कला


जलरंगमा तीन कलाकारले उतारे शहर, संस्कृति र प्रकृति

जलरंगमा तीन कलाकारले उतारे शहर, संस्कृति र प्रकृति

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १३:१९, काठमाडौँ

जलरङलाई नौलो रुपमा प्रस्तुत गरिएका तीन कलाकारका सिर्जनाको दरबारमार्गमा प्रदर्शनी भइरहेको छ।

दरबारमार्गस्थित १०८ ग्यालरीमा जलरङ माध्यममा बनाइएका वरिष्ठ कलाकार हरेराम जोजु, कलाकार दिराम पाल्पाली र एनबी गुरुङका कला प्रदर्शनीमा राखिएको छ। गुरुङ लामो समयदेखि कला सिर्जनामा तल्लिन छन्। 

तीनै जनाका सिर्जनाले अहिले दरबारमार्गको १०८ ग्यालरी कलामय बनेको छ। यहाँ प्रदर्शित कलामा उनीहरूको विषय र टेक्निक फरकफरक पाइन्छ। जस्तो कलाकार गुरुङका अमूर्त तथा मुहार चित्रका कला हेर्न पाइन्छ। 

जोजुले केही सम्पदा समेटेका छन्। प्रयोगवादी धारा अपनाउने जोजुका यहाँ केही प्रयोगात्मक कला देख्न पाइन्छ। उनी प्रायः नौलो प्रस्तुति दिन रुचाउने कलाकार हुन्। यसपाली उनले शहरका दृष्यचित्र र सम्पदालाई समेटेका छन्। 

नेपाली कागजमा विरलै प्रयोग हुन्छ जलरङ। त्यसैलाई सम्भव गरेर देखाएका छन्, कलाकार जोजुले।

पोखराका सशक्त कलाकार जोजु ‘न्युरो आर्ट’ अवधारणालाई नेपालमा सशक्त बनाउँदै आएका छन्। यो धारको कलाले मानव मस्तिष्क, न्युरोसाइन्स, मनोविज्ञान र चेतन मनलाई कलात्मक रूपमा प्रस्तुत गर्छ। 

उनको अर्को पहिचान हो ‘अल्कोहल इङ्क आर्ट’। उनका यी कलाले मनोपरामर्शको काम गर्छ। कला थेरापीकै रुपमा उनले काम गर्दै पनि आएका छन्। 

यी दुई कलाशैलीमा विज्ञानको संयोजन रहेको पाइन्छ। फरक र नयाँ प्रयोग गर्न रुचाउने जोजुले हाल दरबारमार्गमा जारी महिनाव्यापी कला प्रदर्शनीमा पनि जलरङको नयाँ प्रयोग गरेका छन्। 

क्यान्भास वा आर्ट पेटरलाई छाडेर नेपाली कागजमा त्यसमाथि जलरङ पोतेर चित्र कोर्नु उनको नौलो प्रयोग हो। उनी भन्छन्, ‘म नयाँ तरिकाले काम गर्न चाहन्छु, त्यसैले यहाँ नेपाली कागजमा जलरङ प्रयोग गरेर कला बनाएको छु। यसको फाइदा के भने हाइलाइट निकाल्न सकिन्छ, यो तरिकाले गाह्रो विषय पनि वाटरकलरबाट बनाउन सकिन्छ है भन्ने देखाएको छु।’

जलरङमा पूर्ण अमूर्त कला खासै देखिँदैन। अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले त्यही जलरङका अमूर्त कला देखाएका छन्। उनले रङलाई फटाएर गरिने विधि ‘ग्रानुलेसन’को प्रयोग गरेका छन्। यो विधिमा रङलाई पानीले धकेलेर आकारमा ढाल्ने गरिन्छ। गुरुङका मुहार चित्र, अमूर्त र रियलिस्टिक कला देख्न सकिन्छ। 

नेपालमा नयाँ प्रयोगका रुपमा वाटरकलर बगाएर नियन्त्रित कला सिर्जना गर्नु आफैंमा चुनौतीपूर्ण अभ्यास हो। ‘वाटरकलरको गुण भनेको एकले अर्कोलाई धकेल्दै अघि बढ्ने हो, जति रोकावट हुन्छ, पछाडिको दबाबले धकेलिदिन्छ, यदि बाँध फुट्यो भने ठूलो शक्ति बोकेर निस्किन्छ नी,’ उनी भन्छन्, ‘त्यसैगरी यो कलामा पनि पानीको दबाबमा रङ फाटेर आइदिन्छ, यहाँ मैले नियन्त्रित रङ बगाएर चित्र सिर्जना गरेको छु।’

चित्र अवलोकन गर्दा यी सिर्जना पूर्ण अमूर्त र साइकोलोजिकल देखिन्छन्। तर कला पारखीले आआफ्नै तरिकाले बुझ्न सक्छन्। फरकफरक व्याख्या गर्नसक्ने खालका सिर्जना छन्। 

‘मिष्टी हिल’ शीर्षक दिइएको नौलो जलरङ माध्यमका उनका कलामा पहाडमा हुस्सु र कुहिलो मडारिइरहेको झैँ लाग्छ। कुहिरो मडारिँदा पहाडलाई ढाक्ने र कतैकतै खुला रहने अवस्थाले प्रकृतिको सुन्दरतामा नयाँ आयाम थपिदिन्छ। उनका चित्रले त्यही पहाड र बादलुको घुम्टोलाई समेटेको अनूभूति मिल्छ। 

अर्का कलाकार पाल्पालीले जलरङकै माध्यममार्फत काठमाडौंका सम्पदालाई उजागर गरेका छन्। उनले दृष्यचित्र सहितका सम्पदालाई र सांस्कृतिक विषयलाई १० वटा चित्रमार्फत प्रस्तुत गरेका छन्। उनका सिर्जनामा काठमाडौं उपत्यकाका सम्पदा देख्न पाइन्छ। ‘उपत्यकाका सम्पदा, संस्कृति र दृष्यचित्रलाई जलरङका माध्यमबाट प्रस्तुत गरेको छु,’ उनी भन्छन्। 

‘द भिजन वान इसेन्स’ शीर्षकमा जारी कला प्रदर्शनी एक महिनासम्म चल्नेछ। (रासस) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad