कला


आगजनीमा उल्लास, अहिले बित्यास : नैतिक प्रश्नको घेरामा आन्दोलनकारी कलाकार

आगजनीमा उल्लास, अहिले बित्यास : नैतिक प्रश्नको घेरामा आन्दोलनकारी कलाकार

लक्ष्मी बलायर
कात्तिक ९, २०८२ आइतबार १९:२०, काठमाडौँ

चार दिनअघि सामाजिक सञ्जालमा एक भिडिओ बाहिरियो। जेनजी आन्दोलनको उक्त भिडिओमा निर्देशक निश्चल बस्नेत देखिन्छन्। पृष्ठभूमिमा संसद् भवन जलिरहेको छ। जसले वरपरको वातावरण धुँवामय बनेको छ। 

सोही भवनअगाडि निश्चल आफ्ना फ्यानसँग सेल्फी खिचाइरहेका देखिन्छन्। नेपालको झण्डा बोकिरहेका उनी उत्साहित हुँदै भन्छन्, ‘नयाँ युगको सुरुवात हो। यो जेनजी पुस्ताले गरेर देखाएको छ, अरू पुस्ताले गर्न नसकेको अब तपाईंहरूले जसले देश बना भनेर रोज्ने हो नि त्यही हुन्छ।’

यही भिडिओका कारण निर्देशक बस्नेत विवादमा तानिएका छन्। २४ गते भएको विध्वंसमा प्रत्यक्ष सहभागिता रहेको आरोप उनीमाथि लागिरहेको छ। कलाकार भएर देशको सम्पत्ति जलिरहँदा खुसी मनाएको भन्दै केहीले उनको चर्को आलोचना गरेका छन्।

भिडिओ भाइरल भएसँगै निश्चलले स्पष्टीकरण दिइसकेका छन्। आफूले ढुंगा हानेको र आगजनी गरेको प्रमाणित गरे सजाय भोग्न तयार भएको उनले फेसबुकमा उल्लेख गरेका छन्।

‘मैले कतै पनि ढुंगा हानेको, आगजनी गरेको प्रमाणित गर्नुस्, मलाई जे सजाय दिए पनि भोग्न तयार छु। प्रमाण खोज्दा म ढुंगा हान्दै थिएँ कि रोक्दै थिएँ, स्पष्ट हुन्छ। त्यसैले कृपया ममाथि छानबिन गर्न आग्रह गर्दछु,’ उनले लेखेका छन्।

आन्दोलनमा गएको र भ्रष्टाचारविरुद्ध आवाज उठाएको कुरा भने उनले स्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘म आन्दोलनमा गएको हो। भ्रष्टाचारको विरोध गरेको हो। मसँग फोटो र भिडिओ खिच्न दाजुभाइ दिदीबहिनी आएका हुन्।’

बस्नेत जेनजी आन्दोलन घोषणादेखि नै सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्। आन्दोलनका समर्थक बस्नेतले भदौ २३ गतेको जेनजी प्रदर्शनलाई समर्थन जनाउँदै भिडिओ बनाएका थिए।

भदौ २१ गते उनले टिकटकमा एक पोस्ट गरेका थिए। जसमा उनले लेखेका थिए, ‘भ्रष्टविरुद्ध जाग्दैछ नेपाल । नयाँ पुस्ताको आवेग थाम्न गाह्रै पर्ला सरकारलाई । जेन–जी रिभोलुसन अगेन्स्ट करप्सन! रेस्पेक्ट ८ सेप्टेम्बर अ डेट टु रिमेम्बर एन्ड रिभोल्ट!’

यत्तिकैमा रोकिँदैनन् बस्नेत। भदौ २२ गते राति ‘फाइनल्ली इट्स ह्यापेनिङ’ भन्दै निश्चलले टिकटकमा एक भिडिओ पोस्ट गरेका थिए।

‘अब जेन–जी पुस्ता निकै फ्रस्ट्रेटेड भइसकेको छ । भ्रष्टाचार, अन्याय र सत्ता–शक्ति दुरूपयोगको विरुद्धमा उनीहरू उठ्ने तयारीमा छन् । यो आन्दोलन व्यक्तिविरुद्ध होइन, हाम्रो भविष्यका लागि हो,’ उनले भनेका छन्।

शान्तिपूर्ण रूपमा आफ्नो अधिकार माग्न र भ्रष्ट मान्छेहरूलाई देखाउन सडकमा निस्कन लागिरहेको उनको भनाइ थियो। सुरक्षाकर्मीहरूलाई अपिल गर्दै उनले आन्दोनको भीडमा घुसपैठ र हिंसा हुन नदिन सहयोग गर्न समेत आग्रह गरेका छन्।

भदौ २३ गते प्रहरीले आन्दोलनकारीमाथि गोली बर्साएपछि राति निश्चलले एक भिडिओ सार्वजनिक गर्दै नाबालिकलाई गोली हान्ने आदेश कसले दियो भन्दै प्रश्न गरेका छन्। त्यसको तीन घण्टापछि निश्चलले फेसबुकमा स्टाटस लेख्दै भ्रष्टाचारविरुद्ध बोल्ने नयाँ पुस्ताको रगत बगाउने कायर सरकारबाट देश बचाउन बालेन शाहलाई अपिल गरेका छन्।

‘भविष्य खोज्दै, भ्रष्टाचारविरुद्ध बोल्ने नयाँ पुस्ताको रगत बगाउने कायर सरकार! थुक्क! प्रिय बालेन शाह, इट्स टाइम, नाउ इज त टाइम। द पिपल निड यु। हाम्रो समय केही होला भनेर कुर्दा कुर्दै गयो। युवा पुस्ताको भविष्यका लागि लिड अस अल! प्लिज,’ उनले आग्रह गरेका छन्।

२४ भदौको आन्दोलनमा संसद् भवन, सिंहदरबार लगायतका सार्वजनिक सम्पत्तिमा आगजनी भएको थियो। त्यसलाई कम गर्न भन्दै निश्चलले भिडिओ सन्देश बनाएका थिए। नयाँ सरकारलाई पनि उनले समर्थन जनाएका छन्।

यति मात्रै होइन, निर्देशक बस्नेत पछिल्लो समयको राजनीतिक गतिविधिमा पनि सक्रिय देखिन्छन्। जेनजी आन्दोलनपछिका छलफलहरूमा उनी सहभागी भए। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह, निवर्तमान सांसद सुमना श्रेष्ठ, सुधन गुरुङ, पुरुषोत्तम यादवलाई एकै ठाउँमा ल्याएर पार्टी गठन गर्ने कोसिसमा पनि उनी छन्। जुन कुरा निश्चलले केही दिनअघि नेपालखबरसँगको कुराकानीमा पुष्टि गरेका थिए।

निश्चल मात्र होइन, अरु कलाकार पनि जेनजी आन्दोलनमा देखिएका कारण विवादमा तानिएका छन्। कलाकार दीपकराज गिरी भदौ २४ गते आगजनी र तोडफोड भएको बानेश्वरस्थित कांग्रेस नेता विमलेन्द्र निधिको घरअगाडि देखिएपछि निशानामा परेका छन्।

भदौ २३ गते भएको प्रहरी दमनपछि गिरीले फेसबुकमार्फत जेनजी आन्दोलनको बारेमा बोल्न थालेको देखिन्छ। त्यसपछि गिरीले जेनजी आन्दोलनलाई समर्थन गर्दै थुप्रै स्टाटसहरू लेखेका छन्। उनले आन्दोलनले सफलता पाए पनि स्वार्थ समूहको घुसपैठका कारण ठूलो भौतिक र मानवीय क्षति हुन पुगेको उल्लेख गरेका छन्।

आगजनी भइरहेको घरअगाडि देखिएका गिरीले खुसी मनाएको र आगजनीमा संलग्नता रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ता र दलका कार्यकर्ताहरूले उनको आलोचना गरिरहेका छन्। सामाजिक सञ्जालमा चर्को आलोचना खेपेपछि दीपकले सो कुराको खण्डन गरेका छन्।

‘सकेसम्म नबोलौँ भन्ने थियो। तर, धेरैले यो फोटो पठाएर सोध्नुभो। दीपकजी, के यो तपाईं नै हो? अब जिम्मेवार नागरिकको हिसाबले त बोल्नै पर्‍यो! पहिलो कुरा त के सत्य हो भने नेपालका हरेक परिवर्तन सम्बन्धी आन्दोलनलाई समर्थन गरेझैँ यसलाई पनि समर्थन गरेकै हो,’ उनले लेखेका छन्।

आफू कुनै पनि समूहमा आबद्ध नभएको बताउँदै देशमा भएको तोडफोड र आगजनीमा कुनै सहभागिता नरहेको दाबी गरेका छन्। संलग्नता प्रमाणित भए कारबाहीको लागि तयार भएको उनको भनाइ छ।

त्यस्तै, पोयट आइडलका निर्देशक अमनप्रताप अधिकारी पनि विवादमा परेका छन्। २४ गते भएको आन्दोलनमा संसद् भवन जल्दै गर्दा उत्सव मनाएको भिडिओ बाहिरिएपछि अधिकारीको चर्को आलोचना भइरहेको छ। शनिबार सार्वजनिक भएको उक्त भिडिओमा अमनले संसद् भवन जल्दा खुसी मनाउँदै लगातार अपशब्द बोलेका छन्।

आक्रोश पोख्दै उनले भनेका छन्, ‘ल हेर अब। संसद् भवनभित्र पूरै। सकियो। चोर… भुसियाहरू… नेताको नाममा लुटपाट। सकियो हेर त्यहाँ, तेरो देश सकियो, तेरो राज्य अब सकियो। सबको पालो आउँछ। चोरी घुसखोरी। सब डढा। अब सबको ज्यान जान्छ सक्यो। सक्यो। सक्यो।’

स्पोर्ट्स कमेन्टेटर समेत रहेका अधिकारी पनि जेनजी आन्दोलनका समर्थक हुन्। उनले पनि जेनजी आन्दोलन घोषणादेखि नै सपोर्ट गर्दै भिडिओ र स्टाटस पोस्ट गरेका थिए।

अश्लील र आपत्तिजनक गाली गरेको भिडिओ सामग्री सार्वजनिक भएसँगै अधिकारीबारे थुप्रै टिप्पणी भइरहेको छ। चर्को आलोचनापछि अमनले हत्यारा समाऊ भन्दै एक स्टाट्स लेखेका छन्।

‘न्यायको प्रतीक्षामा सहिदका परिवार छन्, घाइतेहरू अझै अस्पतालमा छट्पटाइरहेका छन् । चाकरी छोडौँ, हत्यारा समाऊ,’ उनले लेखेका छन्।

अर्का कलाकार तथा क्याप्टेन विजय लामा पनि विवादमा तानिएका छन्। रमन राई ४०६ नामक टिकटक प्रयोगकर्ताले पोस्ट गरेको तस्बिरमा आन्दोलनमा उनी देखिएपछि आलोचित भएका हुन्। तस्बिरमा लामा जलिरहेको संरचनाअगाडि प्रदर्शनकारीसँगै मुस्कुराउँदै देखिएका छन्। उक्त संरचना युलेन्स स्कुल भएको र स्कुल जल्दा खुसी मनाएको भन्दै उनले निकै गाली खाइरहेका छन्।

त्यसैगरी, उक्त प्रदर्शनलाई समर्थन गरेका कलाकार तथा इन्फ्लुएन्सर इष्टु कार्कीलगायतका कलाकारहरूले निकै आलोचना खेप्नु परिरहेको छ। राष्ट्रका गहना भनिएका कलाकारहरूको आगजनी र तोडफोडमा सक्रियता रहेको भन्दै उनीहरूको नियतमाथि नैतिक प्रश्न उठिरहेको छ।

त्यति मात्रै होइन, कतिपयले निश्चल र दीपकको फिल्महरू समेत बहिष्कार गर्नुपर्ने आवाज उठाउन थालेका छन्। एक सामाजिक प्रयोगकर्ताले फेसबुकमा लेखेका छन्, ‘देश जलाउन उद्यत कलाकारहरूको फिल्म जीवनभर नहेर्ने निर्णय गरेँ। कृपया तपाईंहरू पनि यस्तै निर्णय गर्नुहोला किनकि हाम्रो शिरमा देश छ र शिर जलाउनेहरूको अनुहार कहिल्यै पनि हेर्न नपरोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad