बाउले नपढेर दुःख पाए,
मैले पढेर दुःख पाएँ
गाउँमा बाउ हलो जोतिरहे, सहरमा उनी टाउको जोतिरहे। बाउको संसारमा गरेर खाने जमिन थियो, उनको संसारमा भोकभोकै मर्न तयार अहंकार। कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले यो कविता लेख्नुको पछाडि एउटा यस्तो कथा छ, जसले पढेलेखेका तर बेरोजगार भएर भौँतारिएका हजारौँ युवाको नियति बोल्छ।
बाजे र जिजुबाजे लेखनदास भए पनि उनका बुबा भने टुहुरो भएर पढ्न पाएनन्। पछि उपेन्द्रले नै उनलाई पढ्न–लेख्न सिकाए। तर जब उनी आफैँ पढेर पनि भौँतारिए, बुबाले उनलाई भने– ‘तँ जति पढेको भए त मैले के–के गर्थें, गर्थें।’
‘आफू चाहिँ पढेर पनि बेरोजगार भएर हल्लिइहिँडेको बेलाको कथा हो के त्यो। ए, दुःख चाहिँ आ–आफ्नो रहेछ भन्ने लाग्यो,’ नेपालखबर सो ‘लेट्स टक’मा उपेन्द्र यो कविता लेख्नुपछाडिको कथा सुनाउँछन्।
उपेन्द्र आफ्ना कथा–कविताहरूमा आफ्नै जीवनको द्वन्द्व र दुःखको दर्शनलाई पोख्ने गर्छन्। उनका पात्रहरू अक्सर दुःख र संघर्षको भुमरीमा हुन्छन्। र, यो दुःखको सबैभन्दा ठूलो भारी सायद अभिनेता दयाहाङ राईले बोकेका छन्। चाहे उनले लेखेको ‘कबड्डी’को चार शृंखला होस् या ‘जारी’, ‘दयाको दुःख’ घटेको छैन, सधैँ बढेकै छ।
‘कबड्डी’को काजी मैयाँको पछि दौडिएकै छ।

उपेन्द्रले आफ्नो कथामार्फत दयाहाङलाई किन यति धेरै दुःख दिएका होलान्?
यो प्रश्नमा उनी मुस्कुराउँछन् र जीवनको गहिरो दर्शन सुनाउँछन्, ‘संघर्षबिनाको उद्देश्यबिनाको, लक्ष्यबिनाको, गोलबिनाको त कथै भएन नि। दुःख पायो, पायो। दयाहाङले जारी २ मा पनि पाएकै छ।’
उनका लागि संघर्ष पात्रको प्राण हो, कथाको आत्मा हो।
‘पात्रका लागि होस् या जीवनमा, संघर्ष त हुन्छ नै। जो मान्छे पनि महान बन्नलाई स्ट्रगल माग्छ नै। मेरो पात्रहरूले पनि तरुनीकै पछि पनि स्ट्रगल नै माग्यो, परिवार चलाउनलाई स्ट्रगल नै माग्यो,’ उपेन्द्र हाँस्दै भन्छन्।
‘जारी’को व्यवसायिक सफलतापछि उपेन्द्रले त्यसको सिक्वेल नबनाउने घोषणा नै गरेका थिए। तर, तिहारको अवसरमा कात्तिक २१ गते ‘जारी २ः सङ अफ च्याब्रुङ’ रिलिज हुँदैछ। आखिर किन फर्किए उनी सिक्वेलमा?
‘सुरुमा एउटा च्याब्रुङ नाच्ने मान्छेको कथा लेख्न थालेको थिएँ,’ उनी कथाको पोको फुकाउँदै भन्छन्, ‘कथा लेख्दै जाँदा पात्र निर्माण गर्नुपर्यो। पात्र बनाउँदै जाँदा त नामसाङ पो याद आयो। अनि साथीहरूसँग छलफल गर्दा किन ‘जारी २’ नै नबनाउने त भन्ने भयो। यसले पात्र परिचय गराइरहनु परेन, दर्शकलाई पृष्ठभूमि थाहा छ र प्रमोसनमा पनि सजिलो हुने भयो। त्यसैले पनि बनाइयो।’
‘जारी’को कथा जहाँ सकिएको थियो, ‘जारी २’ त्यसको ५–७ वर्षपछाडिको कथाबाट सुरु हुने उनले बताए।
उपेन्द्र सुब्बाका अनेक परिचय छन्– कथाकार, कवि, फिल्म लेखक, निर्देशक। तर उनी आफूलाई कवि भन्न रुचाउँछन्। भन्छन्, ‘लोभ त मलाई कवि भन्दियोस् भन्ने नै हुँदो रहेछ।’

उपेन्द्रले कविता नलेखेको दशक बितिसक्यो। तर, कविताले उनलाई छोडेको छैन। ट्रेकिङमा एक्लै हिँड्दा, एकान्तमा बस्दा कविताहरू दिमागमा आइरहन्छन्।
‘त्यो बेला मात्रै म आफू कवि भएको महसुस गर्छु,’ उनी भन्छन्।
सायद यही काव्यिक मनले गर्दा नै उनका फिल्मका दृश्यहरूमा पनि कविता भेटिन्छ। उनी भन्छन्– ‘हरेक ठाउँमा कविता त चाहिने कुरा नै भयो। बिम्ब, फ्रेम बनाउने कोसिस गरिन्छ। मनले कविता खोज्छ, तान्छ छिटो।’
उपेन्द्रका फिल्महरू हेर्नुभएको छ भने पक्कै याद हुनुपर्छ, उनका पात्रहरू, विशेषगरी दयाहाङ फिल्ममा निरन्तर संघर्षरत छन्, रोएका छन्, दुःख पाएका छन्। तर, रोचक कुरा के छ भने उपेन्द्र आफैँलाई चाहिँ रुन डर लाग्छ।
‘रुनु चाहिँ मलाई साह्रै छिटो आउँछ तर रुन साह्रै डर लाग्छ,’ उनी आफ्नो अनौठो स्वभावबारे भन्छन्, ‘मलाई किन रुन डर लागेको मलाई थाहा छैन। जस्तो सिचुएसनमा पनि भागिहाल्छु म। फिल्म हेर्दाहेर्दै मलाई रुन आयो भने छटपटिइहाल्छु, तर्किहाल्छु म।’

तर, कथा लेख्दा भने उनी पात्रसँगै रुन्छन्। ‘कबड्डी २’ को क्लाइमेक्स होस् वा ‘जारी’मा दयाले पालाम भनेको क्षण लेख्दा, उनका आँखा रसाएका थिए।
‘त्यो दृश्यले छुन्छ नि,’ उनलाई अझै सम्झना छ। यस्तो लाग्छ, सायद उनले आफ्नो आँखाबाट झार्न नसकेको आँसु सिर्जनामार्फत पोखिरहेका छन् र पात्रलाई रुवाएर दर्शकको मन हल्का बनाइरहेका छन्।
एउटा समय थियो, उपेन्द्र सुब्बा भृकुटीमण्डपमा दिनदिनै भेटिन्थे। उनलाई दिनदिनैजसो भृकुटीमण्डपमा देख्नेहरू हुन्थे। उपेन्द्र र कवि चन्द्रवीर तुम्बापो कविहरू भेला पारेर दिनभर जोक सुनाएर बस्थे। तर, अहिले उनी त्यहाँ भेटिँदैनन्। साथीभाइहरूले ठूलो भयो, बदलियो भनेर गुनासो गर्छन्। तर उनी यसलाई समय र व्यस्तताको उपज मान्छन्।
‘दिनचर्या नमिलेपछि भेटघाट कम हुँदो रहेछ। बाटो अलग भएपछि भनेजस्तै,’ उनले भने।

जीवनको यो यात्रामा उपेन्द्रले धेरै कुरा भागेरै जितेका छन्, जसरी उनले आफ्नो एक कवितामा भनेका छन् :
मान्छेले त भाग्नु मात्रै छ
जाडोसँग भाग्नु छ, गर्मीसँग भाग्नु छ
साहुसँग भाग्नु छ, राहुसँग भाग्नु छ्र
मान्छेले भागेर त जीवन जितेको हो
सत्य, मान्छेले भागेरै जीवन जितेको हो।
पाँचथरको गाउँदेखि काठमाडौँसम्मको यो भागदौडमा उपेन्द्रले आफूलाई एक सफल कविका रूपमा स्थापित गरे। र, आज पनि फिल्म हेर्दा लाग्छ– अचेल उनी पर्दामा कविता लेखिरहेका छन्।
हेर्नुहोस् उपेन्द्र सुब्बासँगको ‘लेट्स टक’, जहाँ उनले आफ्नो जीवनका अनेक आयामबारे खुलेर बोलेका छन् :
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया