर्ब गर्नुको पनि जीवनमा ठूलो अर्थ रहेछ भन्ने महसुस भयो। यद्यपि बोल्न मन लागेको बोल्न नसक्दा पीडा हुने रहेछ, आफ्नो व्यक्तित्व हराएजस्तो लाग्छ। कुन ठाउँमा के बोल्ने भन्ने हुन थाल्छ। उकुसमुकुस बनाउँछ, भित्रभित्रै छटपटी हुन्छ।’

अचेल उनी सामाजिक सञ्जाललाई त्यति गम्भीरतापूर्वक लिन्नन्, मनोरञ्जन र आफ्नो कुरा राख्ने माध्यमको रूपमा प्रयोग गर्छिन्।
‘सेलेब्रिटी भएपछि आलोचना हुन्छ, गाली पनि खाइन्छ भन्ने मैले बुझेँ। सिकाइका रूपमा लिएँ। बोल्ने कुरालाई सुन्दर कसरी बनाउन सक्छु भन्नेतिर सचेत हुन थालेको छु,’ पछिल्लो अनुभवबाट उनको जीवनमा आएको परिवर्तन यो पनि हो।
हामीले सुरक्षालाई सोध्यौँ– ‘तपाईंलाई सबैभन्दा अप्ठ्यारो लाग्ने प्रश्न कुन हो?’
जवाफमा उनले हाँस्दै भनिन्, ‘बच्चा कहिले पाउनुहुन्छ भन्ने प्रश्न नै हो। यसको उत्तर दिन नपरे हुन्थ्यो भन्ने लाग्छ।’
सुरक्षा ‘द एड माउन्टेन्स’ जस्तो अन्तर्राष्ट्रिय फिल्ममा काम गरेका कारण कान फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बनिन्। यसलाई उनी आफ्नो अभिनय करिअरकै टर्निङ प्वइन्ट मान्छिन्।
‘यो अनुभवले मेरो जीवनलाई एउटा फिल्मकोे टर्निङ प्वाइन्ट सिन जस्तो बनायो,’ उनले भनिन्।
सुरक्षाले जीवनमा अनेक पात्र निर्वाह गरिन्। सबै फिल्ममा कहीँ न कहीँ आफूलाई भेट्थिन्। तर, जब ‘बहाव’ गरिन् अलि विस्तृतमा आफूलाई भेटेको बताउँछिन्।

‘फिल्ममा बुबा छोरीको स्वभाव ठिक उल्टो थियो। त्यहाँ दुईको सम्बन्ध हेर्दा मलाई कताकता आफ्नै जीवनसँग मेल खाएजस्तो लाग्यो,’ उनले भनिन्।
फिल्म क्षेत्रमा प्रवेश गर्ने क्रममा सुरक्षालाई सुरुवातमा परिवारको साथ थिएन, रोक्ने प्रयास भएको समेत उनले हामीसँग खुलाएकी छन्।
सुरक्षालाई जीवनमा कुन कुरा हराउने सबैभन्दा बढी डर लाग्छ?
उनी सहजै जवाफ दिन्छिन्, ‘मभित्र भएको नैतिकता र इमानदारी फाल्दिन्छु कि भन्ने कुरामा डर लाग्छ। तर त्यस्तो भएको छैन अहिलेसम्म।’
हेर्नुहोस्, सुरक्षा पन्तसँगको ‘लेट्स टक’ जहाँ उनले आफ्नो फिल्म, करिअर, विवाद लगायत जीवनका अनेक आयामबारे खुलेर कुराकानी गरेकी छन् :
फोटो/भिडिओ : विशाल कार्की

प्रतिक्रिया