कला


मलाई स्टार हुनु छैन, फ्लप फिल्मले हजार कुरा सिकाउँछः आँचल शर्मा (भिडिओ)

कविता कोर्ने आदत, वकिल बन्ने रहर

अनिल यादव
असोज २४ , काठमाडौँ

अभिनेत्री आँचल शर्माको जीवनयात्रा स्वयं एउटा काव्य जस्तो छ– जहाँ अनेक घुम्ती, खुसीका रङ र आत्मचिन्तनका धाराहरू बगेका छन्। उनको जीवनबोध सुन्दा लाग्छ, यो चम्किलो संसारमा पनि उनी भुइँ छाडेर उड्न चाहन्नन्, बरु एक असल मान्छे बन्ने धुनमा छिन्।

धेरैका नजरमा आँचल अभिनेत्री हुन्। तर, धेरैलाई थाहा छैन– कहिलेकाहीँ उनलाई कवि हुन मन लाग्छ। आफ्ना भावना मोबाइलको नोटबुकमा पोख्न मन लाग्छ। 

कक्षा ६ मा पढ्दाको कुरा हो, उनको बुबालाई मुटुको समस्या देखिएको थियो। त्यसको वर्षौँपछि अहिलेको अवस्था जाँच्न आँचल स्वयंले उनलाई चेकअपमा लगेकी थिइन्। सामान्य जाँचका लागि लगिएका उनलाई जब त्यसबेला डाक्टरले अब्जरभेसनमा राखे, एक्कासि उनको मुटुले पनि ठाउँ छोड्न खोज्यो। त्यसपछि मोबाइलको नोटबुक खोलेर उनी शब्दहरूमा पोखिइन् :

बुबा तिमीलाई गाह्रो भएको
यो आँखालाई देख्नै नपरोस् भनेर मागे तापनि,

तिम्रो पीडामा ढाँटेर हाँस्न सक्दिनँ रहेछु। 
तिमीलाई पर्ने पीडा मलाई परोस् भनेर जहिले भगवानलाई भन्दा पनि,
तिम्रो शरीरका केही अप्ठ्यारा कुरा मैले लिन सक्दिनँ रहेछु।
बुबा, मेरा लागि भए नि मुख बार्ने गरिदेऊ,
तिम्रा नमिल्दा कुरा डाक्टरबाट मैले सुन्न सक्दिनँ रहेछु।

कविता सुनाउँदै गर्दा आँचल भावुक भइन्। 

‘म मेरो बुबाको प्रिन्सेस हुँ, उहाँसँग मेरो गहिरो भावनात्मक सम्बन्ध छ,’ नेपालखबर सो ‘लेट्स टक’मा आएकी आँचलले भनिन्, ‘उहाँका लागि मात्रै मैले थुप्रै यस्तो कविताहरू लेखेको छु। समाजले छोरा खोज्ने समाजमा उहाँले छोरी नै होस् भनेर कामना गरेर म जन्मिएको रहेछु। त्यसकारण पनि होला, उहाँ सधैँ मेरो आदर्श हो।’

फिल्म उद्योगमा चर्चामा आइरहने शब्द हो स्टारडम। तर उनका लागि यो शब्दको अर्थ फरक छ। 

भन्छिन्, ‘मलाई स्टार हुनु छैन, राम्रो अभिनेत्री हुनु छ। म यहाँ टिकुन्जेल मलाई प्रोफेसनल भएर मेरो हार्डवर्क देखाएर, मैले के सक्छु त नयाँ, त्यो पस्केर, मैले एक जनालाई मात्र पनि मुस्कुराउन सहयोग गर्न सकेँ भने त्यही नै मेरो जित हो। मेरा लागि स्टार भन्ने कि स्टारडम, त्यही नै हो जस्तो लाग्छ।’

आँचलको भनाइमा उनी यो चम्किलो पर्दाको चमकभन्दा आफ्नो काम र त्यसले पार्ने प्रभावमा बढी विश्वास गर्छिन्। 

‘म आफूलाई स्टारभन्दा पनि साधारण मान्छे ठान्छु, जसको काम क्यामराअगाडि प्रस्तुत हुनु मात्र हो। अरु जसरी कर्म गर्छन्, हामीले पनि त्यस्तै कर्म गरिरहेको मात्रै हो,’ उनले भनिन्। 

सन् २०१५ देखि सुरु भएको उनको अभिनय यात्राले एक दशक पूरा गरिसकेको छ। यो यात्रामा उनले धेरै अनुभव बटुलिन्। नयाँ मान्छेहरू चिनिन्, धेरै कुराहरू आदानप्रदान गरिन्। तर, उनले सिकेको सबैभन्दा ठूलो पाठ धैर्य हो। 

सुरुवाती दिनमा आफूमा धैर्य नभएको स्वीकार गर्दै उनी भन्छिन्, ‘अहिले चाहिँ धैर्य चाहिने रहेछ भन्ने बुझियो। यो इन्डस्ट्रीले मलाई मान्छेहरूसँग कसरी बोल्ने, के बोल्ने, के नबोल्ने, त्यो पनि सिकाएको छ।’

आँचल चिकित्सक उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएको ६ वर्ष पुग्न लाग्यो। यही फागुनमा बिहेको छैटौँ वर्षगाँठ मनाउने तयारीमा छिन् उनी। कतिपय अभिनेत्रीहरू बिहेपछि अभिनय दुनियाँबाट टाढिने गर्छन् या निष्क्रिय हुन्छन्। तर, नेपाली फिल्म क्षेत्रको हकमा दृश्य बदलिँदैछ। यहाँ विवाहपछि अभिनेत्रीहरू झन् जमिरहेका छन्। विवाहले करिअरमा कुनै फरक नपारेको आँचलको पनि अनुभव छ। उनी विवाहअघि जसरी काम गर्थिन्, अहिले पनि त्यसरी नै अगाडि बढिरहेकी छन्। 

‘मलाई सपोर्ट गर्ने अर्को एउटा घर थपिएको छ,’ उनी खुसी छिन्।

आँचलले केही समयअघि आफू सलमान खानको फ्यान रहेको र आफूलाई आफ्नो श्रीमान् सलमानजस्तै लाग्ने बताएकी थिइन्। उनको यो भनाइले खुब चर्चा पाएको थियो। ‘लेट्स टक’को ‘बिहाइन्ड द सिन’ सेग्मेन्टमा जब हामीले आँचललाई उनी र आँचलको बिहेको तस्बिर देखायौँ, फेरि यो प्रसंग उप्कियो। जब हामीले उनलाई सोध्यौँ– ‘तपाईंको सलमान खान है?’ 

जवाफमा उनले मुस्कुराउँदै भनिन्, ‘त्यो चाहिँ नभन्नू, मलाई मार्नुहुन्छ उहाँले फेरि। उहाँलाई सलमान खान भनेको मनपर्दैन।’

यतिखेर आँचलको मुटुको धड्कन बेस्सरी धड्किरहेको छ। कारण, उनी अभिनीत फिल्म ‘जेरी अन टप’ असोज ३१ बाट रिलिज हुने तयारीमा छ। अहिले मात्रै होइन, सधैँ जबजब उनको फिल्म रिलिज हुने मिति नजिकिन्छ, आँचललाई त्यस्तै हुन्छ।  

भन्छिन्, ‘एन्जाइटी नै भएजस्तो हुन्छ। रिलिज हुनु दुई दिनअघि त निन्द्रै लाग्दैन। दर्शकले के भन्ने हुन्, हलमा बुकिङ कति भयो, आफ्नो कामको रिजल्ट के हुने, यस्तैयस्तै कुराले डर बढाउँछ।’

त्रिकोणात्मक प्रेमकथामा आधारित भनिएको यो फिल्ममा उनले पहिलोपटक अभिनेता अनमोल केसीसँग स्क्रिन सेयर गरेकी छन्। फिल्मको ‘कस्तुरी’ गीत रिलिज भएपछि अनमोल र आँचलको जोडीलाई दर्शकले ‘क्युट’को उपमा दिन थालेका छन्। यो प्रशंसाले आँचल पनि गद्गद् छिन्। 

हामीले आँचललाई सोध्यौँ–‘एउटा ‘फ्लप’ फिल्मले तपाईंलाई के सिकायो जुन सफल फिल्मले कहिल्यै सिकाउन सकेन?’ 

जवाफमा उनले भनिन्, ‘मान्छेको नेचर नै हो, हामीलाई राम्रो सुन्न मात्र मन लाग्छ। तर, लाइफ सधैँ माथि हुँदैन, सधैँ राम्रो, सुन्दर र हाँसो मात्रै हुँदैन। लाइफमा टेन्सन पनि हुन्छ, पीडा पनि हुन्छ। त्यो चाहिँ फ्लप फिल्मले सिकाउँछ। फ्लप फिल्मले मान्छेलाई धरातल नबिर्सन, मेहनत गर्न नछोड्न, हार नमान्न र सफल हुँदा मात्तिन नहुने जस्ता कुराहरू सिकाउँछ। मान्छे जति उडे पनि झर्ने भुइँमा नै हो भन्ने बुझाउँछ।’

आँचलको जीवनमा एउटा अधुरो चाहना छ – वकिल बन्ने। उनी सानो छँदा कानुन पढ्न चाहन्थिन्। उनको बुबाले उनलाई अभिनय र कानुन दुवैमा एकैचोटि ध्यान दिन गाह्रो हुने बताएपछि उनले कानुनको पढाइलाई पछि सारिन्। तर, अहिले पनि उनलाई ‘पढ्दिम कि क्या हो’ जस्तो लाग्छ। 

‘इच्छा छ, के थाहा भविष्यमा पढ्न पनि सक्छु,’ भन्छिन्।

आँचल आफ्नो भविष्य हेर्न चाहन्नन्। अहिलेको अनिश्चितता नै उनलाई मन पर्छ। 

‘मैले टाइम ट्राभल फिल्महरूमा आफ्नै भविष्य, आफ्नै विगत हेरेको देख्छु। तर, मलाई त्यो चिजहरूले दुःख दिन्छ, पीडा दिन्छ जस्तो लाग्छ। अहिले जे छु, त्यसमै खुसी छु। भविष्यको चिन्ता लिएर वर्तमान बिगार्न चाहन्नँ।’

हेर्नुहोस् आँचलसँगको भिडिओ कुराकानी ‘लेट्स टक’, जहाँ उनले आफ्नो अभिनय करिअरका १० वर्ष, व्यक्तिगत जीवनका अनुभूतिहरू खुलेर सुनाएकी छन् :

फोटो/भिडिओ : विशाल कार्की 
 

असोज २४, २०८२ शुक्रबार २२:३८

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad