कला


‘सोल्टिनी’  टिमको देशव्यापी देउसी भैलो यात्रा

‘सोल्टिनी’  टिमको देशव्यापी देउसी भैलो यात्रा

नेपालखबर
कात्तिक ३, २०८२ सोमबार १३:४३, काठमाडौँ

भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको फिल्म ‘सोल्टिनी’ टिम हाल देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार–प्रसारमा व्यस्त छ। कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको प्रचारसँगै देउसीभैलो कार्यक्रम गरिरहेका छन्। 

फिल्मका मुख्य कलाकार प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा लगायतको टोलीले आइतबार साँझ झापा जिल्लाको दमकमा याक्थुङ फिल्म मेकर्स एसोसिएसन कोसी प्रदेश कार्यसमितिसँग मिलेर आयोजना गरेको ‘देउसी भैलो कार्यक्रम’ मा सहभागी भई वातावरणलाई उल्लासमय बनाएको थियो।

कलाकारहरू र स्थानीयवासीले देउसी खेल्दै रमाइलो गरे। सो अवसरमा लिम्बू चलचित्रकर्मीहरूको अक्षयकोष निर्माण सहयोगार्थ सङ्कलित रकम सहयोग स्वरूप हस्तान्तरण गरिएको थियो।

सोही टिमले मोरङ जिल्लाको मिक्लाजुङमा जारी ‘मधुमाला रमाइलो मिनी मेला २०८२’ मा पनि सहभागिता जनाउँदै चलचित्रको प्रचार गरेको छ। सोमबार सुनसरीको धरानमा देउसी भैलो आयोजना हुँदैछ, जहाँ कलाकारहरू पुगिसकेका छन्। कार्यक्रमपश्चात् टोली मङ्गलवार पोखरा र बुधवार काठमाडौँमा हुने देउसी भैलो कार्यक्रममा सहभागी हुँदै चलचित्रको प्रमोसन यात्रा जारी राख्नेछ।

यसबीच, २ घण्टा २५ मिनेट ३३ सेकेन्ड लामो यस फिल्मले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ। यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन्। 

चलचित्रको अग्रिम टिकट बिक्री सुरु भइसकेको छ र देशभरका हलहरूले यसका लागि आकर्षक शो सङ्ख्या तोकेका छन्, जसले दर्शकमाझ उत्साह थपेको छ।

अर्जुन सुवेदीले निर्देशित यो फिल्म अन्तरजातीय प्रेमकथामा आधारित छ, जसले सामाजिक विभेद, समुदायबिचको असमानता र प्रेममा देखिने सङ्घर्षलाई संवेदनशील रूपमा चित्रण गरेको छ।

चलचित्रमा मुख्य भूमिकामा प्रकाश सपूत र परीक्षा लिम्बु छन्। उनीहरूसँगै विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, सबु गुरुङ, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आले लगायतका कलाकारहरूको पनि सशक्त अभिनय रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad