बहुप्रतिक्षित फिल्म ‘बलिदान’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा तयार पारिएको ‘यो ज्यान बलिदान’ बोलको गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतमा सुजन चापागाईँको स्वर र संगीत रहेको छ। हर्क साउदको शब्द रहेको गीतमा कोविद बज्रको संगीत संयोजन, मिक्सिङ र मास्टरिङ छ। विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन्।
गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, आवश्यक परे आफ्नो प्राण समेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तत्पर छ भन्ने भाव यस गीतमार्फत प्रकट भएको छ। गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ।
गीतको भिडिओमा मुख्य अभिनेता समीर भट्टसहित ऋचा शर्मा फिचर्ड छिन्। फिल्ममा ऋचा समीरकी आमाको भूमिकामा देखिएकी छिन्।
आसुसेन फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको फिल्ममा लेखन दर्शन जीले गरेका हुन्। निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्। सन्तोष सेन फिल्मको निर्माता र निर्देशक हुन्।
यस फिल्ममा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय छ।
यसअघि फिल्मको सार्वजनिक पोस्टर, प्रि–टिजर र टिजरले व्यापक चर्चा पाइरहेका छ। केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्देशक सेनले जानकारी दिए। यो फिल्म दसैंको अवसरमा फूलपातीका दिन असोज १३ देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।
Shares

प्रतिक्रिया