कला


उत्कृष्ट लघु फिल्म ‘संगिनी’, उत्कृष्ट निर्देशक राज सरगम

उत्कृष्ट लघु फिल्म ‘संगिनी’, उत्कृष्ट निर्देशक राज सरगम

नेपालखबर
असोज ३१, २०८२ शुक्रबार १२:३४, काठमाडौँ

हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले ‘राष्ट्रिय लघुतम चलचित्र महोत्सव’ मा उत्कृष्ट प्रथम लघु फिल्म ‘संगिनी’ भएको छ। त्यसैगरी उत्कृष्ट निर्देशकमा ‘कलर अफ टी’ का निर्देशक राज सरगम भएका छन्।

बिहीबार राष्ट्रिय नाचघरमा रेडियो नेपालका प्रथम गायक रंगकर्मी, अभिनेता तथा गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१औँ जन्मजयन्तीको अवसरमा हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आयोजना गरेको हो। महोत्सवमा नौ लघु चलचित्र प्रतिस्पर्धी थिए।

प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाका अनुसार दुई दर्जन लघु चलचित्रमध्ये प्रतिस्पर्धाका लागि नौ चलचित्र छानिएको हो। उनले भने, ‘गुर हरिप्रसाद रिमाल अभिनेता पनि भएकाले छोटो चलचित्रको महोत्सव पनि आयोजना गरेको। र, यो महोत्सवले नयाँ भाइबहिनीलाई इनकरेज गर्ने छ।’

उत्कृष्ट तीन चलचित्रमा विनोद लोहार निर्देशित ‘संगिनी’ ,राज सरगम निर्देशित ‘कलर अफ टी’ , सुरेश पोर्तेल निर्देशित ‘अन्तिम राप ’ भएका छन्। जसलाई प्रतिष्ठानले नगद १ लाख, ५० हजार र २५ हजार र सम्मान-पत्रले सम्मान गरेको हो। 

त्यस्तै व्यक्तिगततर्फ उत्कृष्ट सम्पादन, उत्कृष्ट लेखक, निर्देशक, अभिनेता, अभिनेत्री, क्यामेराम्यान र सम्पादक गरी ६ विधाकाले जनही १५ हजार रुपैयाँ र सम्मान पत्र दिएको थियो। 

रंगकर्मी, कलाकार तथा निर्देशक हरिहर शर्मा, पहिलो नेपाली नायिका भुवन चन्द र रेडियोकर्मी तथा कलाकार मदनदास श्रेष्ठको निर्णायक टोलीले निर्णय गरेको थियो। त्यसैगरी प्रतिष्ठानले नाट्य-संगीत तथा पत्रकारितामा योगदान पुर्‍याउन स्रष्टालाई सम्मान गरेको थियो।

प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायिका मीरा राणा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र गायक धिरज राईलाई जनही एक लाख र सम्मानपत्र प्रदान गरियो।

मन्त्री खरेलको व्यक्तित्वका विषयमा लेखक तथा निबन्धकार दीपक सापकोटाले व्यक्तित्व, योगदान र प्रेरणादायी जीवनका विविध पक्ष बारे चर्चा गरे।

उनले भने, ‘पत्रकार जगदिश खरेल ज्युले चलाउने हट सिट कार्यक्रमले नेपाली समाजमा बहस सिर्जना गरेको थियो। राज्य सञ्चालन गर्नेहरुलाई गम्भरी तयार गर्न बाध्य बनाउँदै आएको थियो।’

त्यसैगरी गायक धिरज राई, गायिका मिरा राणाको व्यक्तित्वमाथि कलाकार तथा प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटा र कलाकार रवीन्द्र खड्का प्रस्ट्याएका थिए। गायक राई युरोपका सहरमा बुद्ध वाज बर्न भन्दै विश्वमा बुद्ध चिनाउन हिँडिरहेका अभियन्ता हुन्। उनका दर्जन गीत हिट छन्। पाँच दशकदेखि सांगीतिक क्षेत्रमा विताएकी राणाले विभिन्न भाषा र नेपाली चलचित्रका लागि पनि गाएकी छन्। 

पुरस्कार ग्रहण गरिसकेपछि मन्त्री खरेलले आफूले गलत काम नगर्ने प्रतिबद्धता गरे। उनले भने,‘मैले जानेर बुझेर कुनै काम गर्ने छैन। तेरो कारणले खराब काम भयो भन्ने बनाउने छैन। मलाई नागरिक सरकारले मन्त्री बनाएको हो। तपाईंहरूले डोर्‍याएको बाटो हिँड्ने छु।’

उनले कार्यक्रममा तीन महिनापछि त जाने दिन नै हुन्छ भन्दै जोडे, ‘जेनजी आन्दोलनले दिएको म्यान्डेट पूरा गर्नुछ।’ 

मन्त्री खरेलले आफू गायक/कलाकार बन्न नसके पनि पत्रकारितामार्फत कल्याणी रिमालको विरासतलाई पछ्याएको बताए।  

मन्त्री खरेललाई प्रतिष्ठानले सम्मान गर्ने निर्णय मन्त्री हुनअगाडि नै गरेको थियो। असोज २ गते गरिने भनिएको कार्यक्रम जेन्जी आन्दोलनका कारण पछाडि सरेको थियो।

भाषा साहित्य क्षेत्रमा लामो योगदान पुर्‍याएका प्रध्यापक डाक्टर वासुदेव त्रिपाठीले यस्ता प्रतिष्ठानलाई बचाइराख्न नयाँ पुस्तालाई पनि सँगसँगै लैजानुपर्ने बताए। 

कार्यक्रममा ९४ वर्षीय हरिप्रसाद रिमालकी धर्मपत्नी कल्याणी रिमालको पनि उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad