अलबिदा आमा! जेन जी, अल्फा बेटा जुन सुकै नाम होस् म तपाईंकै सन्तान
थिएँ आमा
आमा रोएको, आमाले कष्ट भोगेको देख्न नसक्ने सहन नसक्ने म
आमा लुटिएको, लुछिएको, मिचिएको देख्न नसक्ने म
म मेरै भविष्य कोर्न चाहाँदा चाहाँदै बीच सडकमा प्राण त्याग्न बाध्य म
आमालाई खुसी बनाउने इच्छा हुँदा हुँदै आमाकै काखमै मृत्यु शय्या रोज्न बाध्य म।
हे आमा, अर्को जुनीमा मेरो प्यारो देश नेपाल आमाको सन्तान हुन सकुँ
मलाई आशिर्वाद दिनुहोस् आमा म तपाईंकै काखमा पुनः जन्म लिन सकुँ
तपाईंलाई लुछ्ने, मिच्ने, दुश्कर्म गर्ने पापीहरूबाट मुक्त गर्न सकुँ ।
तपाईंका सम्पूर्ण सन्तान तपाईंकै भूमिमा पढ्ने, हास्ने खेल्ने रमाउने बनाउन सकुँ
शिर ठाडो गरी विश्व सामु तपाईंको नाम फैलाउन सकुँ, तपाईंलाई सदैव खुसी देख्न सकुँ
आमा म फेरिरी तपाईंकै काखमा जन्मन सकुँ, आमा म फेरि तपाईंकै काखमा जन्मन सकुँ।
तपाईंका अबोध, निश्चल, नैतिक र कर्मठ सन्तानको ज्यान लिएको तिमीले अब कहिल्यै हेर्नु नपरोस्
भ्रष्ट, पापी, कुलंगार, मै खाउँ मै लाउँ मै मात्र बाँचु भन्ने सन्तान कदापि तिम्रो कोखमा गर्भ नरहोस्
तपाईंकै नरभक्षी सन्तानले आज मलाई अस्ताए, मलाई मृत्यु शय्यामा पुर्याए।
कसैसँग नझुक्ने म, भ्रस्टाचार सहन नसक्ने म
गुलामी गर्न नजान्ने म, तिमि रोएको तिमि चिच्याएको हेर्न नसक्ने म
वाचा देऊ आमा, अर्को जुनीमा म आउन सकुँ म तिम्रो सन्तान हुन सकुँ
अलबिदा आमा, जेन जी, अल्फा, बेटा जुन सुकै नाम होस् म तपाईंकै सन्तान थिएँ आमा
यो जुनीको पनि, अर्को जुनीमा पनि तपाईंकै हुन सकुँ आमा, म तपाईंकै हुन सकुँ ।।
Shares

प्रतिक्रिया