कला


‘रिमै’ गुरुङ समुदायबारे बलियो दस्तावेज हुनेछ: दयाहाङ राई

‘रिमै’ गुरुङ समुदायबारे बलियो दस्तावेज हुनेछ: दयाहाङ राई

नेपालखबर
भदौ १५, २०८२ आइतबार १४:२२, काठमाडौँ

भदौ २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रिमै’ टिम यतिवेला प्रचार प्रसारमा व्यस्त छ। यस फिल्मको मुख्य कलाकार दयाहाङ राई र रिश्मा गुरुङ यतिखेर दौडधुममा छन्। 

अभिनेता दयाहाङ राईले ‘रिमै’ नेपाली सिनेमा उद्योगका लागि एउटा दस्तावेज हुने बताए। गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि यो सिनेमा बलियो दस्तावेज हुने उनको भनाई छ।

‘अहिले त यो सिनेमा बन्यो। अब प्रदर्शन हुन्छ। धेरैका लागि यो सामान्य प्रक्रिया हो,’ उनले भने, ‘तर, यो सिनेमा भोलिका लागि एउटा बलियो दस्तावेज हुनेछ। भोलिको पुस्ताले गुरुङ समुदायको अध्ययन गर्नुपर्‍यो भने यो एउटा बलियो दस्तावेज हुनेछ।’

‘फरक भूगोलमा बस्ने गुरुङ समुदायको फरक संस्कार र संस्कृति होला। गोरखा र लमजुङमा बोलिने गुरुङ भाषा नै केही फरक छ,’ उनले भने, ‘गोरखाको माथिल्लो बेल्टमा बस्ने गुरुङ समुदायबारे बुझ्नु पर्‍यो भने यो सिनेमा एउटा गतिलो दस्तावेज हुनेछ।’

‘रिमै’को अर्थ छोरी–चेली भन्ने हो। तर, यसलाई अलि रुखो तरिकाले बुझ्दा तरुनी भन्ने पनि हो। त्यसैले गुरुङ समुदायमा कसैले केटीलाई जिस्काएर ‘रिमै’ भन्यो भने त्यो छोरी वा चेली नभएर तरुनी भन्ने हो।

यो सिनेमा की ‘रिमै’ अर्थात् अभिनेत्री रिश्मा गुरुङ आफ्नो समुदायमा छोरी सबैभन्दा केन्द्रमा हुने बताउँछिन्। ‘अरु समुदायमा बाबु वा आमाको मृत्यु हुँदा अन्तिम संस्कार गर्न छोरा चाहिन्छ, छोरी नभए पनि हुन्छ,’ रिश्मा भन्छिन्, ‘तर, हाम्रो गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ तर छोरी अनिवार्य चाहिन्छ। छोरी नभएसम्म घरबाट लास उठाउँनै मिल्दैन।

त्यसैले गुरुङ जातिमा छोराभन्दा छोरीको महत्व कति धेरै छ, त्यो ‘रिमै’मा देख्न सकिने उनले बताइन्। गुरुङ समुदायको कथामा बनेको बलियो सिनेमा भएकैले आफूले यसमा काम गरेको रिश्माले बताइन्। रिश्मा गुरुङ भाषाकै सिनेमाबाट मेनस्ट्रिममा आएकी कलाकार हुन्।

दायहाङ विस्तारै विभिन्न समुदायका कथाहरू सिनेमामा आउन थालेको बताए। विभिन्न जाति र भूगोलका कथाले नै नेपाली सिनेमालाई समृद्ध बनाउँदै जाने भन्दै उनले भने, ‘रिमैले नेपाली सिनेमामा एउटा आयाम लिएर आएको छ। किन भने यसअघि गुरुङ भाषामा त गुरुङका कथामा सिनेमा बनेका छन्। तर, नेपाली भाषामा मेनस्ट्रिममा यस्ता गुरुङको कथामा सिनेमा बनेका छैनन्।’

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्ममा दयाहाङ र रिश्मासहित अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय  छ।

खिल बहादुर गुरुङको निर्देशनमा बनेको फिल्ममा कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको छ। सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन्। वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad