कला


प्रिमियर शोमा रूचाइयो ‘अभिमन्यु : च्याप्टर–१’

प्रिमियर शोमा रूचाइयो ‘अभिमन्यु : च्याप्टर–१’

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १२:५६, काठमाडौँ

फिल्म ‘अभिमन्यु : च्याप्टर-१’ले प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको छ। सोमबार साँझ ललितपुरस्थित लविम मलको क्यूएफएक्समा हलमा गरिएको प्रिमियरमा सिनेमा हेर्ने दर्शकले ‘अभिमन्यु : च्याप्टर-१’लाई उत्कृष्ट प्रतिक्रिया दिए। 

फिल्मको सस्पेन्स स्टोरी, कथ्य शैली र अभिनयको अधिकांशले तारिफ गरेका छन्। प्रिमियरमा बाक्लो संख्यामा पुगेका सबैले सस्पेन्स थ्रिलर ड्रामाले दर्शकलाई बाँधेर राख्ने क्षमता राख्ने बताए।

‘अभिमन्यु : च्याप्टर-१’ हेरेपछि अभिनेता दिव्यदेव पन्तले खुलेर तारिफ गरे। प्रिमियर शोमा सहभागी भएर सिनेमा  हेरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ‘अभिमन्यु : च्याप्टर-१’को कथावस्तु, निर्देशन र कलाकारहरूको अभिनय अब्बल रहेको प्रतिक्रिया दिए।

दिव्यदेवले फिल्ममा महिला कलाकारहरूको प्रस्तुतिलाई विशेष जोड दिए। उनले भने, ‘सामान्यतया सिनेमामा महिला पात्रलाई जसरी देखाइन्थ्यो वा कन्भिन्स् गराइन्थ्यो, त्यो परम्परालाई यो फिल्मले तोडेको छ। पर्फर्मेन्सको हिसाबले यो एकदमै उत्कृष्ट छ।’

फिल्मको मेकिङ पक्षको प्रशंसा गर्दै दिव्यदेवले निर्माता विनोद (विनोद पौडेल)को आँटको कदर गरे। उनले भने, ‘विनोद दाइले ‘पूर्णबहादुरको सारङ्गी’ मा जस्तै यसमा पनि ‘अन्डररेटेड' (प्रतिभा भएर पनि ओझेलमा परेका) कलाकारहरूलाई विश्वास गर्नुभएको छ। बजारमा चलेका नाम चलेका स्टार खोज्नुको साटो उहाँले राम्रो कलाकार, राम्रो निर्देशक र बलियो कथामा लगानी गर्नुभएको छ। यसको प्रतिफल ‘अभिमन्यु : च्याप्टर-१’मा देखिन्छ।'

निर्देशक सोभित बस्नेतले नेपाली सिनेमा क्षेत्रमा आएको परिवर्तनलाई विश्लेषण गर्दै भने, ‘अहिले जति पनि नेपाली चलचित्र बढी चलिराख्या छ, त्यसमा कलाकारको चलचित्र चलिराख्या छन् । योभन्दा पहिला स्टारका चलचित्र चल्थे, अहिले कलाकारका चलचित्र चल्न थाल्या छन्। उनले दर्शकले अहिले अनुहार भन्दा पनि अभिनय र प्रतिभालाई प्राथमिकता दिन थालेको बताए।

फिल्मका मुख्य पात्र कामेश्वर चौरसियाको प्रशंसा गर्दै उनले भने, ‘अभिमन्युमा पनि कामेश्वरजस्तो अत्यन्त राम्रो कलाकार छ, त्यसले गर्दा यो फिल्म चल्नुपर्छ।’ उनले कामेश्वरका विगतका फिल्म रिलिज हुँदा केही घटनाहरू घट्ने गरेको भए पनि यसपटक भने राम्रो हुने विश्वास व्यक्त गरे । साथै, उनले सेभेन सिज सिनेमाले ‘पूर्णबहादुरको सारङ्गी’ जस्तै यो फिल्म पनि राम्रो बनाएको बताए।

कमेडीयन भरतमणी पौडेलले फिल्मले दाइजो प्रथाजस्तो गम्भीर सामाजिक विषयवस्तु उठाएको र सस्पेन्सले भरिपूर्ण रहेको प्रतिक्रिया दिए।

यो फिल्म आगामी बिहिबारबाट रिलिज हुँदैछ। सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको यस फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देलको अभिनय छ। 

प्रिमियरपछि चलचित्रका मुख्य अभिनेता कामेश्वर चौरसिया मिडियासामु निकै भावुक देखिए। लामो संघर्षपछि मुख्य भूमिका निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्दै उनले भने, 'कलाकार बन्नको लागि स्क्रिप्ट नै चाहिदो रहेछ। अहिलेसम्म मैले जति काम गरेँ, सबैले सराहना गर्नुभयो तर लिड क्यारेक्टरको लागि एउटा बलियो लिखित दस्तावेज नै चाहिन्छ। जे गरेँ, यहाँ आइपुग्नकै लागि रहेछ।'

किरण श्रेष्ठले ‘अभिमन्यु : च्याप्टर–१’मा अनुभवी र दिग्गज कलाकारहरूसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरे। अभिनेत्री लक्ष्मी बर्देवाले आफू यो फिल्मको सुटिङ गर्दा सुत्केरी हुने अवस्थामा (प्रेग्नेन्ट) रहेको खुलासा गरिन्। उनले स्क्रिप्ट पढ्दादेखि नै क्यारेक्टर मन परेको र शारीरिक अवस्था जटिल भए पनि फिल्मको टिम र कथावस्तु उत्कृष्ट भएकाले काम गरेको बताइन्। 

अर्की अभिनेत्री सरिता गिरीले पुरुष प्रधान फिल्महरू बनिरहेको समयमा ‘अभिमन्यु’ महिला केन्द्रित फिल्म बनेको र पुरुष पात्रहरूले त्यसलाई सपोर्ट गरेको देख्दा खुसी लागेको बताइन्।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन्। यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन्। यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad