लोकरक ब्यान्ड नेपथ्यले शुक्रबार पोखरामा प्रस्तुति दिने भएको छ। क्रिकेट प्रवर्द्धन गर्ने उद्देश्यले पोखरास्थित रङ्गशालामा प्रस्तुति दिन लागेको हो।
यसपटक ‘नेपथ्य फर स्पोर्ट्स’ मूल नारासाथ सो ब्यान्डले नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिम ‘पोखरा एभेन्जर्स’ को जर्सी सार्वजनिक गर्ने कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्य राखेको छ।
नेपथ्यको प्रस्तुतिले सङ्गीतप्रेमीको उल्लेख्य हिस्सालाई खेलकुद प्रतियोगितासँग जोड्ने विश्वास ब्यान्डले लिएको छ।
‘पोखरा एभेन्जर्स र नेपथ्यप्रति नगरवासीले देखाएको माया अनि उत्साहले हाम्रो हौसला बढेको छ,’ टिमका अध्यक्ष सुबोध त्रिपाठी भन्छन्, ‘क्रिकेट समर्थक र सङ्गीतप्रेमी दुवैका लागि यो गर्वको विषय हो।’
अब कन्सर्टकै दिन अर्थात् शुक्रबार बिहान ११ बजे दुई हजार थान जर्सीको वितरण रङ्गशाला गेटबाटै खुला गर्ने योजना छ। जर्सी बिक्रीबाट उठेको रकमले गण्डकीका सामुदायिक विद्यालयहरूमा क्रिकेट किट वितरण गरिने आयोजकले जानकारी दिएको छ।
ब्यान्ड यसरी फरक किसिमले प्रस्तुत हुन लागेकामा नेपथ्यका मुख्य गायक अमृत गुरुङले खुसी व्यक्त गरेका छन्।
‘देशमा सङ्कट र जनतामा उकुसमुकुस छाएको बेला खेलकर्मी र कलाकर्मी मिलेर थोरै भए पनि सकारात्मकता सञ्चार गर्न पाउनु ठूलो उपलब्धि हो,’ उनी भन्छन्, ‘यस किसिमको अवस्था सिर्जना गरिदिएकामा खेलाडी र समस्त पोखरेली दर्शकप्रति हार्दिक आभार प्रकट गर्छु।’
Shares

प्रतिक्रिया