कला


चार चरणमा हुँदै तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

चार चरणमा हुँदै तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १४:५५, काठमाडौँ

‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको घोषणा गरिएको छ। बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजित समारोहबीच महोत्सवको औपचारिक शुभारम्भ गरियो। जहाँ वन तथा वातावरण मन्त्री माधव चौलागाईं, कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी, गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, अभिनेता तथा सद्भावना दूत प्रदीप खड्का, उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष तथा महोत्सवकी संरक्षक भवानी राणा तथा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियालगायतको उपस्थिति थियो।

नेपाली चलचित्रको प्रवर्द्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको छ। यो महोत्सवले सहरदेखि गाउँसम्म चलचित्र र पर्यटनलाई जोड्ने लक्ष्य लिएको छ।

कर्णालीजस्तो अपार सम्भावनायुक्त क्षेत्र भए पनि पर्यटन तथा चलचित्रसँग सम्बन्धित गतिविधि न्यून रहेको अवस्थामा, महोत्सवले त्यहाँका कथा, संस्कृति, जीवनशैली, भाषा, भेसभुसा र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने अभियान थालेको हो।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णालीका लुकेका कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने उद्देश्यले ‘गन्तव्य कर्णाली’ अभियान अघि बढाइएको हो। ‘कर्णालीका कथालाई चलचित्रमा रूपान्तरण गर्न हामीले कथा आह्वान गरेका छौँ। उत्कृष्ट कथालाई आगामी वैशाखमा सम्मान गरिनेछ र सम्भव भए चलचित्र निर्माण पनि गरिनेछ,’ उनले भने।

यस चलचित्रमार्फत पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनसम्बन्धी सन्देश प्रवाह गर्नु महोत्सवको अर्को महत्त्वपूर्ण उद्देश्य रहेको उनले स्पष्ट पारे।

अभिनेता प्रदीप खड्काले कर्णालीलाई दयाको दृष्टिले होइन, गौरवको दृष्टिले हेर्नुपर्नेमा जोड दिए। ‘कर्णाली हाम्रो भाषा, साहित्य, कला र संस्कृतिको उद्गमस्थल हो। नेपाली चलचित्र ढिला सुरु भए पनि मौलिकतामा हामी पछि छैनौँ। यदि नेपाली चलचित्रलाई नयाँ उचाइमा लैजाने हो भने त्यसको केन्द्र कर्णाली हुन सक्छ’,उनले भने।

नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले यस्तो किसिमका कार्यक्रमले नीतिगत तहमा समेत सकारात्मक बहस सिर्जना गर्ने बताए। उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष तथा महोत्सवकी संरक्षक भवानी राणाले महोत्सवले कर्णालीलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने विश्वास व्यक्त गरिन्‌।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्म टुरिजमको प्रभाव प्रत्यक्ष रूपमा मापन गर्न नसकिए पनि चलचित्रमा देखाइएका दृश्यहरूले पर्यटकलाई स्वाभाविक रूपमा आकर्षित गर्ने सुनाए। 

वन तथा वातावरण मन्त्री माधव चौलागाईंले कर्णालीको आत्मविश्वास बढाउने प्रमुख माध्यम नै चलचित्र भएको उल्लेख गर्दै भने, ‘ कला यस्तो माध्यम हो जसले छोटो समयमा मानिसको सोच परिवर्तन गर्न सक्छ। मौलिक कथाका लागि कर्णाली उत्कृष्ट ‘हटस्पट’ हो।’

आयोजकका अनुसार महोत्सव चार चरणमा सञ्चालन हुनेछ। जुन यसप्रकार छ:

• तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (सुर्खेत) – २०८३ वैशाख ४

• गुराँस चलचित्र पर्यटन संवाद – २०८३ वैशाख ५

• कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड (काठमाडौं) – २०८३ वैशाख २६

• जुम्ला तातोपानी पर्यटन चलचित्र जलवायु समिट – २०८३ जेठ २७ (११ जुलाई २०२६)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad