यस वर्षको महानन्द सापकोटा साहित्य साधक सम्मान लेखक कुमार नगरकोटीलाई प्रदान गरिएको छ।
अमेरिकाको टेक्सासस्थित डायलसमा स्थापित महानन्द पुरस्कार गुठीले नेपाली साहित्यमा नगरकोटीले पुर्याएको गहन योगदानका आधारमा सम्मान प्रदान गरेको हो।
आइतबार काठमाडौँस्थित नेपाल फिल्म क्याम्पस, एक्टर्स स्टुडियोमा आयोजित कार्यक्रममा कवि विप्लव प्रतीकले नगरकोटीलाई ताम्रपत्र र ५० हजार रुपैयाँसहित सम्मान हस्तान्तरण गरे। उक्त गुठी सीता सापकोटाले स्थापना गरेकी हुन्।
सम्मान ग्रहणपछि नगरकोटीले यसअघि प्रतिष्ठित साहित्यकारहरूले प्राप्त गरेको सम्मान आफूलाई प्रदान हुँदा गर्व र खुशी लागेको बताए। दर्शन, विज्ञान तथा नेपाली लेखन विधामा योगदान पुर्याउने महानन्द सापकोटाको नामबाट स्थापित सम्मान प्राप्त गर्नु आत्मिक प्रेरणादायी भएको उनले प्रतिक्रिया दिए।
नगरकोटीका मोक्षान्तः काठमाडौं फिभर, फोसिल कथा सङ्ग्रह, अक्षरगञ्ज र दोचा संस्मरण सङ्ग्रह, मिस्टिका, ज्ञ, कल्पग्रन्थ उपन्याससहित उनका दर्जनौँ कृतिहरू प्रकाशित छन्।
सन् २०१२ मा स्थापना गरिएको महानन्द सापकोटा साहित्य साधक सम्मान विप्लव प्रतीक, दुर्गालाल श्रेष्ठ, वसन्त थापा, गोविन्द वर्तमान (मरणोपरान्त), किशोर नेपाल, किरण खरेल, नेपाली शिक्षा परिषद् र डा. राजेन्द्र विमललाई प्रदान भइसकेको छ।
महानन्द सापकोटा ‘नेपाली निर्वचनको रूपरेखा’ ग्रन्थका लागि मदन पुरस्कार २०२७ बाट सम्मानित भएका थिए। उनका मनलहरी, आहुति, अपुंगो, बिशाल नेपाल, अन्न, आशा, आँसु, हाम्रो नेपाल, चानचुन, नेपाली धातु परिचय, जनजिब्रो, खस र खस भाषा, सापकोटा निबन्धावली, नेपाली शब्द-परिचयलगायत दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन्।
Shares

प्रतिक्रिया