दुई वर्षअघि निर्देशक सुयोग गुरुङ ‘फर्की फर्की’को निर्माणमा जुटेका थिए। ‘सानो मन’बाट डेब्यु गरेका उनको यो दोस्रो फिल्म थियो। सोहीबेला निर्माता सरोज न्यौपानेले उनलाई फिल्मको अफर गरे। त्यो फिल्म थियो: जेरी अन टप।
सन् २०१४ मा रिलिज भएको ‘जेरी’ हिट फिल्म हो। यसै फिल्मबाट अनमोल केसीले पनि व्यापक चर्चा बटुलेका थिए। त्यसै ब्रान्डको फिल्म आफूकहाँ आइपुग्दा सुयोग सुरूमा अक्कनबक्क परे।
‘अफर आउँदा सुरूमा त म कन्फ्युज्ड थिएँ। किनभने यति हेभी प्रोजेक्ट छ। पक्कै पनि मसँग केही ज्ञान र अनुभव थियो। तर, ठूलो प्रोजेक्ट गरेको थिइनँ। मुखले त गर्छु भने तर के म सक्छु र भन्ने भएको थियो,’ उनले भने।
‘फर्की फर्की’मा काम गर्दा सुयोग अनमोलसँग नजिक भइसकेका थिए। उनीहरूको ट्युनिङ मिलेको थियो। त्यसकारण दोस्रो पटक अनमोलसँगै ‘जेरी अन टप’ मा सहकार्य गर्न कन्फिडेन्ट भए सुयोग। अनमोलसहित राम्रो टिमको कारण यो फिल्म बनाउन सम्भव भएको निर्देशक गुरुङको भनाइ छ।
फिल्ममा अनमोलसहित जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। जुन फिल्म असोज ३१ गतेबाट शुक्रबारबाट सिनेमाहलमा रिलिज हुँदैछ। रिलिजको सँघारमा हुँदा सुयोग कस्तो महसुस गरिरहेका छन् त?
भन्छन्, ‘प्रेसर फिल हुँदोरहेछ। कसैको लेगेसीलाई निरन्तरता दिनु भनेको गाह्रो काम हो। जेरी एकदमै मन पराएको प्रोजेक्ट हो। अनमोललाई स्थापित गराएकै जेरीले हो। त्यो हुँदा एक दशकपछि त्यही नाम जोडिएको, सबैले मनपराएको र लेगेसी बोकेको मेगा स्टारकास्टसँग काम गर्न पाउँदा जिम्मेवारी बढेको जस्तो लागिरहेको छ। के देखेर मकहाँ यो प्रोजेक्ट आएको होला वा के देखेर भरोसा गर्नुभएको होला भन्ने सोचेर झन् ऊर्जा आउँदो रहेछ। म विश्वास टुटाउँदिनँ भन्ने लागिरहेको छ।’

निर्देशक बन्नुअघि सुयोग म्युजिसियन थिए। हङकङ हुँदा उनी ब्यान्डहरूमा आबद्ध थिए। गीत गाउँथे अनि गितार बजाउँथे। र, गीत गाएको भिडिओ रेकर्ड गर्ने र सम्पादन समेत गर्थे।
तर, भिडिओ खिच्दाखिच्दै उनलाई सिनेमाप्रति चासो बढ्दै गयो। त्यसपछि उनले सिनेमाको पढाइ सुरू गरे। सुरुवातमा युट्युब हेरेर ‘सानो मन’ बनाए। यसरी नेपाली सिनेमामा प्रवेश गरेका उनी दोस्रो फिल्म ‘फर्की फर्की’मा चम्किए। किनकि यस फिल्मले सकारात्मक प्रतिक्रियासँगै राम्रो कमाइ गरेको थियो। साथै टाइम लुपको कथा बनाएर नौलो प्रयोग गरेको भन्दै सुयोगको निकै तारिफ पनि भएको थियो।
तिनै सुयोग निर्देशित ‘जेरी अन टप’को गीतदेखि टिजर, ट्रेलरलाई दर्शकले मन पराएका छन्। फिल्मको प्राविधिक पाटोको पनि प्रशंसा भइरहेको छ।
यो देख्दा सुयोग आफूले देखेको सपना जिउन पाएको अनुभव गरिरहेका छन्।
‘यस्तो बेलामा मन भारी हुँदोरहेछ। प्रेसरले भन्दा पनि खुसीले। ब्याक टु ब्याक यति माया पाउनु भनेको हरेक निर्देशकको चाहना हो। आफैँले भन्न खोजेको कथा सुन्न र हेर्नको लागि जुन किसिमको उत्साह दर्शकहरूमा देखिरहेको छु, त्यो सबै निर्देशकहरूको सपना हो। जुन सपना म जिउन पाइरहेको छु। त्यसैले आफूलाई निकै भाग्यमानी ठान्छु,’ गुरुङले भने।
गुरुङले निर्देशन गरेका तीनवटै फिल्म एउटै जनराका हुन्- लभस्टोरी। एउटै विधाका फिल्मको अफर आउनु संयोग मात्रै भएको बताउँदै आफू हरेक जनराको फिल्म गर्न मन पराउने सुनाउँछन्।
‘म हरेक किसिमका जनरामा काम गर्न रुचाउँछु। राम्रो कथा भन्न मन पराउँछु। आगामी दिनमा म हरेक जनराको फिल्म पनि बनाउँछु। हेर्दाखेरी संयोगवश लभस्टोरी लागेको हो। तर, म आगामी दिनमा एक्सन अनि हरर फिल्म बनाउँछु होला। मेरो लागि जनराभन्दा कथा महत्त्वपूर्ण छ,’ उनले भने, ‘कथाले दर्शकलाई छुनुपर्यो। मैले कमेडी फिल्म बनाएको छु भने दर्शक हाँस्नुपर्यो। हरर बनाउँछु भने तर्सिनुपर्यो। मलाई चाहिँ जुन जनरामा भने पनि कथाको उदेश्य पूरा हुनुपर्छ जस्तो लाग्छ। दर्शकलाई त्यो फिल गराउनु नै सफलता हो जस्तो लाग्छ।’
यस फिल्मको नाम र पात्र पुरानै लागे पनि कथा र विषयवस्तु पूरै नयाँ भएको गुरुङले स्पष्ट पारे।
भन्छन्, ‘पुरानो नाम ब्रान्ड हो। पात्रको नाम जेरी हो। फरक कथा हो। पुरानो जेरीको अनमोल केसीबाहेक यस फिल्मको सबै नयाँ हो। दुनियाँ फरक हो। पुरानोसँग केही लेनदेन छैन।’
सुयोगका अनुसार ‘जेरी अन टप’मा हिमाल आरोहणको कथावरिपरि सुन्दर प्रेमकथा समेटिएको छ। दिमाग र मनबीचको द्वन्द्वको कथा भएकाले अहिलेका युवापुस्तालाई रिलेट हुने उनले दाबी गरे। हेमराज बिसीको कथा रहेको फिल्ममा विश्वास तिम्सिनाको पटकथा छ।
‘छोटोमा भन्नुपर्दा फिल्ममा दिमाग र मनबीचको द्वन्द्वको कथा छ। दिमागले एक जनालाई मन पराएको छ भने मनले अर्कोलाई। दिमागको सुन्ने कि मनको भन्नेमा द्वन्द्व हुन्छ। अहिले त युवाहरूमा समयअनुसार लभको परिभाषा नै परिवर्तन हुँदै गएको छ। पहिले बुवाआमाको पालामा एउटा थियो भने अहिले अर्कै। फिल्मसँग अहिलेको आम युवाहरूको कथा रिलेट हुन्छ,’ उनले भने।
फिल्ममा मुख्य पात्रले सगरमाथा आरोहण गर्नुपर्ने हुन्छ। तर, कलाकारदेखि प्राविधिक टिमले सगरमाथामा जान सक्ने अवस्था थिएन। त्यहीकारण नुनको सेट तयार पारेर भीएफएक्स गरिएको निर्देशक गुरुङले सुनाए।
‘नुन राखेर सेट बनाइयो। गर्मीमा नुनमा बाक्लो ज्याकेट लगाएर सुटिङ गर्नु गाह्रो हुन्छ। सबै कलाकारहरूले निकै मेहनेत गर्नुभएको छ,’ उनले सुनाए।
यद्यपि, लुक्ला, नाम्चे हुँदै सगरमाथाको बेसक्याम्प पुगेर फिल्मको छायांकन गरिएको थियो। सुयोग काममा कुनै पनि सम्झौता गर्न मन पराउँदैनन्।
जसकारण दर्शकहरूले यो फिल्म मन पराउनेमा ढुक्क सुनिए गुरुङ। उनले भने, ‘आफूले गरेको काम राम्रो हुनुपर्छ। रिलिज हुँदा सोचेर फाइदै छैन। त्यो सोच्ने भनेको फिल्म बनाउनुअघि हो। नराम्रो होला भन्ने लाग्यो भने हात नहाल्ने। अहिलेसम्म सबैको माया पाइरहेको छु। अब दर्शकले कसरी लिनुहुन्छ भन्ने उहाँको हातमा छ।’
Shares

प्रतिक्रिया