कलाकारितामा वर्षा राउतको इन्ट्री रोचक छ, फिल्मको क्लाइमेक्सजस्तै। केही नसोचीकन अभिनयमा आएकी उनको फिल्म करिअर एक दशक पुग्न थालिसकेको छ। यो यात्रा सम्झिँदा पनि वर्षालाई रमाइलो लाग्छ।
१२ वर्षअघि कफी खाँदै गर्दा रिबेल क्रियसनका एक व्यक्तिले वर्षालाई भने- म्युजिक भिडिओका लागि एक जना कोरस डान्सर चाहियो। वर्षालाई टीभीमा देखिने चाह थियो। त्यसकारण उनले केही नसोची हुन्छ भनिन्।
वर्षाले मोडलिङमा कोरसको रूपमा त डेब्यु गरिन्। पहिलो गाँसमै ढुंगा भनेझैँ त्यो भिडिओ रिलिज भएन। यद्यपि, त्यही भिडिओले नै वर्षाको करिअरको ढोका खोलिदियो। खासमा भिडिओ सम्पादन भइरहेको ठाउँमा अरु भिडिओ बनाउनेहरू रहेछन्। त्यहाँ वर्षालाई देखेपछि उनीहरूले निकै मन पराएछन्। त्यसपछि त वर्षालाई मुख्य रोलमै भिडिओको अफर आउन थाले। १२ वर्षअघि सार्वजनिक गीत ‘रोजेको मैले’ मार्फत वर्षा मोडलिङमा आइन्।
छोरीलाई बैंकरको रुपमा देख्न चाहन्थे बुवाआमा। छोरी कलाकारितामा नलागे हुन्थ्यो भन्ने उनीहरूको सोच थियो। तर, वर्षाको रहरसामु कसको के लाग्नु! आमाले सहमति जनाए पनि बुवाले मानेका थिएनन्। र, बुवालाई थाहै नदिई सुटिङमा जान थालिन्।
साँझ ५ बजेसम्म घर फर्किसक्नुपर्ने थियो। कहिलेकाहीँ त रातिसम्म सुटिङ हुन्थ्यो। त्यही कारण उनले कयौँपटक गाली समेत खाएकी छिन्। एक पटक त वर्षालाई राति घर फर्किंदा सजायस्वरुप रातभर बाहिरै राखिएको थियो।

वर्षा म्युजिक भिडिओमा स्थापित भइसकेकी थिइन्। केही फिल्मका अफर पनि आए। तर, बुवाले मानेनन्। अन्तत: परिवारले छोरीको चाहना बुझ्यो। र, ‘नाइँ नभन्नु ल ४’ मा डेब्यु पक्का भयो।
‘मेरो परिवार निकै स्ट्रिक्ट थियो। त्यसकारण यो फिल्म मात्रै गर्छु भन्ने लागेको थियो। त्यसपछि गर्दिनँ भन्ने थियो। तर, त्यो फिल्म रिलिज नहुँदै छक्का पञ्जाको अफर आयो। त्यसपछि एकपछि अर्को गर्दै यसमा हराएँ,’ उनले भनिन्।
तिनै वर्षा १० वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय छिन्। यसबीच, उनले ‘नाइँ नभन्नु ल ४’ र ‘छक्का पञ्जा’ सिरिजसहित जात्रा, जात्रैजात्रा, महाजात्रा, ऐंचोपैंचो, के घर के डेरा, तेलभिसा लगायतका दर्जन बढी फिल्म खेलिसकेकी छिन्।
दशक लामो करिअरमा धेरै कुरा सिकेको वर्षाको भनाइ छ।
भन्छिन्, ‘पहिले काम गर्दा स्क्रिप्ट पढ्ने बानी थिएन। कहानी सुन्थेँ, चित्त बुझेपछि काम गर्थेँ। सिनमा गएपछि डाइलग के छ भनेर हेर्ने। तर अहिले चाहिँ स्क्रिप्ट पढ्ने गर्छु। त्यो क्यारेक्टरलाई कसरी राम्रो गर्न सकिन्छ, कुन टोनमा बोल्छ होला भनेर सोच्छु। धेरै राम्रो कलाकार र निर्देशकसँग काम गरिसकेपछि धेरै कुरा सिकियो। जसले आफूमा सुधार गर्न पाएँ।’
डेब्यु फिल्ममा वर्षाले चुलबुले अनि लभर गर्ल क्यारेक्टर निर्वाह गरेकी थिइन्। त्यसपछिका फिल्ममा भने वर्षा श्रीमती र आमाको भूमिकामा देखिँदै आएकी छिन्। मंसिर १२ गतेबाट रिलिज हुने फिल्म ‘हर्ष’मा पनि उनी गृहिणीकै भूमिकामा देखिएकी छिन्।
आखिर किन यस्तै चरित्रमा देखिन्छिन्?
जवाफमा वर्षाले भनिन्, ‘प्राय मलाई यस्तै फिल्मको अफर आइरहेको हुन्छ। दोस्रो चलचित्र छक्कापञ्जाबाट नै त्यस्तो भएको हो। जात्राको सिरिजमा त्यस्तै भूमिका थियो। जसलाई दर्शकहरूले निकै मन पराइदिनुभयो। र, बानी भइदियो। त्यसले गर्दा वर्षाले यस्तो क्यारेक्टर मात्र गर्दोरहेछ भन्ने दिमागमा बस्यो। हाउसवाइफ नै भए पनि सबैमा उसको कथा र भोगाइ फरक छ। मेकरहरूले पनि यस्तै अफर गर्नुहुन्छ। उहाँहरूले एक्सपेरिमेन्ट गर्न खोज्नुभएको छैन। कोही खोज्नुहुन्छ भने मलाई पनि फरक भूमिकामा काम गर्न मन छ। आफ्नो कम्फर्ट जोनभन्दा बाहिर निस्केर काम गर्नु त राम्रो कुरा हो। चुनौती पनि हुन्छ।’

खासमा ‘हर्ष’ मा सुरुवातमा आँचल शर्मा अनुबन्धित भएकी थिइन्। तर, ‘जेरी अन टप’को सुटिङ लम्बिएपछि आँचलले समय दिन पाइनन्। त्यसपछि यो भूमिका वर्षाको पोल्टोमा आइपुग्यो। फिल्मको क्यारेक्टरकै कारण आफू लोभिएको सुनाउँछिन् उनी।
‘अन्तिममा म यो फिल्मसँग जोडिएको हुँ। सुरूमा मलाई चलचित्रको नाम, कलाकार र निर्देशक केही पनि थाहा थिएन। खालि मलाई एउटा स्टोरी सुनाउनु भएको थियो। क्यारेक्टरको निकै लोभ लाग्यो। मैले न्याय गर्न सक्छु जस्तो लाग्यो। स्टोरी सरल छ गर्न सक्छु लाग्यो,’ उनले भनिन्।
एकता पौडेल यस फिल्मकी निर्देशक हुन्। अमेरिका पढेर आएकी उनी निर्देशक शिव रेग्मीकी भान्जी हुन्। नयाँ निर्देशक त्यसमाथि महिला भएका कारण पनि आफू जोडिएको सुनाइन् उनले।
फिल्ममा वर्षाको अपोजिटमा खगेन्द्र लामिछाने छन्। जोसँग वर्षाले फिल्म ‘मेयर’मा एकसाथ काम गरिसकेकी छिन्। खगेन्द्र निकै सहयोगी भएकाले काम गर्न सहज भएको बताउँछिन् उनी।
‘काम गर्नुभन्दा अगाडि उहाँ कडा हुनुहुन्छ जस्तो लाग्थ्यो। सुरुसुरुमा दाइसँग बोल्न डर लागेको थियो। तर, बिस्तारै उहाँको नेचर बुझ्दै गएपछि रमाइलो मान्छे हुनुहुँदोरहेछ। र, आफूभन्दा सानालाई एकदम माया गर्नुहुँदोरहेछ। क्यारेक्टरमा मात्रै होइन, पर्सनल्ली पनि उहाँले एकदमै हेल्प गर्नुहुँदोरहेछ।’
उनले आजभोलि फिल्म छनोटमा ध्यान दिन थालेकी छिन्। काम गरिसकेपछि दर्शक र साथीहरूलाई त्यो फिल्म देखाउन लाज नलागोस् भन्ने उनलाई लाग्छ। जसकारण कुनै फिल्म वा स्क्रिप्ट चित्त नबुझ्दा आफूले अस्वीकार गर्ने बताउँछिन्।
‘तेलभिसा’को एक वर्षपछि ‘हर्ष’ मार्फत दर्शकमाझ देखिँदैछिन् वर्षा। अझ यस फिल्ममा उनको स्क्रिन टाइम समेत बढी छ। त्यसैले पनि यो फिल्म उनका लागि विशेष छ।
‘अहिले नेपाली चलचित्रहरूले राम्रो गरिरहेका छन्। यसले पनि राम्रो गरोस् भन्ने आश छ। व्यावसायिकसहित दर्शकहरूको मनमा बस्न सफल होस् भन्ने छ। यो पहिलो चलचित्र होला, जहाँ मेरो स्क्रिन टाइम धेरै छ,’ वर्षा भन्छिन्, ‘पहिलेका फिल्महरू म नभए पनि चल्थे। यसमा चाहिँ मैले सम्भावना देखाउन पाएकी छु। दर्शकलाई वर्षाले राम्रो काम गर्न सक्दोरहेछ भन्ने महसुस होला भन्ने आश छ।’
यद्यपि, धेरै स्क्रिन टाइम हुँदा सुटिङ गर्दा निकै भार महसुस भएको वर्षाको अनुभव छ।

वर्षा सिधा स्वभावकी छिन्। उनलाई घुमाएर, मिलाएर बोल्न आउँदैन। जे बोल्छिन्, मनबाट बोल्छिन्। त्यसकारण उनी बेलाबखत विवादमा समेत पर्छिन्। यस्तो कुराले कलाकारको भ्यालु सिकाउने उनलाई लाग्छ।
‘यस्ता कुराले कलाकारको भ्यालु सिकाउँदोरहेछ। मैले बोल्ने कुराहरू वा पोस्ट गर्ने चिजहरूले यति धेरै फरक पर्छ, मानिसहरूको जीवनमा यति फरक पर्दोरहेछ भन्ने चेतना थिएन होला। तर, परेपछि भोगाइले सिकाउँदोरहेछ,’ उनी भन्छिन्।
उनका अनुसार सुरुसुरुमा उनका तिनै कुराहरू मन पराउने धेरै थिए। अन्तर्वार्ताका शीर्षकहरू पनि राम्रो आउँथे। जसकारण दर्शकहरूले राम्रो तरिकाले लिन्थे। तर, अहिले भने बोल्न सर्तक हुने गरेको सुनाउँछिन् उनी।
‘बिस्तारै मलाई सोधिने चिजहरू गम्भीर हुन थाले। शीर्षकहरू त्यस्तै आउन थाले। र, गम्भीर विषयमा पनि मैले पनि केटाकेटी तरिकाले बोलेँ हुँला। टाइटल पनि त्यस्तै आउन थाले। मलाई अहिले पनि शब्दहरूलाई मिलाएर मिठो बनाएर बोल्न आउँदैन। त्यसकारण मैले कतिचोटि आलोचना पनि खाएँ। त्यहाँबाट बोल्न डर लाग्न थालेको हो। हेडिङ र टाइटलले हेर्ने मान्छेको सोच र दृष्टिकोणमा धेरै फरक पर्छ। त्यसैले सर्तक र कम बोलौँ जस्तो लाग्छ,’ उनले भनिन्।
केहीअघि ‘हर्ष’ को ट्रेलर रिलिज कार्यक्रममा वर्षाको शरीरमा रहेको खतलाई लिएर विभिन्न समाचार बनाइयो। त्यसले आफ्नो परिवारलाई समेत असर पारेको बताउँछिन् उनी।
भनिन्, ‘कन्ट्रोभर्सीको मलाई कहिल्यै पनि वास्ता हुँदैन। दुई दिनपछि बिर्सिदिन्थेँ। कोहीसँग मनमुटाव राख्दिनथेँ। म सामान्य व्यवहार गर्थेँ। उहाँहरूलाई के लागेछ भने वर्षालाई जे गरे पनि समस्या हुँदैन। उसलाई केही फरक पर्दैन भन्ने सोच्दा रहेछन्। यो पटक त अत्ति भयो। दागको समाचार आएपछि सासूससुरालाई नै फोन गरेर तपाईंहरूले बुहारी कुट्नु हुँदोरहेछ भन्नुभयो। पुरानो चिजलाई लिएर इस्यु बनाइयो। त्यो भएपछि अब चाहिँ बोल्नुपर्छ भनेर पोस्ट गरेको हुँ।’

महिला निर्देशकसँग काम गर्दा निकै सहज हुने वर्षाको अनुभव छ। पहिलो, महिला निर्देशकले मेकअपको कुरामा बुझ्छन्। कस्तो मेकअप सुहाउँछदेखि कति समय लाग्छ भन्नेमा ध्यान हुन्छ। त्यस्तै, पिरियडको पीडादेखि मुड स्विङका कुराहरू बुझ्ने उनलाई लाग्छ। जसले सुटिङको तालिका मिलाउन पनि सहयोग मिल्ने उनले सुनाइन्।
वर्षाका अनुसार ‘हर्ष’ पारिवारिक चलचित्र हो। यसले दर्शकहरूलाई परिवार र सम्बन्धको महत्त्व दर्शाउँछ।
‘पारिवारिक चलचित्र धेरै आइरहेको छ। यसले खुसीको आँसु रुवाउँछ। यसले संयुक्त परिवार र सम्बन्धको महत्त्व दर्शाउँछ जस्तो लाग्छ। फिल्मभित्र पीडा, धोका र पारिवारिक झगडा छ। तर, त्यो सकिएपछिको हर्ष हुन्छ नि, त्यसैमा फिल्म बनेको छ।’
Shares

प्रतिक्रिया