हास्य कलाकार सन्दीप क्षेत्रीले हाँसोमा उनिएका जीवनका कथा मिठा हुने बताएका छन्। किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन बोल्दै उनले हास्य कलाकारले आफ्नो धर्म भुलेर हसाउन भुल्न नहुने बताए।
‘मान्छे मात्र हास्न सक्छ। अरु कुनै जीवन हास्न सक्दैनन्। त्यसैले हास्नुमा मानिस हुनुको सार्थकता लुकेको छ। हामी हास्य कलाकारलाई देख्दा त झन दर्शकहरू खुशी हुन्छन्। हामीलाई मानिसले हाँसोको रंगले मात्र हेरिरहेका हुन्छन्’, उनले भने।
सुरुमा आफूलाई हाँसोको रंगले मात्र हेर्दा रिष लाग्ने गरे पनि अहिले खुशी लाग्ने गरेको उनको भनाइ छ। एक घटनाले आफूलाई निकै प्रभावित पारेको बताउँदै उनले भने, ‘मेरो हाँसो र जीवनलाई हेर्ने दृष्टिकोण एक घटनाले फेरिदिएको हो। मेरी श्रीमती बिरामी हुँदा अस्पतालमा मेरो पीडा कसैले बुझेका थिएनन्। मलाई देख्दा खुसी साट्थे। तर, मभित्र पिडा थियो।’
कार्यक्रममा उनले अर्को आफ्नो घटना पनि सुनाए। ‘एक पटक ठूलो बुबालाई भेट्न पाटन अस्पताल उक्लिँदै थिए। उताबाट स्लाइन चढाइएकी निकै बिरामी महिला स्ट्रेचरमा थिइन्। उनले मलाई मुस्कानसहित सन्दिप दाइ भनिन्। हामी हास्य कलाकारलाई देख्दा बिरामी पनि मुस्कुराउन सक्छ। त्यहि घटनाबाट म सद्दे मान्छे भएको महशुस भयो। र हास्य कलाकार हुनुमा गर्व गर्छु,’ उनले भने।
आफ्नो जीवनबाट दर्शक प्रभावित नभइ कलाबाट प्रभावित भएकाले उनीहरूलाई हँसाइ राख्नु आफ्नो कलाको धर्म भएको उनको भनाइ छ। त्यसैले हाँसोबाट नै सबैलाई जवाफ दिने गरेको उनले बताए।
आफू हासि राख्न र अरुलाई हसाइ राख्न मन हासिराख्नु पर्ने र त्यसका लागि मनलाई हँसाइ राख्नुपर्ने एक्सरसाइज गर्न सुझाव दिए। सञ्जोग कोइरालाले कार्यक्रमको सहजीकरण गरेका थिए।
Shares

प्रतिक्रिया