कला


‘परान’ को फर्स्टलुक सार्वजनिक, कात्तिक १४ गतेदेखि प्रदर्शन हुने

‘परान’ को फर्स्टलुक सार्वजनिक, कात्तिक १४ गतेदेखि प्रदर्शन हुने

नेपालखबर
असोज २, २०८२ बिहिबार १४:२२, काठमाडौँ

दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको फिल्म ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार फिल्मको  फर्स्टलुक सार्वजनिक गर्दै फिल्म कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउनेछ। 

सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अञ्जना बराईलीलाई देख्न सकिन्छ। पोस्टरमा दुबै एकअर्काको  अंगालोमा छन्। र, अञ्जनाको सिउँदोमा सिन्दुर देखिनुले उनीहरू विवाहित जोडीको रूपमा रहेको संकेत गर्दछ। यद्यपि, निर्माणपक्षले यसबारे खुलाएको छैन।  

पोस्टरमा महेश केही गम्भीर मुद्रामा छन् भने अञ्जना उनको छातीमा टाउको अड्याएर शान्त र कोमल भावमा प्रस्तुत भएकी छिन्।महेशको आँखामा देखिएको गम्भीरताले उनीहरूको सम्बन्धमा कुनै चुनौती वा उतारचढाव आउन सक्ने समेत संकेत गर्छ। 

फिल्मको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ, जसले फिल्मको मुख्य सार वा सन्देश प्रस्तुत गर्छ। यसले जीवनमा भौतिक अस्तित्व (सास) भन्दा भावनात्मक साथ र सम्बन्धको महत्वलाई दर्शाउन खोजेको बुझ्न सकिन्छ।

देशकै प्रतिष्ठित व्यवसायीक घराना गोल्छा समूह तथा प्रिज्मा समूहको साझेदारी रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिले फिल्म निर्माण गरेको  छ।
बाइस्कोप सिनेमाको एकल ब्यानरमा पहिलो प्रोजेक्टको रूपमा ुपरानु फिल्म निर्माण गरिएको जानकारी बाइस्कोपका प्रबन्ध निर्देशक रन्जीत आचार्यले गराएका छन्। यस फिल्ममा अभिनेता नीर शाह प्रमुख भूमिकामा छन्। 

साथमा महेश र अञ्जनासहित मदनकृष्ण श्रेष्ठ, पूजा चन्द,केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय छ। 

दीपक आचार्यकै कथा रहेको फिल्मको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् निर्देशक आचार्यले फर्स्टलुक ल्याएसँगै फिल्मको प्रचारप्रसार सुरू भएको बताए। उनले भने, ‘अहिलेसम्म फिल्मलाई कसरी हुन्छ राम्रो बनाउनमै ध्यान दियौं। पोस्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको छ। अब  तीव्र रूपमा प्रचारप्रसारमा लाग्छौं।’ 

रिदम कंडेलको संगीत रहेको यस फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन्। यो फिल्म तिहारलगत्तै  देशभरका सिनेमा हलमा कार्तिक १४ देखि प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad