कला


अब युवा पुस्तालाई नै नेतृत्व दिनुपर्छ: मदनकृष्ण श्रेष्ठ

अब युवा पुस्तालाई नै नेतृत्व दिनुपर्छ: मदनकृष्ण श्रेष्ठ

नेपालखबर
भदौ २५, २०८२ बुधबार १३:४२, काठमाडौँ

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अब युवा पुस्तालाई नै देशकाे नेतृत्वको जिम्मा दिनुपर्ने बताएका छन्। उनले बुधबार सामाजिक सञ्जालमा स्टाट्स लेख्दै देश र समयले परिवर्तन चाहेकाले युवापुस्तालाई नेतृत्वको जिम्मा दिनपर्ने तर्क गरेका हुन्।  

५० वर्ष पहिलेका युवाभन्दा अहिलेका युवा बौद्धिक रहेकाले उनीहरूलाई नै नेतृत्वको जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ।

‘देश र समयले अहिले परिवर्तन चाहिरहेको छ। ५० वर्ष पहिलेका युवाभन्दा अहिलेका युवाहरू धेरै शिक्षित र बौद्धिक छन्। समय अनुसार नहिड्नेलाई समयले छोडिदिन्छ भन्ने कुरा त हामी सबैले प्रस्टै सँग देख्यौँ। हामीले आफ्नो समयमा समयले अराएको काम गर्‍याैँ। अब समयले युवा पुस्तालाई नै नेतृत्वको जिम्मा दिनुपर्छ भन्ने प्रस्टै छ। किनभने समयको प्रतिनिधित्व युवाहरूले गरेका हुन्छन्,’उनले लेखेका हुन्।

युवाशक्ति कति बलियो छ भनेर जेनजीको एकताले संसारलाई देखाइदिएको उनको भनाइ छ। यसबाट युवाहरूको मागनै समयको माग भएको उनकाे भनाइ छ।

‘युवाशक्ति कति बलियो हुन्छ भन्ने कुरा नेपालका जेनजीको एकताले संसारलाई देखाइदियाे। अबको समय संयम भएर संसारभरि छरिएर बसेका नेपालीसमेत एकजुट भएर हाम्रा अमूल्य भौतिक संरचनालाई जोगाउने, संरक्षण गर्ने, पुनर्निर्माण गर्ने र भ्रष्टाचाररहित विधिको शासन पद्धति अपनाउँदै नयाँ नेपाल बनाएर विश्वलाई देखाउने बिन्दुमा आइपुगेका छौँ,’ उनले भनेका छन्।

त्यसैगरि, उनले जेनजी आन्दोलनमा हत्या भएका बालबालिका र युवाहरूको तस्वीर देखेर भक्कानिएको बताएका छन्। साथै मानिसहरू यतिसम्म कठोर राक्षस हुनसक्छन् भन्ने कुरा आफूले कल्पना पनि गर्न नसक्ने उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘यो एआईको युगमा जन्मेका बालक र युवा जो आफ्नो हक अधिकारको लागि फूल लिएर त्यो शान्तीपूर्ण जुलुसमा भाग लिन गएका थिए। ती कलिला अबोध बालबालिकालाई त्यसरी निर्ममपू्र्वक कसरी गोली चलाउन सकेको होला, यहि कुरा मनमा खेलेको खेलै भएर रातl अबेरसम्म निन्द्रा नलागेपछि औषधीको सहारा लिनुपर्ने भयो।’

जेनजीको आन्दोलन सुरु हुनुभन्दा अगाडि पनि उनले जेनजीहरूको आवाज सरकारले गम्भीरतापूर्वक सुन्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad