कला


तिहार : सांगीतिक नोस्टाल्जियाको पर्व

तिहार : सांगीतिक नोस्टाल्जियाको पर्व

नेपालखबर
कात्तिक २, २०८२ आइतबार १३:५२, काठमाडौँ

बालिएका प्रत्येक दियो र देउसी खेल्ने क्रममा पाइलाले पछ्याएका प्रत्येक ढोकाहरूले कुनै न कुनै पुरानो धुन लिएर आउँछन् किनकि ती पुराना गीतहरूले तिहारको न्यानोपन, खुशी र घरको माया फेरि सम्झाइदिन्छन्।

पाँच दिनसम्म चल्ने यो पर्व बत्ती, फूल, हाँसो र सबैभन्दा बढी संगीतले भरिएको हुन्छ। देउसी-भैलोका स्वर गल्ली–गल्लीमा गुन्जिन्छन्, पुराना नेपाली फिल्मका गीतहरू गुञ्जिन्छन्। तिहार सधैं गीतका बोल मार्फत् सम्झनाका कथाहरू सुनाउने पर्व हो। अझै भन्नुपर्दा, संगीतले समेटेका सम्झनाहरूको पर्व हो तिहार।

‘भैलिनी आइन् आँगन’, ‘निधारमा लर्काएर सप्तरंगी टीका’, ‘दियो बाली साँझको’ र ‘सबैको घरमा लक्ष्मीको वास’ जस्ता गीतहरू केवल संगीत होइनन् ती त पुराना यादहरू सजाउने किस्तीहरू हुन्।

आशा भोसले, खुमन अधिकारी, देवी घर्ती जस्ता कलाकारहरूले गाएका यी गीतहरूले बाल्यकालको मिठास, परिवारको एकता र सामूहिक खुसीको अनुभूति बोकेका छन्।

पहिले पहिले तिहारका गीतहरूले समुदायहरूलाई जोड्थे। मानिसहरू घर-घर गएर देउसी-भैलो गाउँदै सुस्वास्थ्य र समृद्धिका शुभकामनाहरू साटासाट गर्थे। ती गीतहरू मनोरञ्जन मात्र थिएनन्, संगीतको स्वरूपमा प्रार्थना थिए। मौखिक रूपमा पुस्तान्तरण गरिएका ती शब्दहरूले एकता, कृतज्ञता र आशाको भावना जगाउँथे।

हरेक गीतभित्र कथाहरू गाँसिएका हुन्छन्।

‘भैलिनी आइन् आँगन’ले छरछिमेकमा देउसी भैलो खेल्न जाँदाको उत्साह देखाउँछ। ‘रातो रानी फुलेझै साँझमा’ ले साँझको सौन्दर्यलाई सहज र मन छुने शब्दमा बयान गर्दछ। ‘दियो बाली साँझको’ र ‘सबैको घरमा लक्ष्मीको वास’ले समृद्धिको कामना र दान लिनु र दिनुमा प्राप्त हुने साझा खुसीको सन्देश दिन्छन्। तिहारको विशेषता बनेका यी गीतहरू पहिले सडकदेखि घरसम्म, स्टेजदेखि रेडियोसम्म गुन्जन्थे जसको सम्झना आज पनि धेरैका मनमा ताजा छ।

यी गीतहरू कालजयी छन् किनकि तिनीहरूले सम्बन्धको गहिरो अनुभूति दिन्छन्। आजको बेफुर्सदी दुनियाँमा मानिसहरू ती गीतहरू सुनेर आफ्नो जरालाई सम्झन पुग्छन्। पुराना गीतहरूले बाल्यकाल, परिवार र सरल जीवनको मिठास सम्झाइदिन्छन्। जो जो जहाँ भए पनि, ती गीतहरूले मिठो नोस्टाल्जिया प्रदान गर्दै घरमै भएको महसुस गराउँछन्।

यो सम्झनाको सौन्दर्य के हो भने यो जबर्जस्ती होइन, स्वाभाविक रूपमा फर्किँदै छ। रोचक कुरा के छ भने, यो पुरानो यादको पुनःस्मरण अहिले टिकटक जस्ता आधुनिक डिजिटल माध्यममा पनि देखिन्छ। कुनै पुरानो तिहार गीत ‘फर यु‘पेजमा ट्रेन्डिङमा देख्दा मानिसहरू त्यसलाई पूरै सुन्न चाहन्छन् वा आफ्ना आमाबुबासँग त्यस गीतका बारेमा सोध्न उत्साहित हुन्छन्। टिकटक अब मनोरञ्जन मात्र होइन, नेपाली संस्कृतिको सानो संग्रहालयझैँ बनेको छ। विभिन्न पेजहरूले पुराना तिहार गीतहरूलाई नयाँ पुस्तासँग पुनः जोडिरहेका छन्।

तिहारको संगीत सधैं मानव र प्रकृतिबीच, परिवार र समुदायबीच, अनि अहिले अतीत र वर्तमानबीचको सम्बन्धको प्रतीक रहँदै आएको छ। यस वर्ष हामीले दियो बाल्दा र घर सजाउँदा यी पुराना गीतहरू फेरि सुन्न सकौँ। चाहे सडकमा गाइयोस्, रेडियोमा बजोस् अथवा टिकटकमै शेयर गरियोस्, यी गीतहरूले हामीलाई यहि सिकाउँछन् कि समय जतिसुकै बद्लिए पनि परम्पराले भने सधैं नै आफूलाई नयाँ मध्यमबाट जीवन्त राख्ने गर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad