काठमाडौँका रैथाने नेवारी ठिटो नारायणगोपालले दार्जिलिङकी पेमलासँग पत्रमित्रता गरे। पत्र कोर्ने बेलासम्म नारायणगोपाल ‘सेलेब्रिटी’ बनिसकेका थिए। रत्नशमशेर थापाको शब्दमा रहेको ‘स्वर्गकी रानी मायाकी खानी’, ‘आँखाको भाका आँखैले’ लगायतका गीतले उनलाई गायकको परिचय दिइसकेको थियो। ती गीतहरु दार्जिलिङतिर पनि लोकप्रिय थिए।
पेमला गीतबाटै नारायणगोपालकी फ्यान बनिन्। उनले त्यो बेला काठमाडौँमा रहेका आफन्तले ‘के ल्याइदिऊँ कोसेली?’ भनेर सोध्दा भनेकी थिइन् रे–कोसेली–सोसेली चाहिँदैन। सक्नुहुन्छ भने नारायणगोपालको ठेगाना ल्याइदिनू।’ पेमलाले नारायणगोपालको ठेगाना पाइन्। आफन्त पर्ने भीम मुखियाले उनलाई नारायणगोपालको ठेगाना दिएका थिए।
चिठी कोरिन्। अहिलेजस्तो एसएमएस वा भिडिओ कलको जमाना थिएन। नारायणगोपाल दार्जिलिङबाट आउने पेमलाको चिठी कुर्थे। उत्तर लेख्थे। प्रेम झाँगियो। नारायणगोपाल पेमला भेट्न मितज्यू गोपाल योञ्जन, मित्र नगेन्द्र थापा र कर्म योञ्जनसहित दार्जिलिङ पुगे। नारायणगोपालको फोटोसमेत नदेखेकी पेमलाले नगेन्द्र थापालाई नै नारायणगोपाल बनाइछन्। त्यो थाहा पाएर नगेन्द्रले नै ‘ऊ नारान’भन्दै नारायणगोपाललाई चिनाइदिएछन्।
नारायणगोपालले त्यो बेला पेमलालाई ‘चिनारी हाम्रो धेरै पुरानो’ गीत सुनाएका थिए रे! पेमला आफ्नो गाउँ सुखियापोखरीकै स्कुल पढाउँथिन्। बिहे हुने भयो। पैसा थिएन। नगेन्द्रले नै बिहेको खर्च जुटाइदिए। २०२७ साल फागुनमा उनीहरुको बिहे भयो। तर, पिता आशागोपालले अन्तरजातीय बिहे स्वीकारेनन्। नयाँ दुलही लिएर नारायणगोपाल पोखरा आइपुगे। कवि भूपी शेरचनको घरमा पाहुना बने।
भूपी धनी थिए। पोखराको मोहोरियाटोलमा बडाहाकिम धन शमशेरसँग किनेको भव्य सेतोदरबार थियो। भूपीले त्यही बेला एउटा गीत लेखे। गीत यस्तो थियो–
सानै हुरीमा बैँसको सपना
सिमलको फूलझैँ झरिगयो
मलाई आँखा तरीगयो।
सानै हुरीमा बैँसको सपना।
धेरै हाँसे साँच्ची नै रुनुपर्दो रहेछ
हाँसोलाई आँसुले धुनुपर्दो रहेछ।
बिर्स भन्ने निष्ठुरी बिर्सूं कसरी?
पहिले यहाँ टाढाटाढा हुनुपर्दो रहेछ
सानै हुरीमा बैँसको सपना।
वेदनाले ओठ निलो भइसक्यो अब त
आँखा पनि गिलोगिलो भइसक्यो अब त
नरोऊ भन्दैमा के रुक्थे यी मेरा आँसुहरू
सारै नै सारै ढिलो भइसक्यो अब त
सानै हुरीमा बैँसको सपना
सिमलको फूलझैँ झरिगयो
तिमी के गयौ, खुसीले पनि
मलाई आँखा तरीगयो
सानै हुरीमा बैँसको सपना
नारायणगोपालले हार्मोनियम समाए। भूपीलाई अगाडि राखेर संगीत भरे र गाए। पोखरामा रहँदा पेमलाले यहाँको नदीपुरमा रहेको रत्नराज्यलक्ष्मी कन्या स्कुलमा अंग्रेजी पढाइन् भने नारायणगोपाल स्वयंले पनि अमरसिंह स्कूलमा केही समय इतिहास पढाएको कवि तीर्थ श्रेष्ठ बताउँछन्।
दुवैले बाँच्नको लागि स्कुल पढाउने काम गरेका थिए। पोखरामै रहँदा २०२७ साल जेठ ६ गते उनले पिता आशागोपाललाई चिठी लेखे र आफ्नो दुखेसो यसरी पोखे–
पूज्य बुबा, आमा!
यतिका दिनसम्म एक अक्ष्।र पनि नलेख्दा हजुरहरूलाई अवश्यै चिन्ता लाग्दो हो। चिठी नलेख्नाको कारण अहिलेसम्ममा थाहा पाइसक्नु भइसक्यो होला। बा! म के गरुँ परिस्थितिवश मैले यस्तो काम गरेँ, जुन हजुरहरूलाई मन पर्दैन। यति मात्र कहाँ हो र, हजुरहरूको त मैले गर्दा इज्जत नै गएजस्तो लाग्छ। जिन्दगीमा मैले हजुरहरूलाई कहिल्यै सुख दिइनँ, अहिले आएर झन् दुःख थपिदिएको छु। यसका लागि मलाई कस्तो किन सजाय नबक्सियोस् म सहर्ष स्वीकार गर्नेछु। तर, आमाबुबाको मायाबाट मलाई वञ्चित नगरिबक्सियोस्। म दुई हात जोडी प्रार्थना गर्दछु। म जहाँ गए पनि मेरा आमाबुबालाई सम्झिरहेको छु र अन्तिम साससम्म पनि सम्झिनै रहुँला।
हजुरहरूको माया, स्नेह, प्यार पाएर म यत्रो भएको, म कति भाग्यमानी छु। तर, हजुरहरूदेखि आज टाढा बस्नु पर्दा मलाई कति दुःख लागेको छ। घर सम्झँदा हृदय चिरेर आउँछ। आमा! मैले जस्तै अपराध गरे पनि हजुरहरूको ममता पाइनँ भने मलाई साह्रै चोट लाग्नेछ। बासित मलाई डर लाग्छ। बा मलाई क्षमा गरिदिनुस्, मूर्ख बालक सम्झेर। म हजुरको पाउ पर्छु। जात नमिलेकोसित मैले विवाह गरेँ त म के भयो र, हाम्रो बाबुछोराको नाता त टुटेको छैन। आमा जात नमिलेको बुहारीलाई बुहारी नमाने पनि केही छैन, तर म त तिम्रो छोरा हुँ।
नारायणगोपाल पोखराबाट काठमाडौँ फर्के। जागिरका निम्ति हेटौँडा पुगे। तर, कवि भूपी शेरचनसँगको मित्रता सधैँ अटुट रह्यो। उनी भूपीलाई टेलिफोनबाटै गीत सुनाउँथे रे। अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा गीत भूपीले लेखेका हुन् भने संगीत गोपाल योञ्जनले भरेका हुन्।
कवि तीर्थको भनाइ मान्ने हो भने भूपीले नै त्यो बेला नारायणगोपाललाई स्वरसम्राटको उपाधि दिएका थिए रे! यता, नारायणगोपाल पोखरामै रहँदा नगेन्द्र थापाले त्यो बेलाको धूपी पत्रिकामा ‘प्रोमिथिसको आगो : अराकनीको आगो’ शीर्षकमा एक लेख लेख्दै नारायणगोपाललाई नेपालको स्वरसम्राट घोषणा गरेका थिए।
‘पोखराको पृथ्वीनारायण क्याम्पसमा नारायणगोपालको एकल कार्यक्रम भएको मैले सानोमा देखेको हुँ, पछि पोखरामा उहाँको दोस्रो एकल साँझ पनि आयोजना भयो,’ कवि तीर्थ भन्छन्, ‘नारायणगोपाललाई नसुन्ने कुनै नेपाली छैन। पोखराले त उहाँलाई सुन्दै आएको छ र उहाँको पोखरासँगको साइनो पनि गहिरो छ।
तीर्थले भनेको कुरामा सत्यता छ। गायक नारायणगोपाल जीवनको एक कालखण्डमा पत्रकार पनि बने। उनले बाजा, गीत र नाचलाई समेटेर बागिना भन्ने पत्रिका प्रकाशनमा ल्याए। सोही पत्रिकाको १२ औँ अंकका निम्ति भूपीसँग उनले अन्तर्वार्ता लिए। अन्तर्वार्तामा नारायणगोपाल सोध्छन्– आफैँले लेखेको गीतहरूमा कुन बढी मन पर्छ?
उत्तर : तपाईंले (नारायणगोपाल) संगीत भरी गाएको ‘सानै हुरीमा बैंसको सपना।’
नारायण गोपालको निधन २०४७ साल मंसिर १९ गते काठमाडौंमा भएको थियो। २०६१ सालको असार १६ गते पेमलाले पनि यो संसारबाट बिदा लिइसकेकी छन्।
नारायणगोपालप्रति पेमलाको कति प्रेम थियो भन्नेबारे पत्रकार विजयकुमारले आफ्नो पुस्तक खुसीमा लेखेका छन्।
उनले पेमलासँग सोधेका रहेछन्– तपाईं अफिस जानेबेला वा किनमेल गर्न आउँदा नारनदाइको सालिकछेउबाटै हिँड्नुहुन्छ। कस्तो लाग्छ, त्यसबखत?’
पेमलाको उत्तर थियो, ‘विजय भाइ, मलाई थाहा छ, त्यो ढुंगाले बनेको एउटा सालिक मात्र हो, उहाँ होइन। तर, पनि पुस–माघको जाडोमा जब म कामबाट घर फर्कन्छु, उसको सालिकनेर पुग्दा टक्क रोकिन्छु। मनमनै सोच्छु, कति जाडो भइरहेको होला बिचरालाई। उसलाई एउटा ओभरकोट लगाइदिन पाए हुन्थ्योजस्तो लाग्छ। मलाई थाहा छ, त्यो ढुंगाको एउटा निर्जीव सालिक मात्र हो, ऊ होइन तर पानी परेको दिन जब म त्यो बाटो हिँड्छु, उसलाई गएर छाता ओढाइदिन मन लाग्छ।’
Shares

प्रतिक्रिया