लोकगायक अर्जुन सापकोटाले आफ्नो नयाँ गीत ‘झलिको’ सार्वजनिक गरेका छन्। गीतमा अर्जुनसँगै मेलिना राई र समीक्षा अधिकारीको स्वर छ।
मंगलबार बेलुका सार्वजनिक गीतले छोटो समयमै राम्रो भ्युज पाएको छ। बुधबार दिउँसोसम्म गीतलाई युट्युबमा ३ लाख ५० हजारभन्दा बढीपटक हेरिएको छ। टिकटकलगायतका प्लेटफर्ममा पनि गीत रूचाइएको छ।
यस गीतको शब्द रचना सन्तोष सापकोटाको हो भने संगीत अर्जुन स्वयंमको छ। कृष्ण रेउलेको थेगो रहेको गीतको संगीत संयोजन एचबीएन किस्मतको हो। गीतमा प्रदीप रोदनको कविता वाचन छ।
गीतका शब्दहरूले मायाको कुरा गर्छ। प्रेम जोडीको भावनाहरूलाई यसमा व्यक्त गरिएको छ।
गीतको भिडिओमा भने वैदेशिक रोजगारीका लागि परदेश जाने युवाहरूको कथा छ। परदेश गएको प्रेमी र गाउँमा रहेकी प्रेमिकाको कथालाई भिडिओमा रोचक ढंगले देखाइएको छ। परदेश गएको युवा काठको बाकसमा फर्किएको कथा भिडिओमा देख्न सकिन्छ।
यसको भिडिओमा अर्जुन सापकोटा र कुसुम भण्डारीको अभिनय तथा नृत्य छ। साथमा शिवु पाण्डे, राजेन्द्र अर्याल, सन्तोष सापकोटा लगायत पनि देखिएका छन्।
भिडिओको कथा दीपा सिंखडा र विशाल घिमिरेले तयार पारेका हुन्। कास्कीको घान्द्रुकमा छायांकन गरिएको भिडिओको निर्देशन विशालले गरेका हुन्।
मुकेश नेपालीको कोरियोग्राफी रहेको भिडिओमा बुद्ध थापाको छायांकन, दिन्शन शाहको सम्पादन छ। गायक अर्जुनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत यो गीत सार्वजनिक गरेका हुन्। गायक सापकोटाका यसअघि ‘पछ्यौरी लिसियो’, ‘बस्यौ अलक्कै’ लगायतका गीत रूचाइएका छन्।
Shares

प्रतिक्रिया