सामुदायिक स्तरमा कलामार्फत सामाजिक चेतना फैलाउने उद्देश्यसहित मेधाश्री विद्यालयले नाटक ‘यशस्वी भवस्’ मञ्चन सुरू भएको छ। मंसिर २३ देखि काठमाडौँको थापागाउँस्थित कुञ्ज नाटकघर, शिल्पशालामा सुरू भएको नाटक मंसिर २८ गतेसम्म चल्नेछ।
युवापुस्ता र अभिभावकबीच बढ्दो भावनात्मक दूरी, सामाजिक दायित्वप्रति कमजोर भइरहेको प्रतिबद्धता र मूल्य–संकटले सिर्जित चुनौतीलाई नाटकले केन्द्रमा राखेको छ। ‘यशस्वी भवस्’ ले पुस्तान्तरणका कारण उत्पन्न हुने मनोवैज्ञानिक र व्यवहारगत अन्तरलाई मार्मिक तथा बिम्बात्मक शैलीमा प्रस्तुत गर्दै समाजलाई आत्ममूल्यांकन गर्न प्रेरित गर्छ।
यस नाटकमा रङ्गकर्मी राम के.ए.सीको लेखन र निर्देशन रहेको छ। सहनिर्देशन भने किरण चापागाईंले सम्हालेका छन्।
सद्भाव थिएटर नेपालको शिक्षाका लागि रङ्गमञ्च अभियान अन्तर्गत विद्यालयसँग गरिएको सहकार्यले शैक्षिक संस्था र नाट्य क्षेत्रबीचको सहकार्यलाई नयाँ उचाइ दिएको छ।
यस नाटकमा कृषा बागदाश, शोभी तामाङ, प्रकृत खड्का, रियाज पराजुली, स्मारिका विश्वकर्मा, अव्यक्त राजवाहक, सदिक्षा तामाङ, कृतिका चौधरी, रियान बस्नेत, जयश्री खड्गी, अनुष्का निरौला, दिव्यांशा ताम्राकार र बिप्रीना शाहीको अभिनय सशक्त र प्रभावकारी देखिन्छ। विद्यार्थीहरूले सामाजिक विषयलाई अनुशासित अभ्यास र कलात्मक प्रतिबद्धतासहित प्रस्तुत गरेको यो मञ्चन विद्यालयीय कलाशिक्षाको परिपक्वता झल्काउँछ।
विद्यालय, कलेज, अभिभावक तथा क्षेत्रीय समुदायका लागि विषयगत रूपमा उपयोगी हुने अपेक्षा व्यक्त गरिएको छ।
Shares

प्रतिक्रिया