दक्षिण भारतीय अभिनेता मोहनलाललाई प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार प्रदान गरिने भएको छ। चार दशकको करिअरमा ३५० भन्दा बढी फिल्म खेलेका उनको उत्कृष्ट योगदानको लागि सन् २०२३ को दादासाहेब फाल्के पुरस्कारको विजेता घोषित गरिएको हो।
सेप्टेम्बर २३ मा हुने ७१ औं राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा ६५ वर्षीय मलयालम सुपरस्टारलाई पुरस्कार प्रदान गरिनेछ। सूचना तथा प्रसारण मन्त्रालयले आफ्नो आधिकारिक एक्स ह्यान्डलमा एक पोस्ट गर्दै यसबारे जानकारी दिएको हो।
पुरस्कार घोषणा भएसँगै मोहनलाललाई फिल्मकर्मी, राजनीतिज्ञ र शुभचिन्तकहरूले बधाई दिइरहेका छन्।
यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत मोहनलाललाई बधाई दिएका छन्।
‘मोहनलाल, धेरै दशकहरूमा आफ्नो उत्कृष्ट कामका साथ, मलयालम सिनेमा र रंगमञ्चमा एक अग्रणी व्यक्तित्व हुन् र केरलाको संस्कृतिप्रति गहिरो लगाव राख्छन्। उनले तेलुगु, तमिल, कन्नड र हिन्दी चलचित्रहरूमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। सबै माध्यमहरूमा उनको नाटकीय सीपको प्रतिभा साँच्चै प्रेरणादायी छ। दादासाहेब फाल्के पुरस्कार प्राप्त गरेकोमा उनलाई बधाई छ। उनको उपलब्धिहरूले आउने पुस्तालाई प्रेरणा दिइरहनेछन्,’ मोदीले लेखेका छन्।
मोहनलालले थन्मात्र, दृश्यमू, वनप्रस्थम, मुन्थिरवल्लीकल थालिर्ककुम्बोल र पुलिमुरुगन चर्चित फिल्ममा काम गरिसकेका छन्। आफ्नो सहज अभिनय र उत्कृष्ट प्रदर्शनका लागि परिचित, मोहनलालले उत्कृष्ट अभिनेताको लागि दुई राष्ट्रिय चलचित्र पुरस्कार, नौ केरला राज्य पुरस्कार र धेरै अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरेका थिए। अभिनयमा योगदान बाहेक, मोहनलाललाई २००१ मा पद्मश्री र २०१९ मा पद्मभूषण पनि प्रदान गरिएको थियो।
Shares

प्रतिक्रिया