एकसाथ प्रदर्शनमा आएका फिल्महरू ‘जारी २’ र ‘मन बिनाको धन’ले बक्स अफिसमा राम्रो व्यापार गरेका छन्।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टअनुसार ‘जारी २’ ले चार करोड ९२ लाख २२ हजार रुपैयाँ कमाउँदा ‘मन बिनाको धन’ ले दुई करोड ४३ लाख ३५ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको छ। याे नौ दिनको कमाइ हो।
बोर्डको रिपोर्टअनुसार, यो अवधिमा ‘जारी २’ को एक लाख ६२ हजार तीन सय ३३ टिकट बिक्री भएको छ। त्यसैगरि, ‘मन बिनाको धन’ को भने ९० हजार पाँच सय २६ टिकट बिक्री भएको छ।
‘जारी २’ यसअघिको चर्चित फिल्म ‘जारी’ को सिक्वेल हो। २०८० सालमा रिलिज भएको ‘जारी’ले १७ करोडभन्दा बढी व्यापार गरेको थियो।
लिम्बू संस्कृतिमाथि आधारित ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, प्रेम सुब्बा, अनिल सुब्बा, रेखा लिम्बू लगायतको अभिनय छ। फिल्मको लेखक तथा निर्देशक उपेन्द्र सुब्बा हुन्।
‘मन बिनाको धन’ भने बालगायक अशोक दर्जीको जीवनमा आधारित फिल्म हो। टंक बुढाथोकी निर्देशित फिल्ममा दर्जीको जिरोदेखि हिरोसम्मको यात्रालाई समेटिएको छ।
Shares

प्रतिक्रिया